News 24 Television
प्रचण्ड–ओलीदेखि रवि जोगिनै गाह्रो, २०८१ मा अर्को हलचल हुने ! 

काठमाडौँ । वर्षहरू फेरिँदै जान्छन्, तर नेपालमा कहिल्यै पनि नफेरिने एउटा प्रवृति छ, त्यो हो राजनीतिक अस्थीरता । केन्द्रदेखि प्रदेशसम्म पटक पटक भइरहने सत्ता परिवर्तनको खेललाई लगाम लगाउनु वर्ष २०८१ को मुख्य चुनौति बनेको छ । यसका अलावा, नेपाली राजनीतिमा पुरानाको विकल्प बन्छौँ भन्दै उदाएका नयाँ राजनीतिक दलहरूले आफुलाई प्रमाणित गरेर जनविश्वास बरकरार राख्ने अर्को चुनौती प्रमुख रुपमा रहेको छ । 

२०८० ले नेपाली राजनीतिमा आशाको संचार गराउन सकेन । राजनीतिक भागबण्डा र अस्थिरताको भूमरीमा रह्यो मुलुक । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले स्थायीत्वको बाटो समाउन सकेन । वर्षको अन्त्यतिर अचानक केन्द्रीय सत्ता समिकरण बदलीयो, त्यसैको हावाले प्रदेश सरकारहरूलाई समेत लथालिंग बनायो । यहि सत्ता अस्थितरता वर्ष २०८१ को पनि सबैभन्दा ठुलो चुनौती रहेको छ । 

प्रतिपक्षीको भूमिकामा पुगेको नेपाली कांग्रेसलाई कुनैपनि हालतमा यो सरकार ढालेर आफु सत्तामा पुग्नु छ । यो नियतीबाट मुलुकलाई बचाउनु वर्ष २०८१ को प्रमुख उपलब्धी ठहरिने छ । नयाँ वर्षको अवसरमा शुभकामना संदेश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक स्थीरतालाई नै २०८१ को मूल लक्ष्य बनाएका छन् । उनले लेखेका छन्, सत्ता समीकरणमा आबद्ध दलहरूको सम्बन्धलाई सुदृढ तुल्याउँदै सहमति र सहकार्यको संस्कृति एवं राजनीतिक स्थिरता सुदृढ बनाउनु, अर्थतन्त्र सुधारमा गुणात्मकता प्रदान गर्नु, समृद्धिको बलियो जग बसाउनु, सेवा प्रवाहलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु वि.सं. २०८१ का मूल जिम्मेवारी हुन् ।

तर जनविश्वास गुमाउनका लागि सरकार आफैँ उद्दत देखिन्छ । राजनीतिक अस्थितरताका कारण देशमा अर्थतन्त्र र विकाश निर्माणको गति निक्कै सुस्त देखिएको छ । राजनीतिक अस्थितरताको खेलमा दलहरूनै लागिरहँदा सडकमा प्रदेश संरचनाको खारेजी र राजतन्त्र पुनस्थापनाको मागसहित आन्दोलन भइरहेको छ  राजनीतिले आम जनताको जीवनस्तरमा परवर्तन ल्याउन सक्नुपर्ने हो । तर आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा सुधारको संकेतसमेत नदेखिँदा जनतामा निराशामात्र पैदा भएको छ ।

वर्ष २०८० नयाँ राजनीतिक दलहरूको सक्षमता नाप्ने बर्षका रुपमा रहको थियो । २०७९ मंसिरको निर्वाचनबाट उदाएका नयाँ दलहरूले पहिलो ६ महिना संसदीय अभ्यास सिक्नमा व्यतित गरेपछि २०८० को बर्षमा आफ्नो क्षमता प्रस्तुत गर्ने मौका गुमाए । ८१ साल सुरु हुँदा उनीहरूबाट गरिएको आशा बिस्तारै निराशामा परिणत हुँदै गएको छ । सर्वाधिक आशा गरिएको दल राष्ट्रिय स्वतन्त्र पार्टीको, पुरानै दलहरूसँगको बढ्दो हिमचिम र विवादीत नेतृत्वका कारण जनतामा निराशा बढेको छ । 

सूदुरपश्चिमबाट उदाएको दल नागरिक उन्मुक्ती पार्टी सत्ता स्वार्थकेन्द्रीत आन्तरिक विवादका कारण तहसनहस भएको छ भने मधेश प्रदेशबाट उदाएको जनमत पार्टीपनि आरोप प्रत्यारोपको राजनीति र सत्तामुखी मानसिकताबाट माथि उठ्न सकेको छैन । पुराना राजनीतिक दलहरूभन्दा आफुहरू फरक रहेको प्रमाण आफ्नो व्यवहार र प्रदर्शनबाट दिनुपर्ने चुनौती नयाँ दलहरू सामु छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update