काठमाडौँ । महिलालाई आर्थिक रुपमा सक्षम बनाउने भन्दै सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम समावेश छ । तर, सो बुँदा प्रस्तुत हुँदै गर्दा संसदमा हाँसोको फोहरा उठ्यो । यसरी हेर्दा यो कार्यक्रम घोषण हुँदा मात्रै पनि विवादित बनिसकेको छ । कतिपयले यसलाई ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भएको भष्ट्राचारसँग तुलना गरेका छन्, भने केहीले महिलालाई आर्थिक रुपमा सबल बनाउन सो कार्यक्रम महत्वपूर्ण हुने विश्वास लिएका छन् ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । संसदको दुवै सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको एउटा बुँदा पढ्दै गर्दा संसदमा हाँसोको फोहरा उठ्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि राष्ट्रपतिले सो कार्यक्रमबारे पढेर सुनाउँदा छेउमै रहेका उपप्रधानमन्त्री रघुवीर महासेठसँग कानेखुसी गर्दै हाँसेका थिए । बुँदा नं. थियो १३५ । बुँदाको अन्तिम लाइन थियो ‘महिलालाई आर्थिक रुपमा सक्षम बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिनेछ ।’ यो सुन्नेबित्तिकै संसदहरू एकअर्काको मुहार हेर्दै मुस्कुराउन थले ।
बालबालिकामाथिको दुर्व्यवहार, महिलाहिंसा, मानव बेचविखन तथा बलात्कार, छुवाछुत, लागुपदार्थ दुर्व्यवसनी, दाइजो, छाउपडी, तिलकजस्ता सामाजिक विकृति र शोषण अन्त्य गरिने र बोक्सी, दाइजो प्रथालगायत कुरिति अन्त्य गर्ने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
महिलालाई आर्थिक रुपमा सक्षम, सबल र सक्षम बनाउन ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्न लागिएको हो । यो कार्यक्रम घोषण हुँदाकै समयमै विवादित बनेको छ । साथै, नयाँ कार्यक्रममा प्रधानमन्त्री जोड्दैमा प्रभावकारी नहुँने भन्ने टिप्पणी शुरु भएको छ । तर, महिलालाई आर्थिक रुपमा सक्षम बनाउन ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ले महत्तवपूर्ण भूमिका खेल्ने विश्वास महिला अधिकारकर्मीहरूको छ ।
केही वर्षअघि मधेशका जिल्लाहरुमा छात्राहरुले विचैमा पढाई छाड्ने दर बढी रहेको भन्दै त्यसलाई निरुत्साहित गर्न मधेश प्रदेश सरकारले कक्षा ८ लाख आधार बनाई छात्राहरुलाई साईकल बाड्ने अभियान ल्याएको थियो । टाढाबाट विद्यालय जानुपर्ने छात्राहरुलाई यो कार्यक्रमले लाभ पुग्ने प्रदेश सरकारको दावी थियो । तर, साईकल खरिदको योजनामा भ्रष्टाचार भएको भनी अख्तियारले १८ साउन, २०७९ मा १० करोड ३३ लाख रुपैंया विगो मागदावी सहित ८ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।
‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ पनि ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमजस्तै भष्ट्रचारको श्रोत हुने हो कि भन्ने आशंका गरिएको छ । प्रधानमन्त्री छोरी आत्मनिर्भरता कार्यक्रम’ का लागि १६ अर्ब रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । यो कार्यक्रमले दुरदराजका महिलाहरूलाई समेट्न नसकेमा आमरुपमा टिप्पणी भएझैं ‘प्रधानमन्त्रीको छोरी आत्मनिर्भर कार्यक्रम’ बन्नेछ । यस तर्फ सरकार सजग हुन आवश्यक छ ।