News 24 Television
नेपाल वाङ्मय परिषद्को साधारण सभा र चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः डा. भट्ट

धनगढी । नेपाल वाङ्मय परिषद्, धनगढी (कैलाली) को एघारौँ वार्षिक साधारण सभा तथा चौथो कार्यसमितिको निर्वाचन शनिबार धनगढीमा सम्पन्न भएको छ।

परिषद्का अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष तिलकबहादुर सिंहले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सभाले ती दुवै प्रतिवेदन छलफलसहित पारित गरेको छ।

अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि डा. पुष्करराज भट्टको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षद्वयमा जगदीश ओझा र कोपिलादेवी शर्मा, महासचिवमा लक्ष्मीप्रसाद पौडेल, सचिवमा गोविन्द अर्याल ‘श्रृङ्खला’ तथा कोषाध्यक्षमा तिलकबहादुर सिंह चयन हुनुभएको छ।

यसैगरी कार्यसमितिको सदस्यहरूमा रमेश पन्त ‘मीतबन्धु’, दीपसागर पन्त, नरेन्द्र गिरी, जयदेव जोशी ‘दार्चुले’ र खिमानन्द बडु निर्वाचित हुनुभएको छ। सभाले लक्षीराम आचार्य, बाबुराम आचार्य र बसन्त बागचन्द रहेको तीन सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ।

नवनिर्वाचित कार्यसमितिले आगामी दिनमा नियमित रूपमा वाङ्मयसम्बन्धी विचार गोष्ठीहरू सञ्चालन गर्ने र विभिन्न विधाका साहित्यिक स्रष्टाहरूलाई एकताबद्ध गर्दै संस्थाका गतिविधिलाई थप विस्तार गर्ने लक्ष्य राखेको नवनिर्वाचित अध्यक्ष डा. भट्टले जानकारी दिनुभयो।

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update