News 24 Television
गण्डकीका संसदीय पत्रकार मञ्चमा नयाँ नेतृत्व

कास्की । संघीय संसदमा जस्तै गण्डकी प्रदेशमा पनि संसदीय गतिविधिमा कलम चलाउने पत्रकारहरु संगठित छन् । संसदीय पत्रकार मञ्च गठन भई क्रियाशील हुँदा गण्डकीमा संसदीय पत्रकारहरुको भूमिका प्रदेश सरकार पनि प्रशंसा गरेको छ ।

छैठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनका क्रममा प्रदेश सरकारले मञ्चका प्रशंसा गर्दै मञ्चको भूमिका अझ प्रभावकारी बनाउन सुझाएको छ । 

संसदीय पत्रकार मञ्च गण्डकीको छैठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन आइतबार पोखरामा सम्पन्न भएको छ । मञ्च संसदीय पत्रकारितामा कलम चलाउँदै आएका पत्रकारहरूको साझा संगठन हो । कार्यक्रममा मञ्चका अध्यक्ष भरत कोइरालाले विगतका वर्षहरूमा संस्थाले गरेका गतिविधिहरू, उपलब्धि र चुनौतीबारे प्रकाश पार्दै पत्रकारिता क्षेत्रको सुदृढीकरणमा मञ्चको भूमिका उल्लेखनीय रहेको बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश अरु प्रदेशभन्दा फरक ढंगले काम गर्ने भएकाले पनि सफल भएको टिप्पणी गरे । 

उनले पारदर्शिता, जवाफदेहिता र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिँदै सञ्चार माध्यम र पत्रकारहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख समेत गरे । प्रदेश सरकारको आर्थिक अनियमितता र अनुशासनलाई कायम गर्न सफल रहेको साथै आफ्नै आम्दानी बढाउने लक्ष्य तर्फ गण्डकी सरकार अगाडि बढिरहेको उनको भनाइ  छ । 

पछिल्लो समय पत्रकारिता क्षेत्र बदनाम हुँदै गएको कार्यक्रममा आवाज उठेको छ । नक्कली पत्रकारले गर्दा सक्कली पत्रकार नै हराउँदै जाने अवस्था आएकोप्रति नेताहरुले चिन्ता व्यक्त गरेका छन् । 

संसदीय पत्रकारितामा सक्रिय ३७ जना पत्रकार आवद्ध रहेको मञ्चमा चौथो अधिवेशनबाट आगामी कार्यकालका लागि बिसन क्षेत्री अध्यक्षमा निर्वाचित भएका छन् । 

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update