
कास्की । सानो होस् या ठूलो जुनसुकै आन्दोलनको लागि पहिलो रोजाइ हो पोखरा चिप्लेढुङ्गाको मानव अधिकार चोक । त्यही चोकमा यस्ता एक जना आन्दोलनकारी भेटिए, जसले शैक्षिक सुधारका लागि भन्दै दिनभरि उभिएर राज्य सामु आफ्नो माग राखेका छन् ।
बेलाबेला आयोजना भइराख्ने दबावमूलक कार्यक्रम हुन् या प्रदर्शन होस्, त्यसका लागि आयोजकहरूको पहिलो रोजाईमा पर्छ पोखरा चिप्लेढुङ्गाको मानवअधिकार चोक ।
जहाँ अनेक किसिमका आन्दोलन भइराख्छन् तर अहिले चोकको चौतारोमा एकजना यस्ता आन्दोलनकारी देखिए जो टाउकोमा कागजको टोपी र छातीमा पम्प्लेट टाँसेर दिनभरी एकै ठाउँमा उभिने गर्छन् ।
उनले न कुनै नाराबाजी लगाउँछन् न त कुनै भिड नै छ त्यहाँ, केवल एकजना मात्र आफ्ना माग राख्दै निरन्तर उभिएको देख्दा सिद्धार्थ चोकदेखि चिप्लेढुङ्गा आउजाउ गर्नेहरू दङ्ग पर्थे । सार्वजनिक शिक्षा सुधारका लागि भन्दै अनौठो किसिमको आन्दोलन गर्ने यी व्यक्ति हुन् समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाई ।
आफ्नो आन्दोलनबाट सरकारलाई दबाब होस् भन्ने उद्देश्यले पोखराको मुख्य चोकमा यसरी आन्दोलनमा होमिएका हुन् चापागाई । यसअघि गत जेठमा समेत काठमाडौँको माइती घरमा १९ दिनसम्म उभिएर सरकारलाई दबाब दिएका थिए चापागाईले । त्यो बेला तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि चापागाईले आन्दोलनलाई स्थगित गरेका थिए । तर ती माग अहिलेसम्म कुनै पनि पूरा भएका छैनन् ।
गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ भन्ने नाराका साथ ईसीडी शिक्षकको योग्यता, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुविधा, विद्यार्थीलाई दिइँदै आएको खाजा शुल्क बढाएर ५० रुपैयाँ पुर्याउनुपर्ने लगायतका माग चापागाईल राखेका छन् । यो सँगै नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने पनि उनको माग छ ।
शैक्षिक सुधारका निम्ति पोखरादेखि आन्दोलन थालेका चापागाईले सातवटै प्रदेशको राजधानीमा यसरी नै आन्दोलन गर्ने जनाएका छन् ।
त्यो सँगै अन्तिममा काठमाडौँको माइतीघरमा आफ्ना माग पूरा नहुँदासम्म उभिएर निर्णायक दबाव दिने उनको योजना छ ।