News 24 Television
पूर्वराजा शाह झन्झन् असन्तुष्ट, निर्णयक आन्दोलन गर्ने घोषणा ! 

काठमाडौं । राजतन्त्र विधिवत रुपमै ढलेको वर्षऔँ भइसक्यो । हाल मुलुक संघीय गणतन्त्रात्मक व्यवस्थामा छ । संविधान र व्यवस्थाहरु पनि सोही अनुसार निर्माण भएका छन् । तरपनि मुलुकमा राजतन्त्रको पक्ष र गणतन्त्रको विपक्षमा आवाज उठ्न रोकिएको छैन ।

वर्तमान व्यवस्थाप्रति कयौँ खोट देखाउँदै ठूलै जमातले राजतन्त्र पुनरस्थापनाको सशक्त माग गर्न गरिरहेका छन् । यो समूहले मुलुकको व्यवस्था, राजनीतिक दल र तिनका नेताहरुको चरित्रमा कैयौँ खोट औल्याइरहेका छन् । 

यही व्यवस्था र नेताहरुको कार्यशैलीको प्रतिवाद गर्दै राजवादी दलहरुले पछिल्लो समय दैनिकजसो विरोधका कार्यक्रमहरु गर्दै आइरहेका छन् ।

उनीहरुले वर्तमान व्यवस्थालाई परिवर्तन गरेर राजतन्त्र पुनरस्थापनाको माग गर्दै सशक्त आन्दोलन चर्काइरहेका हुन् ।

राजावादी दल र समर्थकहरुको भिडले हौसिएका पूर्वराजा ज्ञानेन्द्र शाह पनि राजतन्त्र पुनर्थापना गर्न ऊर्जा भरिहरहेका छन् । ०८० साल भित्रै उनले गरेका विभिन्न गतिविधिहरुले पनि उनी राजतन्त्रको पुनरबहालीका लागि बेजोडताका साथ लागि परेको निष्कर्ष निकाल्न सकिन्छ । 

विगतमा सर्वसाधारण तहकै स्वभाव झल्काउने पूर्वराजा ज्ञानेन्द्र अहिले उच्चतम राजनीतिक गतिविधि देखाइरहेका छन् । केही महिनाअघि मात्रै उनले मुलुकका प्रमुख शहरहरुमा राजनीति मिश्रित सम्बोधन गरे । 

पटक विभिन्न राजावादी कार्यक्रममा सामेल हुन झापा पुगेका ज्ञानेन्द्रले चितवन, रुपन्देही, कपिलवस्तु तथा नवपरासीजस्ता जिल्लामा हप्तौँसम्म बसेर नागरिक अभिनन्दन कार्यक्रम पनि गरे । 

पूर्वराजा शाहले आम नागरिकलाई सम्बोधन गर्दा दरबार हत्याकाण्डबारे प्रष्टिकरणसमेत दिँदै आइरहेका छन् । 

आफ्नो परिवारमा छाएको कालो दिनलाई राजनीतिकरण गर्दै दलहरुले घटनाको दोषी आफूलाई नै करार गराउन खोजेको समेत टिप्पणी गर्दै आइरहेका छन् । 

यस्ता प्रष्टिकरणले आफूलाई पुनः शक्ति संचित गर्ने वातावरण मिल्ने बुझेका उनले वर्षऔँपछि केही महिना अघि मात्रै पहिलो पटक दरबार हत्याकाण्डाबारे बोलेका थिए । 

पछिल्लो समय राजनीतिक मैदानमै ओर्लन खोजेका पूर्वराजा ज्ञानेन्द्रले ०८१ को पूर्वसन्ध्यामा पनि मुलुकको राजनीति र वर्तमान परिवेशबारे असन्तुष्टि जनाएका छन् । 

आमनागरिकका नाममा सन्देश जारी गर्दै ज्ञानेन्द्र शाहले आफ्नो प्रकृति, परिवेश, मान्यता र स्थिर संस्था प्रति ध्यान केन्द्रित हुन सबैलाई आग्रह गरेका छन् । 

अहिले  आम नागरिकको माग पनि यही भएको भन्दै उनले मुलुकको इतिहासमा विधि, व्यवस्था, शब्द र रूप धेरै बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन नसकेको निष्कर्षसमेत निकालेका छन् । यसकारण राजनीतिक पुनरावलोकन गर्नुपर्ने र त्यसका लागि आफू नै राजनीतिक मैदानमा आउनेसक्ने संकेत दिएका हुन । तर पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो राजनीतिक सक्रियता बढाइरहँदा वर्तमान राजनीतिक नेतृत्वहरुले भने राजतन्त्र पुनरस्थापना असम्भव रहेको जिकिर गरिरहेका छन् । 

यसरी राजतन्त्र ढालेर गणतन्त्र स्थापना भएको वर्षऔँ भइसक्दा पनि अझै व्यवस्थाप्रति बहस चलिरहनु नागरिकहरुका लागि भने दुखद पक्ष बनेको छ । मुलुकमा विविध समयमा विभिन्न व्यवस्था परिवर्तन भए, नेतृत्व फेरिए । तर जनताको  समस्याहरु भने ज्यूँको त्यूँ छन्  ।  

बरु गणतान्त्रिक व्यवस्था आएपछि मुलुकमा अझ विकृति मौलाएको टिप्पणी हुने हुने गरेको छ । 

राजतन्त्रमा पनि नागरिकहरुमा व्यवस्थाप्रति उत्तिकै नैराश्यता थियो । तर वर्तमान व्यवस्थाप्रति पनि नागरिकहरुले चित्त बुझाइरहेका छैनन् । यही मनोविज्ञानलाई टेकेर पूर्वराजा ज्ञानेन्द्रले पनि आफूलाई सक्रिय बनाइरहेका हुन् ।

गएको २०८० सालमा ज्ञानेन्द्रले मुलुकको व्यवस्था र शासनप्रति पटक पटक असन्तुष्ट जनाउँदै विभिन्न विज्ञप्ति जारी गरेका थिए । 

हाल आएर नयाँ वर्षको पूर्वसन्ध्यामै उनले राजनीतिलाई पुनरावलोकन गर्नुपर्ने भन्दै चरम अशन्तोष व्यक्त गरेका छन् । यसको निरन्तरतास्वरुप उनले आगामी दिनमा कस्तो कदम चाल्छन्, त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update