News 24 Television
एमाले र रास्वपाबीच भिषण संघर्षको संकेत, मिसन ८४ मा आ–आफ्नै दाउ !

काठमाडौं । वर्तमान अवस्थामा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्ता सहयात्री दलका रुपमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा एमाले र रास्वपाले पनि सहभागीतिा जनाइरहेको अवस्था छ । तर भर्खरै सम्पन्न उपनिर्वाचनमा सत्ता गठबन्धनमै रहेका एमाले र रास्वपाबीच नै प्रतिस्पर्धा भयो । 

यसले दुई दलबीच बेमेलता सृजना भएको छ । फलतः सत्तारुढ दल एमालेले रास्वपाकै खिसिट्युरी गर्न थालेको छ ।खासगरी सत्तामै रहेर पनि एकर्काबीच प्रतिस्पर्धा गरेका एमाले र रास्वपाले तत्कालका लागि लोकतन्त्रको सुन्दर पक्षलाई अंगिकार गरेका छन् । तर यो प्रतिस्पर्धाले भविष्यका लागि भने दुई दलबीच भिषण संघर्षको संकेत गरेको छ । 

इलाम उपनिर्वाचनको उम्मेदवारी र प्रतिपर्धाको मुख्य ‘रियाक्सन’ ८४ सालको आम निर्वाचनमा देखिने लगभग निश्चित छ । 

अहिलेको उपनिर्वाचनमा इलामबाट एमालेका सुहाङ भारी मत सहित निर्वाचित भएका छन् । सत्तामै रहेर पनि सौहार्दतापूर्वक चुनावी प्रतिस्पर्धा गरेको रास्वपाले जमानत समेत जोगाउन सकेन । जबकी रास्वपा नै सबैभन्दा पहिले मिसन ८४ को नारा लिएर आएको दल हो । अहिले रास्वपा इलाम उपनिर्वाचनको गम्भीर समीक्षा गर्ने स्थितिमा छ  । 

इलाममा घण्टी नबजाइ जनताले अर्कै सांकेतिक घण्टी बजाएको ठहरमा रास्वपा पुगिसमेको छ । यसलाई सिकाइको रुपमा लिएर गम्भीर समीक्षा गर्दै अघि बढ्ने रास्वपाको तयारी छ । विगत देखि नै लिएको अभियान मिसन मिसन ८४ सफल पार्दै रास्वपा एकलौटी सरकार निर्माण गर्ने उदेश्य लिइरहेको हो । जसलाई साकार पार्न जेठदेखि देश दौडाहा गर्ने रास्वपाको तयारी समेत छ । 

रास्वपाले सरकारमा सहभागिता जनाउनु अघि देखि नै मिसन ८४ को नारा लगाउँदै आइरहेको थियो । उसले यसलाई नै मुख्य अभियान बनाएर बहुमतको सरकार बनाइ छाड्ने र भ्रष्ट्राचार तथा वेथितिलाई एकै झोकमा अन्त्य गर्ने दावी गरिरहेको छ । 

तर यसलाई एमालेले पनि मुख्य अभियान मान्दै राजनीतिक परिवर्तको विन्दू बनाउने योजना बुनिरहेको छ । ८४ पछि नै एमालेको नेतृत्वमा एकल सरकार बन्ने दावी अध्यक्ष केपी ओलीले गरिरहेका छन् । 

एमाले भर्खरै सम्पन्न उपनिर्वाचनको मत परिणामबाट अझ हौसिएको देखिन्छ । प्रदेश र संघको एक–एक सिटका लागि भएको उक्त उपनिर्वाचनमा एमालेले शतप्रतिशत जित निकालेको स्थिति छ । 

यो सँगै एमालेले पनि मिसन ८४ अभियानलाई तीब्र बनाउने बनाइरहेको हो । तर रास्वपाले  आफ्नो अभियानलाई अन्य दलहरुले पनि अवलम्बन गरेको भन्दै विगदेखि नै आक्रोश पोख्दै अन्य दलहरुलाई चुनौती पेश गर्दै आइरहेको थियो । 

तर यतिबेला रास्वपा पनि सरकारमा सालेल छ । उसले सरकारमै रहेर इलामको उपनिर्वाचनमा प्रतिपर्धा गरेको थियो । तरपनि सत्तारुढ दल एमालेले जित निकाल्दा रास्वपाको जमानत नै जफल भएको हो । 

राष्ट्रियताको सुरक्षा र सम्बद्र्धन एमालेले मात्रै गर्नसक्ने दावी गर्दै ओलीले आउँदो निर्वाचनमा कसैगरी एकल वहुमत ल्याउने जिकिर गरिरहेका छन् । 

त्यस्तै रास्वपाले पनि मिसन ८४ को अभियानलाई सार्थक पार्दै एकल सरकार निर्माणको तयारी थालेको छ । विगतदेखि नै यो अभियान थालेका यी दुई दलहरुले उपनिर्वाचनपछि अझ सशक्त गतिविधि गर्न थालेका हुन् । 

यो गतिविधिले उपनिर्वाचनमा सौहार्दपूर्वक प्रतिस्पर्धा गरेका एमाले र रास्वपाबीच भिषण संघर्षको सुरुवात भएको संकेतसमेत गरेको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update