News 24 Television
असन चोक भद्रगोलले सास्ती, महानगर र ठेकेदार ? व्यापारी र स्थानीयका गुनासै–गुनासा 

काठमाडौं । संघीय राजधानी काठमाडौँमा रहेका असन, इन्द्रचोक र ठमेल सडक समस्या समाधान हुन सकेको छैन । फुटपाथ विस्तार त महानगरको निति नै छ । तर असन, केल टोल र इन्द्रचोकका केहि भागका सडक अहिले भद्रगोल अवस्थामा छन् ।

जसले स्थानीय र व्यापारी मारमा परेका छन् । सधैँ व्यस्त बन्ने असन सडक व्यवस्थापन नहँदा सास्ती खेप्नु परेको दुखेसो उनीहरुको छ । उसो त महानगरको फुटपाथ विस्तार भने प्रशंशा गर्न लायक नै देखिन्छ । 

काठमाडौँ महानगरलाई स्वच्छ, सुन्दर र हराभरा महानगर बनाउने मयेर बालेन्द्र शाहको चुनावी नारा नै हो । ठुला रानीतिक दलका किल्ला भत्काउँदै काठमाडौँ महानगरको मेयरमा बाजी मारेका बालेन निरन्तर चर्चामा छन् । फुटपाथ विस्तार, अनाधिकृत संरचना हटाउने देखि पार्किङ ब्यवस्थापनमा बालेनले देखाएको सक्रियतामा चर्चा र आलोचना दुबै खेप्नु परेको छ । कतै स्थानीयको गाली त कतै ताली पनि । 

न्युरोडको सडक विस्तारमा मेयर बालेन र प्रधानमन्त्री केपी शर्मा ओली विचको टकराबको स्थिति नै बनेको थियो । तर बालेन् रोकिएनन् । यतिबेला महानगर भित्रका खाल्डाखुल्डी पुर्ने, सडकपेटी विस्तार देखि सडक पुननिर्माणमा महागनर अग्रसर देखिन्छ । 

प्रमुख व्यापारिक केन्द्र मानिने असन, इन्द्रचोक र ठमेलमा अति नै व्यस्त तथा सर्वसाधरणको भिड हुने गर्छ । त्यस मध्यको एक हो वडा नम्बर २७ मा पर्ने असन चोक । जमल, भोटाहीटि, न्युरोड र भेडासिंह प्रवेश गर्ने मुख्य केन्द्रमा रहेको असन चोकको अवस्था भने केही भद्रगोल देखिन्छ । 

असन चोक सडक विस्तार समयमै नसकिदा सर्वसाधारण र व्यापारिले सास्ती खेप्नु परेको हो । व्यापारीले व्यापार घाटाको महसुस गरिरहेका छन् भने भद्रगोल अवस्थाका कारण सर्वसाधारण सजिलोसँग आवातजावत गर्न सकिरहेका छैनन् । 

चौकको वरपर मन्दिर विचमा प्रहरी विट भएकोले समेत सडक विस्तारमा झमेला पहिले देखि नै थियो । तर सडक विस्तारको जिम्मेवारी पाएका ठेकदार भने बर्खा र आवतजावत प्रमुख कारक बनेको दाबी गर्छन् । 

उता, केल टोल र भेडासिंङमा समेत उस्तै समस्या छ । स्थानीय व्यापारी र सर्वसाधारण सडकको बेहाल अवस्था देखेर मन खिन्न गरिरहेका छन् । हिलाम्य र खाल्डाखुल्डीकै कारण ग्राहकको संख्यामा कमी आएको उनीहरुको बुझाई छ । 

उसो त स्थानीय नागरिकले पटकपटक वडा र महानगरमा पुगेर गुनासो नपोखेका होइनन् । तर सुनवाई हुन नसकेको दाबी गरिरहेका छन् । बरु महानगरले शक्ति प्रदर्शन गरेर समन्वय विर्सिएको उनीहरुको दुखेसो छ । 

यता, महानगर भने ती भद्रगोल सडकलाई लिएर निकै चिन्तित देखिएको दाबी गरिरहेको छ । आइतबार मात्रै सर्वपक्षीय बैठक बसेर समस्या समाधानमा केन्द्रीत भएको महानगरका प्रवक्ता नविन मानन्धर बताउँछन् । 

ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको काठमाडौँ महानगरमा विश्वको नजर हुन्छ । यहाँका धार्मिकता र कलात्मकताले सबैको मन लोभ्याउने पनि गर्छ । विश्वभरीका पर्यटकको गन्तब्यका हो काठमाडौँ शहर । त्यसैले यसको विकास र विस्तारमा ऐतिहासिकता, आधुनिकता र समन्वयमा विशेष ध्यान दिन जरुरी छ । यस्तो अवस्थामा असन चोक सडक विस्तार समाधान भए व्यपारी र सर्वसाधारणलाई थप राहत मिल्नेछ । 

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update