News 24 Television
तोषिमाले सरकारविरुद्ध बोल्न पाइनन्, प्रधानमन्त्रीको कम्मर भाँचिने काँग्रेस सांसदको चेतावनी

काठमाडौँ । रास्वपाकी सांसद एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीलाई संसद्मा बोल्न निषेध गरिएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद कार्कीले आफूलाई बोल्ने समय नै नदिइएको आरोप लगाएकी छन् । ढ्यापढ्याप गरेर र मान्छे भेटेर दुवै तरीकाले बोल्नका लागि केही दिनदेखि आफूले समय माग गर्दै आए पनि सभामुख देवराज घिमिरेले समय नदिएको उनले फेसबुकमार्फत गुनासो राखेकी छन् । डा. कार्कीले बोल्न खोज्दा सभामुखले समय नदिईकन बोल्न पाइँदैन भन्दै उनलाई बोल्न निषेध गरेको भिडियो फुटेजमा देखिन्छ । 

‘संसदमा बोल्नुपर्ने कुरा के हो ? सहकारी र सुनमात्र हो ? एक–अर्कामाथि छेडखानी मात्र ?’ भन्दै डा. तोषिमा संसदको आक्रोश फेसबुकमा पोखेकी छन् । काठमाडौँमा नै वीर अस्पताल, पाटन अस्पताल, कान्ति र टिचिङलगायत थुप्रै अस्पतालमा आइसियु नपाएर आम नागरिकको ज्यान गइरहेको विषयलाई आफूले संसदमा उठाउन खोजेको उनको भनाइ छ । नियमावली अनुसार संसदमा ढ्याप ढ्याप गरेर आकस्मिक समय माग गर्ने व्यवस्था छ । आजकल प्रत्यक्ष भेटेरै पनि समय माग गर्न सकिन्छ । तर उनले दुवै प्रकृयाबाट आकस्मिक समय माग गर्दा पनि नपाएको बताएकी छन् । 

डा. कार्की वर्तमान सरकारका लागि नरुचाउने विषय बनेकी छन् । एक वर्षअघि रास्वपा सरकारमा जाँदा उनी स्वास्थ्य राज्यमन्त्री बनेकी थिइन् । तर यसपाली रास्वपा सरकारमा जाँदा उनले अवसर नै पाइनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै तोसिमालाई रेड कार्डको संकेत गरेकाले रास्वपा सभापति रवि लामिछानेले उनलाई सरकारमा लैजान चाहेनन् । यसको कारण हो, तोसिमाले प्रधानमन्त्री प्रचण्डको चर्को आलोचना गर्नु । 

केही समयअघि उनले १७ हजारको हत्या गरेर नपुगेको र अझै कति हत्या गर्ने भन्ने आशयको प्ले कार्ड बोकेर सरकारविरुद्ध प्रदर्शन गरेकी थिइन् । अरु समयमा पनि उनी प्रचण्डप्रति कडा आलोचनामा उत्रिने गर्थिन् । प्रचण्डपत्नी सीताको अन्तेष्टिका बेला घाटमै अन्तर्वार्ता दिएर प्रचण्डको आलोचना गर्दा समेत उनी विवादमा परेकी थिइन् । संसदमा पनि सरकारविरोधी कुरा उठाउन खोज्ने र सरकारको आलोचना गर्ने डरले सायद उनलाई समय नदिइएको हुनसक्छ । यद्यपि उनले चाहिँ आफूले बिरामीहरूको समस्या उठाउन खोजेको बताएकी छन् । 

संघीय राजधानीकै ठूला अस्पतालमा बिरामीहरूको बिजोग रहेको र स्थिति दिनानुदिन गम्भीर हुँदै गएको डा. कार्कीले लेखेकी छन् । समाधान गर्न गाह्रो विषय पनि नभएको बताउँदै उनले त्यसबारेमा संसदले निर्देशन दिन आवश्यक रहेको उल्लेख गरेकी छन् । उनले भनेकी छन्– ‘यो लापरवाही आमनागरिकले पनि थाहा पाउन आवश्यक छ । यो विषयको अर्जेन्सीको कारण केही दिनअघि र आज पनि निरन्तर आकष्मिक समय माग गरिरहँदा पनि मैले समय पाइनँ । दिनदिनै डरलाग्दो भइरहेको यो स्थितिको गाम्भिर्य र आकष्मिकताको मनन नभएकोमा दुःख लाग्यो ।’ 

उता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदका दुवै सदनमा सरकारको चर्को आलोचना गरिरहेको छ । केही दिनदेखि लगातार प्रतिनिधिसभामा गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै कांग्रेस सांसदहरूले सहकारी ठगीमा मुछिएकालाई कसरी मन्त्री बनाइयो भनी प्रधानमन्त्रीलाई प्रश्न गर्दै आएका थिए । बुधबार राष्ट्रिय सभामा पनि काँग्रेस सांसदले प्रधानमन्त्रीको चर्को आलोचना गर्दै उनको कम्मर भाँचिनसक्ने चेतावनी दिए । कांग्रेस सांसद जितजंग बस्नेतले प्रधानमन्त्री प्रचण्डले देश र जनतालाई फुटबल ठानेर लात्ती उज्याइरहेको र सन्तुलन नमिलेमा उनको कम्मर नै भाँचिनसक्ने बताएका हुन् ।

राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने क्रममा बोल्दै सांसद बस्नेतले प्रधानमन्त्रीले आफूलाई स्ट्राइकर ठानेर उथलपुथल गर्ने लगायतका अभिव्यक्ति दिने गरेकोमा आपत्ति जनाए । उनले स्ट्राइकर कहलिएका फुटबलर मेसी र रोनाल्डो पनि पेनाल्टीमा चुकेको उदाहरण दिँदै प्रधानमन्त्री प्रचण्डलाई खुट्टा उचाल्ने काममा सन्तुलन नमिल्दा पैताला चिप्लिएर कम्मर भाँचिने जोखिम हुने चेतावनी दिए । प्रधानमन्त्रीले धेरै खुट्टा उचाल्छु, उथलपुथल गर्छु नभनेको भए पदीय गरिमा जोगिने समेत सांसद बस्नेतको तर्क छ । सरकार चलाउनका लागि रातारात गठबन्धन भत्काएर उथलपुथल ल्याउने भाषण गर्नुजस्तो सहज नहुने उनको भनाइ छ । 

प्रधानमन्त्री प्रचण्डले रुखको छहारीको जाडो लाग्यो भन्दै घाम तापेर घण्टी बजाउन शुरु गरेको भन्दै सांसद बस्नेतले कटाक्ष समेत गरे । घण्टी भ्रष्टाचारीको कानमा, सुशासनको पक्षमा, संविधान र लोकतन्त्रको रक्षाका लागि बजाउनुपर्ने उनको भनाइ छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update