दोलखा । दोलखा सहरको तल्लो टोलस्थित राजकुलेश्वर आधारभूत विद्यालयमा आयोजित एक विशेष कार्यक्रमबीच दोलखा भाषाको संरक्षण तथा अनुसन्धानमा अमूल्य योगदान पुर्याउनुहुने प्रा.डा. क्यारोल जिनेटी सम्मानित हुनुभएको छ। भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धर र वडा नम्बर २ का वडाध्यक्ष स्टालिन श्रेष्ठले उहाँलाई खादा ओढाएर सम्मान गर्नुका साथै नगरपालिकाका तर्फबाट प्रशंसापत्र प्रदान गर्नुभएको थियो।
न्युयोर्क विश्वविद्यालयमा लोपोन्मुख दोलखा भाषाको अध्यापन गराउनुका साथै यसको संरक्षणमा प्रा.डा. जिनेटीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। उहाँले पाँच दशकअघि प्रा.डा. श्याम जोशीद्वारा लिखित दोलखा भाषाको नाटक ‘मिसामी’ तयार गरी राष्ट्रिय नाचघरमा मञ्चन गराउनुका साथै सोही नाटकमा आधारित वृत्तचित्र तथा चलचित्र निर्माण गरी राजधानीको ठूलो पर्दामा प्रदर्शन गर्नसमेत विशेष योगदान पुर्याउनुभएको छ। कार्यक्रममा कालिन्चोक युवा क्लबका अध्यक्ष अनिलचन्द्र श्रेष्ठले पनि उहाँलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो।
सोही कार्यक्रममा प्रा.डा. श्याम जोशीद्वारा लिखित दुई कृति ‘दोलखा सहरका चाडपर्व, जात्रा र मेला’ र ‘अविस्मरणीय संस्मरण’ को लोकार्पण गरिएको छ। ‘दोलखा सहरका चाडपर्व, जात्रा र मेला’ पुस्तकमा दोलखाका सांस्कृतिक परम्परा, जात्रा र पर्वहरूलाई अभिलेखीकरण गरी भावी पुस्तासम्म पुर्याउने उद्देश्य राखिएको छ। कार्यक्रमको अन्त्यमा प्रा.डा. श्याम जोशीद्वारा लिखित दोलखा भाषाको ‘मिसामी’ चलचित्र र दोलखासम्बन्धी वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो।
वडाध्यक्ष स्टालिन श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा लेखक प्रा.डा. श्याम जोशीले आफ्ना पुस्तकहरूबारे प्रकाश पार्नुभएको थियो। त्यस्तै नगर प्रमुख ईश्वरनारायण मानन्धर, नाटकका कार्यकारी निर्माता प्रा.डा. हरिदर्शन श्रेष्ठ र सामाजिक अभियन्ता शान्तकृष्ण श्रेष्ठले कृतिको समीक्षा गर्दै मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको अन्तमा प्रा.डा. क्यारोल जिनेटीले धन्यवाद मन्तब्य दिनुभएको थियो भने सभापति एवम् वडाध्यक्ष स्टालिन श्रेष्ठले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।


