News 24 Television
इनमको मोबाइल प्रकरण र चयनमुखी अनुसन्धानप्रति गगनको कडा चेतावनी

काठमाडौँ । यतिबेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का प्रमुख सल्लाहकार कुमार बेनमाथि थुनुवाको मोबाइल अनधिकृत रूपमा कब्जामा लिएको विषयले राजनीतिक तथा कानुनी वृत्तमा विभिन्न प्रश्न उब्जाएको छ । बिचौलियाको आरोपमा पक्राउ परेका युवा इनम सापकोटाको मोबाइल दुई दिनसम्म प्रधानमन्त्री कार्यालय सिंहदरबारदेखि प्रमुख सल्लाहकार बेनको निवास ज्वागलसम्म लगिएको फरेन्सिक रिपोर्टले देखाएको विषय सार्वजनिक भएसँगै राज्यका अनुसन्धानकारी निकायको गोपनीयता र निष्पक्षतामाथि बहस सुरु भएको छ । 

इनमको तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगमा परेको निवेदनमा विमानस्थलबाट आँखामा कालोपट्टी बाँधेर अज्ञात स्थलमा लगेको, मोबाइल जफत गरिएको र हिरासतमा यातना दिएर निश्चित राजनीतिक व्यक्ति तथा व्यवसायीविरुद्ध बयान दिन दबाब दिइएको दाबी गरिएको छ ।

चयनमुखी अनुसन्धान र विभेदको आरोप

यस घटनासँगै सत्ता र शक्तिको आडमा चयनमुखी अनुसन्धान भइरहेको भन्दै प्रतिपक्षी दल र नागरिक तहबाट आलोचना भइरहेको छ । विशेषगरी मलेसिया श्रमिक ठगी प्रकरणमा दुई पूर्वमन्त्री र एक पूर्वमुख्यमन्त्रीसहितका व्यक्तिहरू पक्राउ पर्दा सोही प्रकरणमा नाम जोडिएका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं सभामुख डीपी अर्याललगायतमाथि अनुसन्धान अघि नबढाइएको भन्दै कानुनी विभेदको आरोप लागेको छ । साथै इनम प्रकरणमा बयानको अडियो लिक हुनुले थप प्रश्न उब्जायो । गोप्य र निष्पक्ष हुनुपर्ने अनुसन्धान प्रक्रियालाई राजनीतिक प्रतिशोध साँध्ने र आफ्ना निकटका व्यक्तिलाई जोगाउने अस्त्र बनाइएको टिप्पणी भइरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले यस विषयमा कडा धारणा सार्वजनिक गरेको छ ।

निकटताका आधारमा उन्मुक्ति अस्वीकार्य : गगन थापा

पार्टी मुख्यालय सानेपामा आयोजित ‘हामी तयार छौँ’ अभियानअन्तर्गत स्थानीय तहका प्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस सभापति गगनकुमार थापाले प्रधानमन्त्री, मन्त्री, राजनीतिक आस्था वा निकटताका आधारमा दोषीलाई उन्मुक्ति दिन नमिल्ने बताएका छन् । सार्वजनिक टिप्पणीकै भरमा कसैलाई अपराधी करार गर्न नहुने उल्लेख गर्दै उनले रास्वपा सभापति वा प्रधानमन्त्रीको टिमको नजिक भएकै कारण कसैले अतिरिक्त सुविधा वा कानुनी छुट पाउन नहुने स्पष्ट पारे । काँग्रेसका नेता–कार्यकर्ताले गल्ती गरे कानुनी कारबाहीमा सघाउने तर राजनीतिक पूर्वाग्रह र राज्यको अत्याचार भएमा काँग्रेस आन्दोलनमा उत्रिने थापाको चेतावनी छ ।

सम्पत्ति छानबिन र सरकारका घोषणामाथि खबरदारी

सभापति थापाले वीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको राजनीतिक विरासत बोकेको काँग्रेसको मुख्य शक्ति नै नैतिक पुँजी भएको बताउँदै आफूहरू जुनसुकै छानबिनको सामना गर्न तयार रहेको जिकिर गरे । साथै, उनले २०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्न सरकारलाई आग्रह गरे । सुकुम्बासी समस्या, विपद् पीडितको अवस्था, सहकारी पीडितको रकम फिर्ता तथा दलित समुदायसँग गरिएका १०० दिने घोषणा कार्यान्वयनमा सरकार चुकेको आरोप लगाउँदै उनले प्रधानमन्त्री कार्यालयको दुरुपयोग भएका प्रकरणबारे तल्लो तहसम्म जानकारी गराउन र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न कार्यकर्तालाई निर्देशन दिए ।

लोकतान्त्रिक शासन व्यवस्थामा कानुनको नजरमा सबै नागरिक बराबर हुनुपर्छ भन्ने मान्यतालाई थुनुवाको मोबाइल प्रकरण र चयनमुखी अनुसन्धानको आरोपले गम्भीर परीक्षामा उभ्याएको छ । राज्यका निकायहरूले सत्ताको प्रभावबाट मुक्त भई निष्पक्ष, पारदर्शी र प्रमाणमा आधारित अनुसन्धान अघि बढाउन सके मात्र विधिको शासनप्रतिको जनविश्वास जोगिन सक्छ । 
 

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update