News 24 Television
सनसनी मच्चाउँदै नेपाली महिला फुटबलर, पर्दा पछाडी यस्तो !

काठमाडौँ । फुटबल इतिहास हेर्दा दक्षिण एसियाली महिला फुटबलमा भारतको दबदबा छ । तर, नेपाली महिला टोलीले पछिल्ला समयमा गर्दै आएको प्रदर्शन पनि आक्रामक छन् । अन्तर्राष्ट्रिय प्रतिस्प्रर्धाहरुमा नेपाली महिला टोलीले देखाएको सुधारको अन्र्तराष्ट्रियस्तरमै प्रसंशा भइरहँदा उनीहरुका कथा व्याथा भने दयनीय नै छन् । उत्कृष्ट क्षमता हुँदाहुँदैपनि राज्यले महिला खेलाडीहरूमा दुरगामी लगानी गर्न नसक्दा साचे जस्तो नतिजा प्राप्त हुन भने सकेको छैन । 

नेपाली महिला फुटबल खेलाडीहरू पछिल्ला दिनहरुमा सुधारको लयमा आक्रामक छन् । च्याम्पियनसिप लगायत अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा पनि नेपाली महिला फुटबल खेलाडीहरूको दबदबा रहँदै आएको छ । त्यसमा पनि अझ साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र भारतबीचको खेलले दक्षिण एसियाली महिला फुटबलको प्रतिस्पर्धालाई एउटा नयाँ उचाइमा पु¥याएको छ । भारत प्रायः बलियो टोलीका रूपमा उपस्थित हुने गरेको भएपनि नेपालले पनि पछिल्ला वर्षहरूमा सुधार गर्दै मैदानमा संघर्षपूर्ण प्रदर्शन गरेको छ । यस संस्करणमा पनि नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै खेललाई रोचक बनाउँदै आएको छ ।

 साफअगाडि महिला खेलाडीहरू एन्फा महिला लिगमै व्यस्त थिए। टोलीले न कुनै बलियो टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्न पायो, न त दशरथ रङ्गशालामा नै कुनै प्रतियोगिताको अवसर नै । खेलका आलोचकहरूले नेपालको आक्रमण र गोल गर्ने क्षमता अझै सुदृढ गर्नुपर्ने तर्क गरे पनि नेपाली फुटबलको प्रगति नेपाल र भारतको सेमिफाइनले दर्शाएको छ । नेपाली दर्शकले तनाव, मौन र उत्साहको अनुभूत गरेको खेलले जीतको खुसी दिएको त छ नै महिला फुटबल खेलाडीहरूको सम्भाव्यतालाई पनि उजागर गरेको छ । तर, सरकारले खेलाडीहरूमा लगानी गर्नै सकेको छैन । अझ त्यसमा पनि पुरुषको तुलनामा महिला खेलाडीहरूमा न्यून लगानी हुँदै आएको छ । खेल्नका लागि राम्रो खेल मैदान छैन, न त उत्कृष्ट एक्स्पोजर नै उपलब्ध छ । 

महिला खेलाडीलाई सरकारले गरेको उपेक्षाले नेपालको खेलकुदको विकासमा बाधा पुर्याएको छ । यद्यपि महिला खेलाडीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेका छन् । सरकारले आवश्यक स्तरमा समर्थन र संसाधन प्रदान गर्न चुक्दै आएको छ । लैंगिक समानता र खेलको क्षेत्रमा समान अवसरको अभावले महिला खेलाडीहरूलाई सशक्तिकरण गर्न र खेलमा आफ्नो पूर्ण क्षमता प्रदर्शन गर्न कठिनाइ भैरहेको खेलका जानकारहरू बताउँछन् । महिलाहरूको खेलकुदमा समर्पण र प्रतिभाको सम्मान गर्नका लागि सरकार र खेल संघहरूले सुधार गर्नुपर्ने आवश्यकताको महसुस एन्फा पदाधिकारीले पनि गरेका छन् । महिला खेलाडीहरू फर्ममा भएकाले पनि लिगको आयोजनामा ध्यान दिन सुझाएका छन् । 

२०३८/३९ सालमा नेपाली महिला फुटबलको ठूलो क्रेज थियो । महिला फुटबलको खेल हेर्न दशरथ रंगशालामा दर्शक खचाखच हुन्थे । कम हँदै गएको दशरथ रंगशालामा पुनः समर्थकको भीड फर्किएको छ । दर्शकको उत्साह र नेपाली महिला फुटबल खेलाडीहरूको उच्च प्रदर्शनलाई कामय राख्न सरकार र सबै सम्बधित निकायहरू योजनाबद्ध ढंगले अघि बढ्न आवश्यक छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update