News 24 Television
सुहाङलाई एकपछि अर्को समर्थन, परिवार दलले पनि सहयोग गर्ने (भिडियो)

काठमाडौं । इलाम – २ को उपनिर्वाचन मिति नजिकिएको छ । निर्वाचन आयोगले निर्धारण गरेको मिति अनुसार यही बैशाख – १५ गते उपनिर्वाचन हुँदैछ । निर्वाचनको सम्मुखमा आइपुग्दा यो क्षेत्रमा कस्ले जित निकाल्ला भन्ने कौतुहल्ता बढ्दो छ । 

यहाँ नेकपा एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङले लगातार जित निकाल्दै आएको क्षेत्र भएकाले पनि अब कस्ले प्रतिनिधित्व गर्ला ? भन्ने आमचासो रहनु स्वभाविक पनि हो । 

अझ यस क्षेत्रको अर्को रोचक प्रशंग के भने, यो क्षेत्रमा ०७९ को निर्वाचनमा सुवास नेम्वाङ काँग्रेसका डम्बर खड्कासँग केवल ११४ मतले मात्रै जित निकाल्न सफल भएका थिए । तर अबको राजनीतिक परिवेश फरक छ । यो निर्वाचनको मत परिणाममा जनताको बदलिदो मनोविज्ञानको प्रत्यक्ष प्रभाव पनि पर्ने देखिन्छ । 

यही कारण पनि यो उपनिर्वाचनको परिणाम पूर्वआंकलन गर्न सकिने अवस्था छैन । पुराना दलहरुप्रति जनतामा वितृष्णा भइरहँदा इलाम – २ मा भने उम्मेदवारहरुको ओइरो नै लागेको छ । प्रतिस्पर्धाका लागि दर्जनबढी उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् । 

जसमा एमालेका तर्फबाट सुहाङ नेम्वाङ मैदानमा उत्रिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अघिल्लै निर्वाचनमा भिडेका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलन लिम्बू, पहिचान पक्षधरको तर्फबाट डकेन्द्रसिंह थेगिमले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । 

त्यस्तै जनमत पार्टीले प्रेम लिम्बू, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनबाट मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेकपा पार्टी (एकीकृत समाजवादी)ले जितबहादुर राईलाई उम्मेदवार बनाएको अवस्था छ । त्यस्तैगरी राष्ट्रिय मुक्ति आन्दोलन नेपालकार्फबाट जयवन्तविक्रम साह, राप्रपा नेपालबाट गणेशबहादुर चौहान, नेपाली जनता दलका तर्फबाट रेशमबहादुर सुनार नेपालीले उम्मेदवारी दर्ता गराएका छन् । 

स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, केशवकुमार चापागाईँ, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालले उम्मेदवारी दिएका छन । यसरी उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारहरको अवस्था हेर्दा नेकपा एमालेको जनमत आउने संभावना बढी रहेको देखिन्छ । 

यसले एमालेका सुहाङ नेम्वाङलाई जित दिलाउन सक्ने आंकलन पनि गर्न थालिएको छ । किनकी, यो उपनिर्वाचनमा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारहरुको बाहुल्यता छ । उम्मेदवारी दिने आधाभन्दा बढी स्वतन्त्र मात्रै छन् । 

जसले अन्य मुख्यदलहरलाई तयति प्रभाव पर्ने देखिँदैन । यो अवस्थामा सबै भन्दा बढी लाभ नेकपा एमालेलाई हुने देखिन्छ । किनकी स्वतन्त्रबाहेकका अन्य दलहरु एक्ला एक्लै चुनावी मैदानमा छन् । तर नेकपा एमालेलाई भने माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा र परिवार दलको समेत समर्थन रहेको छ । माओवादी केन्द्र र नेकपाले यसअघि नै सुहाङलाई सहयोग गर्ने निर्णय गरेको थियो । तर परिवार दलले भने केही दिन अघि मात्रै सुहाङलाई समर्थन गर्ने निधो गरेको हो । 

जसले नेकपाका उम्मेदवार सुहाङ नेम्वाङलाई अझ शक्तिशाली उम्मेदवार बनाएको टिप्पणी भइरहेका छन् । इलाम – २ मा एमाले आँफै बलियो भएकाले अन्य दलहरुको समर्थनले सुहाङलाई अझ सशक्त उम्मेदवार बनाउने भएको हो । उनको प्रमुख प्रतिद्वद्धीको रुपमा रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई लिँदै आएको छ । 

इलाम क्षेत्र नम्बर २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छन् । गएको स्थानीय तह चुनावमा देउमाईको मेयरसहित फाकफोकथुम र माङ्सेबुङको अध्यक्ष एमालेले जितेको थियो । 

उक्त निर्वाचनमा एमालेविरुद्ध तत्कालीन काँग्रेस, माओवादी र नेकपा एससहितको गठबन्धन थियो। यद्यपि एमालेले तीन पालिकामा एक्लै जित निकाल्न सक्षम भएको हो । वर्तमान अवस्थामा राजनीतिक समीकरण बदलिएको छ ।

माओवादीलगायतका केही अन्य दलहरुसमेत एमालेलाई समर्थन गर्न आइपुगेका छन् । यद्यपि उक्त क्षेत्रमा रास्वपा तथा नेपाली काँग्रेसले पनि सशक्त उम्मेदवारी दिएका छन् । साथै पछिल्लो समय राजनीतिप्रति जनताको बदलिँदो मनस्थिति छ, जसका कारण अहिले नै यो क्षेत्रको मत परिणाम कस्तो आउँला भन्ने पूर्वानुमान गर्न सकिने अवस्था छैन । 
 

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update