News 24 Television
पोखरामा विद्यार्थीले माहोल तताए, चुनावको तरङ्ग यस्तो !

कास्की । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मिति तोकिएसँगै देशभरका क्याम्पसहरुमा विद्यार्थी संगठनहरुको चहलपहल बढेको छ । यतिबेला देशकै धेरै विद्यार्थी संख्या रहेको पोखराको पृथ्वीनारायण क्याम्पसमा पनि संगठनहरुले विद्यार्थी भेटघाट, उम्मेदवार छनोट, घोषणापत्र तयारी लगायतका गतिविधिलाई तीव्रता दिएका छन् । 

२०६५ सालपछि विभिन्न खिचातानी र विवादले रोकिएको यहाँको स्ववियुको निर्वाचन यस पटकको निर्वाचन मितिले विद्यार्थीमा भने खुशी ल्याएको छ । 

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मिति तोकिएसँगै देशभरका क्याम्पसहरुमा विद्यार्थी संगठनहरुको चहलपहल बढ्न थालेको छ । त्रिभुवन विश्वविद्यालयले देशभरका ६२ आंगिक र ३०० बढी सम्बन्धनप्राप्त क्याम्पसमा एकैपटक आगामी चैत ५ गते निर्वाचन गर्दैछ । 

दुई–दुई वर्षमा स्ववियु निर्वाचन हुनुपर्नेछ तर सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने पोखराको पृथ्वीनारायण क्याम्पसमा भने २०६५ सालपछि स्ववियु निर्वाचन हुन सकेको छैन । 

हाल क्याम्पसमा १२ हजार ४५१ जना विद्यार्थी छन् । यसअघि २०७३ र २०७९ सालमा पनि विवादका कारण यस क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेन । २०७३ सालमा विद्यार्थी संगठनहरूबिच विवादका कारण र २०७९ सालमा उम्मेदवार र निर्वाचनको विषयलाई लिएर अदालतसँगै निर्वाचन समितिमा परेको उजुरी एवं विवादका कारण निर्वाचन हुन सकेन । 

यसरी विद्यार्थीको हक हितका लागि काम गर्ने विद्यार्थीको साझा संगठन स्ववियुको निर्वाचन पृथ्वीनारायण क्याम्पसमा १६ वर्ष वितिसक्दा पनि हुन नसक्नु विद्यार्थी संगठनमा राजनीतिक चलखेल भएको आरोप धेरैको छ । तर सधै विवादमा रुमलिएको स्ववियुको निर्वाचन यस पटक भने समयमै हुनेमा विश्वस्त छन् यहाँका विद्यार्थी । 

चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सहभागी हुन पृथ्वीनारायण क्याम्पस पोखरामा १२ विद्यार्थी संगठनले दर्ता गरिसकेका छन् । दर्तासँगै संगठनहरुले विद्यार्थी भेटघाट, उम्मेदवार छनोट, घोषणापत्र तयारी लगायतका गतिविधिलाई तीव्रता दिएका छन् । निर्वाचन समितिले पनि यस पटकको निर्वाचनलाई सम्पन्न गराउन छलफल तथा कार्यलाई तिब्रता दिएको छ । यस अघि पटक पटक रोकिएपनि यस पटक क्याम्पस प्रशासन, निर्वाचन समिति र विद्यार्थी संगठन सबै मिलेर सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने निर्वाचन समितिका सदस्य सचिव नरेश पौडेल बताउँछन् । 

पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचित नेताहरुलाई हेर्ने हो भने अहिले पनि राज्यको नेतृत्वकर्ता र राज्य सञ्चालन प्रशासनिक जिम्मेवारीमा छन् । पृथ्वी नारायण क्याम्पसको समग्र विकासमा मात्र नभई राज्यको राजनीतिक र प्रशासनिक क्षेत्र हाक्ने नेतृत्व निर्माण गर्ने भूमिका स्ववियु निर्वाचनले गर्ने विश्लेषक दिलीप न्यौपाने बताउँछन् । 

१६ वर्षपछि पृथ्वीनारायण क्याम्पसमा नयाँ उमङ्ग छाएको छ र विद्यार्थी राजनीतिले नयाँ बाटो समाउँदै छ । विभिन्न खिचातानी र विवादले रोकिएर लामो समयदेखि निष्क्रिय रहेको स्वतन्त्र विद्यार्थी युनियन पुनः सक्रियताका साथ स्थापित हुने संकेत देखिएको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update