News 24 Television
हिमाल हसाउँन सफाई अभियान ! एक युवाको कदममा भविष्यको ज्ञान

कास्की । नेपालका हिमाल, पहाड र नदी–नालाहरू हाम्रो पहिचान, हाम्रो गौरव हुन् । तर, पर्यटकीय गतिविधि बढ्दै जाँदा यिनै प्राकृतिक सम्पदामा फोहोरको थुप्रो बढ्दै गएको छ । 

एभरेस्ट, अन्नपूर्ण, मनास्लु र लाङटाङ जस्ता प्रमुख ट्रेकिङ रुटमा प्लास्टिक, बोतल र अन्य फोहोरले वातावरण प्रदूषित बनाउँदै लगेको छ । यस्तै बढेर प्रकृतिको सौन्र्दयता नै विगार्न थालेपछि एक युवाले फोहोर संकलनलाई आफ्नो अभियान बनाएका छन् ।  

नेपालका हिमाल, पहाड र नदी–नाला, यिनै हुन् हाम्रो पहिचान, हाम्रो गौरव । तर, यी प्राकृतिक सम्पदा फोहोरले धमिलिँदै छन् । यीनलाई जस्ताको तस्तै भावी पुस्तामा हस्तान्तरण गर्नुपर्छ भन्ने सोच बोकेका छन्– एक युवा, दिपेन्द्र चपाई ।

पेशाले ट्रेकिङ गाइड उनी, जहाँ फोहोर देख्छन्, त्यहीँबाट सुरु गर्छन् सफाइ अभियान । दिपेन्द्र चपाई– पर्वतारोही मात्र होइन, पर्यावरणप्रेमी पनि हुन् । 

ट्रेकिङमा जाँदा उनी बोरासहित हिँड्छन्, ताकि बाटोमा भेटिएको फोहोर उठाउन सकून् । नेपालले यति धेरै सुन्दरता पाएको, तर यसलाई मानिसले नै बिगार्न खोजिरहेको हुँदा जोगाउँन तर्फ काम नै नभएको अभियन्ता दिपेन्द्र चपाँईको भनाइ छ ।

पछिल्लो समय नेपालका हिमाली भेगका दृष्यहरुले पर्यटकलाई आकर्षण गरिरहेको छ तर यसले ट्रेकिङ रुटमा हुने फोहोरको जोखिम भने बढाइरहेको छ ।

एभरेस्ट, अन्नपूर्ण, मनास्लु, लाङटाङ लगायतका बेस क्याम्पहरू पर्यटकको रोजाइमा पर्न थालेका छन् । तर यस पर्यटन वृद्धिले ट्रेकिङ रुटहरूमा फोहोरको समस्या भने गम्भीर बन्दै गएको छ । पर्यटकहरूको संख्या बढ्दै जाँदा ट्रेकिङ मार्गहरूमा प्लास्टिक, बट्टा, बोतल र फालिएको खाद्यजन्य फोहोरको मात्रा पनि उच्च हुँदै गएको छ । पर्यटक बढ्न थालेपछि अन्नपूर्ण क्षेत्रमा समेत फोहोरको जोखिम दिनप्रतिदिन बढ्दै गएको छ । 

विशेषगरि विदेशी भन्दा स्वदेशी पर्यटकले हेलचक्र्याई गरिदिँदा फोहोरको चुनौती बढ्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना पोखराका वरिष्ठ संरक्षण अधिकृत बाबुलाल तिरुवा बताउँछन् ।

यसरी पर्यटन प्रवद्र्धनका लागि खुला गरिएका ट्रेकिङ रुटहरूमा बढ्दो फोहोरले नेपालका हिमाली पर्यावरण र सौन्दर्यमा गम्भीर असर पार्न थालेको छ । सरकार, स्थानीय तह, ट्रेकिङ एजेन्सीहरू र पर्यटक स्वयंले जिम्मेवारीपूर्वक व्यवहार नगरेसम्म नेपालका हिमाली गन्तव्यहरू फोहोरको थुप्रोमा बदलिने निश्चित छ । अब हिमाल हेर्न आउने मात्र होइन, जोगाउने चेत पनि साथमा ल्याउनु जरुरी देखिएको छ । 

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update