News 24 Television
विश्वकप २०२६ :  इतिहास रच्ने दौडमा स्पेन, विपक्षी टोलीले रोक्न मुस्किल !

काठमडौं । फिफा विश्वकप सन् २०२६ आउन ७ दिन बाँकी छ । अमेरिका, मेक्सिको र क्यानडाको संयूक्त आयोजनामा जुन ११ बाट प्रतियोगिता सुरु हुँदैछ ।

विश्वकप खेल्ने ४८ राष्ट्रले अन्तिम तयारी गरिरहेका छन् । उपाधिमा सबै टोलीको नजर हुृँदा हाम्रा टिभि जर्नालिस्ट विनोदबिक्रम भण्डारी स्पेनको टोलीबारे जानकारी दिँदैछन् । 

सन् २०२६ को फिफा विश्वकपमा उपाधि दाबेदार टोलीमध्ये स्पेन अग्रपंक्तिमा छ । युवा स्टारहरुले भरिएको स्पेनी टोली आधुनिक फुटबलमा आफ्नो दबदबा कायम राख्ने लक्ष्यसहित मैदान उत्रँदैछ । 

मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेले अनुभवीभन्दा युवा खेलाडीमाथि बढी भरोसा गरेका छन् । लामिन यामल र निको विलियम्स स्पेनका प्रमुख आक्रमणकारी हतियार मानिएका छन् । 

सन् २०१० मा विश्वकप जितेको स्पेन १६ वर्षपछि पुनः इतिहास दोहो¥याउन चाहन्छ । रोचक के छ भने समूह ‘एच’ मा रहेको स्पेनको टोलीमा बार्सिलोनाका ८ खेलाडी समावेश छन् । तर रियाल मड्रिडबाट एक जना पनि खेलाडी छैनन् । 

विशेषगरी युवा स्टार लामिन यामलको प्रदर्शनमाथि यस विश्वकपमा विश्व फुटबल समर्थकहरूको नजर रहनेछ ।

सुरुमा स्पेनको टोली कस्तो छ ? चर्चा गरौँ
 
गोलरक्षक

उनाई सिमोने, डेभिड राया, जोआन गार्सिया 

डिफेन्डर

मार्काेस लोरेन्ते, मार्क पुबिल, पेड्रो पोरो, एमेरिक लापोर्टे, एरिक गार्सिया, पाउ कुबार्सी, मार्क कुकुरेला, आलेहान्द्रो ग्रिमाल्डो

मिडफिल्डर

रोड्री (कप्तान), मार्टिन जुबिमेन्डी, मिकेल मेरिनो, पेड्री, गाभी, फाबियन रुइज, एलेक्स बाएना 

फरवार्ड

येरेमी पिनो, भिक्टर मुनोज, मिकेल ओयार्जाबाल, फेरान टोरेस, लामिन यामाल, डानी ओल्मो, निको विलियम्स, बोर्जा इग्लेसियास 

विश्वकपमा स्पेनले समुह चरण खेल्ने खेलहरु 

स्पेनको पहिलो खेलः केप भर्डविरुद्ध

मितिः २०८३ असार १ गते, सोमबार

समयः राती ९ः४५ बजे

खेल स्थानः एटलान्टा स्टेडियम, जर्जिया 

स्पेनको दोस्रो खेलः साउदी अरेबियाविरुद्ध 

मितिः २०८३ असार ७ गते, आइतबार

समयः राती ९ः४५ बजे

स्थानः एटलान्टा स्टेडियम, जर्जिया 

स्पेनको तेस्रो खेलः उरुग्वेविरुद्ध 

मितिः २०८३ असार १३ गते, शनिबार

समयः बिहान ५ः४५ बजे

स्थानः मियामी स्टेडियम, फ्लोरिडा (अमेरिका)

समूह चरण पार गर्न उरुग्वे बाधक बन्ने

समूह ‘एच’मा हेर्न लायक महाभिडन्तमा समूह चरण पार गर्न स्पेनलाई दुई पटकको विश्व विजेता टोली उरुग्वे बाधक बन्ने देखिन्छ । 

स्पेनको बलिया
१. बलियो मिडफिल्ड,
स्पेनले विश्वकपमा पासा पल्टाउन सक्ने महत्वपूर्ण पक्ष मिडफिल्ड हो । क्लव फुटबलमा उत्कृष्ट प्रदर्शन गर्न माहिर चर्चित नामहरु विपक्षी माथि हाबी हुनेछन् । कप्तान रोड्री, पेड्री र गाभीले विपक्षी खेलाडीलाई नचाउन सक्छन् । चाहिएको बेला रक्षापंक्ति र अग्रपंक्ति सम्हाल्ने क्षमताले स्पेनको मिडफिल्ड भरोसायोग्य छ । 

२.युवा विंगरको जोस र जाँगर 

युवा स्टार लामिन यामाल र निको विलियम्स स्पेनका प्रमुख हतियार हुन् । यी दुई विंगरले विपक्षी टीमको रक्षापंक्ति क्षण भरमै ध्वस्त पार्दै कुनैपनि समयमा पास पल्टाउन सक्छन् । क्लब फुटबलमा दमदार प्रदर्शन गरेको यी दुई खेलाडीको जोडी अन्तर्राष्ट्रिय खेलहरुमा निकै जमेको देखिन्छ । 

३.बल पोज्यासनमा अब्बल

आधुनिक विश्व फुटबलमा स्पेन यस्तो टोली हो, जसले बल नियन्त्रण र पोज्यासनमा अन्य टोली भन्दा धेरै क्षमता राख्छ । अर्थात् टिकिटाका स्टाइलमा खेल्नसक्ने खुबी यो टोलीको छ । यसपटकको टोलीमा एकै क्लवमा खेल्ने खेलाडीलाई मुख्य प्रशिक्षक फुएन्तेले प्राथमिकता दिएका छन् । यसले खेलाडीबीच कम्बिनेसन मिल्ने देखिन्छ । 

कमजोर पक्ष  

१.अनुभवको कमी र युवा माथि भरोसा

स्पेनको टोली अन्य हिसाबले ठीकठाक देखिएको भएपनि अनुभवमा कमी देखिएको छ । युवा खेलाडीमा जोश र जाँगर भरपुर हुँदा अनुभवको अभाव हुनसक्छ । उसो त कप्तान रोड्री जस्ता अनुभवी खेलाडी टोलीमा छन् । तर पनि स्पेनी टोलीको युवा जोसलाई अनुभवको कमी झल्कियो भने यो ठुलो घाटा हुन सक्छ । 

२.चोट र जोसमा फस्न सक्ने

अधिकांश युवा खेलाडी टोलीमा हुँदा युवाको जोस लगाएर खेल्दा इन्जुरीको समस्या आउन सक्छ । यामाल र रोड्रीको फिटनेसमा पनि समस्या पैदा हुनसक्ने देखिन्छ । 

अर्काेतर्फ यो टोली आक्रमक खेलमा रुची राख्ने गर्छ । आक्रमक खेल पस्किदा विपक्षीको काउन्टर–अट्याकले जोखिम निम्त्याउन सक्छ । 
 
यामललाई सुपरस्टार बन्ने अवसर !

१८ बर्षीय युवा स्टार लामिन यामललाई विश्व फुटबलको सुपरस्टार बन्ने अवसर छ । तर त्यसका लागि उनले विश्वकपमा जादु देखाउनुपर्ने हुन्छ ।

क्लब फुटबलमा उम्दा प्रदर्शन गरेका यामलले विश्वकपमा अविश्वसनीय प्रदर्शन गर्दै स्पेनलाई च्याम्पियन बनाउने अवसर छ । यदि, उनले यो अवसरको भरपुर सदुपयोग गरे भने उनी विश्व फुटबलका नयाँ सुपरस्टार बन्नेछन् । 

कस्तो छ उनको अन्तर्राष्ट्रिय प्रदर्शन ? 

यामलले स्पेनको सिनियर राष्ट्रिय टोलीबाट हालसम्म २५ खेल खेल्दै ६ गोल गरेका छन् । उनले सन् २०२३ सेप्टेम्बर ८ मा जर्जियाविरुद्धको खेलमा १६ वर्ष ५७ दिनको उमेरमा डेब्यु गरेका थिए । स्पेनका लागि सबैभन्दा कम उमेरमा खेल खेल्ने र गोल गर्ने ऐतिहासिक कीर्तिमान उनले बनाएका थिए । स्पेनले सन् २०२४ युरोकप उपाधि उचाल्दा उनले  फ्रान्सविरुद्ध उत्कृष्ट गोल गर्दै युरो इतिहासकै सबैभन्दा कान्छो गोलकर्ता बने । त्यतिबेला उनी १६ वर्ष ३६२ दिनको मात्रै थिए । 

स्पेनको विगत कस्तो छ ? 

युरोपेली फुटबलको पावर हाउस स्पेनले सन् २०१० को फिफा विश्वकप

–युरोकप ४ पटक, सन् १९६४, २००८, २०१२ र २०२४

–सन् २०२२कक\२३ को युईएफए नेसन्स लिग 
 
–सन् १९९२ को ओलम्पिक स्वर्ण पदक  

हासिल गरेको इतिहास छन् । फिफा विश्वकपमा स्पेनले ६ पटकसम्म क्वाटरफाइनलसम्म पुग्दा १७ पटक विश्वकप खेलेको छ । यो २३ औँ संस्करणको विश्वकप हो । विश्वकपमा स्पेनले १०८ गोल गर्दा स्पेनबाट विश्वकपमा सर्वाधिक ९ गोल डेभिड भिल्लाले गरेका छन् । अब स्पेन पुनः इतिहास रच्ने दौडमा छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update