News 24 Television
मध्यरातमा जब खड्का ल्याण्डमा ताला लाग्यो 

काठमाडौं । कांग्रेस सांसद दिपक खड्काको कम्पनी खड्का ल्याण्डको कब्जामा रहेको नेपाल स्काउटको जग्गा र त्यसमा निर्माण भएका भवनमा ताला लगाएर शिलबन्दी गरिएको छ । 

बिहिबार साँझ जिल्ला प्रशासन कार्यालयका काठमाडौंका कर्मचारी, जनप्रतिनिधि र सुरक्षाकर्मीहरुको टोलीले सांसद खड्काले कब्जा गरेको जग्गा खालि गराउन शिलबन्दी गरेको हो । 

शक्तिको आडमा उच्च अदालतको फैसला समेत लत्याउँदै गुण्डागर्दी शैलिमा नेपाली कांग्रेस सांसद दिपक खड्काले नेपाल स्काउटको कब्जा गरेको जग्गा र त्यसमा बनेका भवनमा ताला ठोकी शिलबन्दी गरिएको छ । 

सांसद खड्काले कब्जा गरेको उक्त जग्गा खालि गर्न स्काउटले वडा कार्यालय सहित काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रधानमन्त्री देखि सभामुख, राष्ट्रि«यसभा अध्यक्ष, राष्ट्रपति, उपराष्ट्र«ति लगाएतलाई पत्र पठाउँदा पनि जग्गा खालि हुन सकेको थिएन । तर गत चैत्र १४ गते गृहमन्त्री रबि लामिछानेलाई स्काउटले जग्गा खालि गर्न पत्र पठाएपछि लामिछानेले काठमाडौंका सिडिओलाई बोलाई तुरुन्तै कार्वाही अगाडि बढाउन निर्देशन दिएका थिए । 

लामिछानेको निर्देशन पछि उक्तजग्गाका बिषयमा अनुसन्धान गर्दै आएको प्रशासनले बिहिबार राति भने शिलबन्दी नै गरेको छ । खड्काले स्काउटको जग्गा कब्जा गरेको बिषयमा न्यूज २४ ले  विभिन्न समयमा समाचार रिपोर्ट प्रशारण गरेको थियो । 

२०६५ सालमा १० बर्षका लागि ३ रोपनि जग्गा भाडामा लिएर ७ रोपनि भन्दा बढी जग्गा भोगचलन गर्दै आएका खड्काले सम्झौताको मिति सकिए पनि जग्गा खालि गर्न अटेर गर्दै आएका थिए । 

यसरी जग्गा खालि गर्न अटेर गर्दै बसेका खड्काले स्काउटलाई जग्गा र भवनको ६ करोड भन्दा बढी भाडा बुझाउन बाँकी छ । तर उनले जग्गा भाडामा लिएर अन्य व्यवसायीहरुलाई पुनः भाडामा लगाएर त्यहीबाट महिनाकै लाखौं रकम कुम्ल्याइरहेका थिए । 

स्काउटले जग्गा खालि गर्न भन्दा शक्तिको दम्भ देखाउँदै उनले अटेर गरेपछि बाध्य बनेर प्रशासन नै लगाएर जग्गा र भवनमा शिल गर्नु परेको स्काउटका प्रतिनिधिहरु बताउँछन् । 

भाडा पनि नतिर्ने र शक्तिको आडमा स्काउटका प्रतिनिधिलाई धम्काउँदै बसेका खड्काले आफ्नो व्यक्तिगत व्यवसायको विषयलाई पनि आम नागरिकको मुद्दा जस्तै गरी संसदमा समेत उठाएर संसदको गरिमामै आँच आउने काम पनि गरेका थिए । 

उनले स्काउटलाई भाडावापत्को तिर्न बाँकी रकम र ३ रोपनी लिजमा लिएर ७ रोपनी जग्गामा हालीमुहाली कसरी र कसको आशिरवादमा गरे भन्ने बिषयमा अनुसन्धान गरी कार्वाही गर्न जरुरी छ । 

नत्र खड्का जस्तै शक्तिको आडमा गुण्डाशैलिमा दादागिरी देखाउँदै सरकारी सम्पत्ती हडप्न खोज्ने दीपक खड्काहरुको देशमा कुनै कमी छैन । 

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update