News 24 Television
गाली गलौजको पुरानै शैलीमा काँग्रेस, रास्वपा र एमालेको सुध्रिएको सभा !

काठमाडौं । इलाम – २ को उपनिर्वाचन मिति झन झन नजिकिँदो छ । एक साताभन्दा कम समय रहेको इलाको उपनिर्वाचनमा अब प्रचारप्रसार गर्ने समय पनि धेरै छैन । 

यही विचमा सबै उम्मेदवारहरुले आफ्नो पार्टीका केन्द्रीय स्तरका नेताहरुलाई इलाममै उतारिसकेका छन् । प्रमुख प्रतिस्पर्धी मानिएमा दललहरु काँग्रेस, एमाले, रास्वपा लगायतका दलहरुका शीर्ष नेताहरु इलाम पुगिसकेका छन् । यसबीचमा नेकपा एमाले अध्यष केपी ओलीलेसमेत इलाम पुगेर सम्बोधन गरिसकेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले गत बुधबार इलाममा सम्बोधन गरेका थिए भने काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा पनि इलाम पुगिसकेका छन् । 

त्यस्तै आफ्नो उम्मेद्वार जिताउन नेपाली काँग्रेसका अर्का नेता शेखर कोइराला पनि इलामै छन् । उता रास्वपाले पनिे उम्मेदवार जिताउन धेरै मेहनत गरिरहेको छ ।

त्यस्तै पहिचानवादी तथा स्वतन्त्र उम्मेदवारहरु पनि आ–आफ्नै तरिकाले चुनावी प्रचार प्रसारलाई तीव्र पारिरहेका छन् । मुख्यगरी इलाम – २ मा काँग्रेस, एमाले र रास्वपाको कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । तर, पछिल्लो परिदृष्य र मतदाताहरुको मनोविज्ञान बुझ्दा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिम पनि प्रतिपर्धामा आउने देखिन्छन् ।  

इलाम उपनिर्वाचनमा एमालेबाट सुहाङ नेम्वाङ, काँग्रेसबाट डम्बर खड्का, रास्वपाबाट मिलन लिम्बू र स्वतन्त्रबाट डकेन्द्र सिंह थोगिम उम्मेदवार छन् ।

एमालेका सुहाङलाई माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा तथा परिवार दलको समर्थन छ भने उता स्वतन्त्र उम्मेदवार डकेन्द्रलाई पनि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र बाबुराम भट्टराई नेतृत्वको नेसपाको समर्थन छ । उता काँग्रेस र रास्वपा भने एक्लाएक्लै चुनावी मैदानमा उत्रिएको छन् । यसआधारमा सबै उम्मेदवारहरु जनमत आ–आफ्नो पक्षमा पार्न लागि परिरहेका छन् । 

यो उपनिर्वाचनबाट एमाले आफ्नो वर्षौँको विरासत जोगाउने लागि परिररहेको छ । त्यस्तै विगतमा कडा प्रतिस्पर्धा गरेपनि जित निकाल्न नसकेको काँग्रेसले यो पटक भने नयाँ उम्मेदवारहरुलाई हराएर आफूलाई प्रमाणित गर्ने दाउ कसिरहेको छ ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र पनि आफ्नो जित निकाल्दै पहिचानवादीको तर्फबाट सशक्त प्रतिनिधित्व गर्ने मुडमा छन् । उता रास्वपा भने राजनीतिप्रति बदलिँदो जनमनोविज्ञान र दलहरुमा आएको विकृति र बेइमानीको फाइदा लिँदै जनमत आफ्नो पक्षमा  पार्ने दाउमा छ । 

संविधानसभा अध्यक्षसमेत रहेका सुवास नेम्वाङको निर्वाचन क्षेत्र रहेको इलाम – २ मा यो पटक कस्ले जित निकाल्ला भनेर पहिल्यै यकिन गर्ने अवस्था छैन । यो क्षेत्र विगतमा एमालेले जित्दै आएपनि पुराना राजनीतिक दलहरुप्रति जनतामा बदलिँदो मनोविज्ञनका कारण यो उपनिर्वाचन रोचक र फरक हुने निश्चित छ ।

निर्वाचन मिति नजिकिँदै गर्दा दलहरु पार्टीको कार्यक्रम गर्न मस्त छन् । यस्तो अवस्थामा नेपाली काँग्रेसले भने प्रतिस्पर्धी दलहरुमा अभिव्यक्तिमार्फत प्रतिशोध व्यक्त गरिरहेको छ । 

चुनावमा होमिएका दलहरुमध्ये एमाले, रास्वपा तथा स्वतन्त्र उम्मेद्वारहरुले एकअर्कामा गाली गर्ने परम्परालाई तोडेको देखिन्छ । विगतमा विपक्षप्रतिहरुप्रति कडै आलोचना र टिप्पणी गर्ने एमाले अध्यक्ष ओलीसमेत यो पटक इलाममा नम्र रुपमा पस्तुत भए । 

त्यस्तै रास्वपा र स्वतन्त्रहरुलेसमेत प्रतिस्पर्धिहरुप्रति नम्रता प्रकट गर्दै चुनावी सभामा आफ्नै योजनाहरुमात्रै समावेश गरिरहेका छन् । तर नेपाली काँग्रेसले भने चुनावी प्रचारप्रसारमा पुरानै शैली अपनाउँदै एमाले र रास्वपा नेताहरुमाथि प्रतिशोध साँधिरहेको हो ।  

उता रास्वपा तथा नेकपा एमालेले भने प्रतिस्पर्धी दल र उम्मेदवारहरुमाथि खासै नकारात्मक टिप्पणी गरिरहेका छैनन् । बरु गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारवाही गर्ने कडा चेतावनी दिइरहेका छन् । 

एमाले उम्मेदवार सुहाङले भने यस उपनिर्वाचनमा कोही कसैप्रति गाली र टिप्पणी नगर्ने घोषणा गरिसकेका छन् । सोही अनुरुप सुहाङले प्रतिस्पर्धी दलका उम्मेदवारहरुप्रति प्रतिशोध साध्नेगरी कुनै प्रकारको टिप्पणी गरेका छैनन् । यद्यपि नेपाली काँग्रेसले भने प्रतिद्वन्द्धिहरुप्रति चुनावी सभामै रोष प्रकट गरिरहेको देखिन्छ । यसलाई कतिपयले केन्द्रीय राजनीतिक घटनाक्रमको प्रभावको रुपमा लिएका छन् । 

काँग्रेसले सत्तारुढ तथा प्रतिस्पर्धी दलहरुप्रति संसद र चुनावी सभामै प्रतिशोध मिश्रित अभिव्यक्तिहरु दिइरहेको छ ।  
उसको यो चरित्रलाई सत्ता बहिर्गमनको पीडाको रुपमासमेत कतिपयले व्याख्या गर्न थालेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update