News 24 Television
एक महिनासम्म तीज मनाउने प्रचलन, रानाथारु वस्तीमा पर्वको रौनक

कैलाली । पश्चिम नेपालमा मात्रै बसोवास गर्ने राना थारु समुदायमा यतिबेला परम्परागत ’तीज’ पर्वको रौनक शुरु भइसकेको छ । राना थारु बस्तीमा अहिले डोला अर्थात पिङ हालिएका छन् । 

परम्परागत पोशाकमा सजिएका रानाथारू समुदायका महिला पिङ खेल्दै साउनका परम्परागत गीत गुनगुनाउन थालेका छन् । विवाहित छोरीचेली माइती फर्किएका छन् । रानाथारु समुदायमा तीज अन्य समुदायको तुलनामा निकै फरक गरी मनाइन्छ । 

पश्चिम नेपालमा मात्रै बसोवास गर्ने राना थारु समुदायले एक महिनासम्म तीज मनाउछन् । एक महिनासम्म मनाउने तिज पर्वको आइतवार विशेष दिन हो । 

अन्य समुदायजस्तै  रहनसहन, परम्परा, रीतिरिवाज तथा खानपिन र कला संस्कृतिमा धनी छन् रानाथारू । यो समुदायमा आँगनमा पिङ गाडेको दिनबाट तीज सुरु हुन्छ । त्यसरी हालिएको पिङलाई डोला भनिन्छ । 

पिङ हाल्न महिला दिदीबहिनीलाई दाजुभाइले पनि साथ दिन्छन् । पिङ हाल्न दाजुभाइ–दिदीबहिनी मिलेर जंगलबाट बाबियो काटेर ल्याउँछन् । र, त्यसलाई बाटेर पिङको लठ्ठा बनाइन्छ । हिन्दु धर्मावलम्बीहरूले श्रीमानको दीर्घायु तथा कुमारी केटीले महादेव जस्तै वर पाउँ भनी तीजको ब्रत बस्ने धार्मिक मान्यता छ । तर, राना थारूले समुदायमा भने तीजलाई फरक तरिकाले मनाइन्छ ।

कैलाली र कञ्चनपुरमा मात्र यो समुदायको मुख्य बसोवास छ । सरकारले यो समुदायलाई आदिवासी जनजातिमा सूचीकृत गरेको छ । 

नेपाल रानाथारू समाजका अनुसार यो समुदायको जनसंख्या करिब साढे तीन लाख छ । दुई जिल्लामा एक सय ३४ वटा गाउँमा रानाथारूको बसोवास छ । परापूर्वकालमा यो समुदायमा रोगव्याधीले पुरुषको मृत्यु हुन थाल्यो । 

त्यसैले संकटबाट मुक्ति पाउन महिलाले दाजुभाइ र भतिजाको जीवन रक्षा, दीर्घायु, सुख र समृद्धिको कामना गर्दै व्रत बस्न थालेको जनविश्वास छ । व्रतालु महिला साँझ परेपछि नदीकिनारमा गएर पूजा गर्छन् । 

गडरौदा जातको घाँस वा कुसमा विवाहितले सात र अविवाहितले पाँच गाँठा पारी त्यसको पूजा गर्छन् । पूजा सकिएपछि चाँदीको गहना वा सिक्काले त्यसलाई काट्छन् अनि प्रसादको रूपमा खानाका परिकार राखेर नदीमा बगाउँछन् । व्रत विसर्जन गर्न नदी किनारमा जाँदै गर्दा दाजुभाइले दिदीबहिनीलाई बाटोमा लामो डोरीमा बेरेर घेर्ने गर्छन् । 

तीजको पूजाआजापछि व्रतालुसहित घरपरिवार सबै मिलेर सिमही, पुरी, गुलगुला, पकौडा, पपरा लगायतका मिठा परिकार खाने चलन रहेको छ । यसैगरी, दाजुभाइहरुले व्रतालुहरुलाई आशिर्वादको साथै सकेको दक्षिणा पनि दिने गरेको पाईन्छ । 

तीजको केही दिन अगाडिदेखि नै गाउँ गाउँमा सावन डोलामा रमाउने चलन रहेको छ । तीज सकिएपछि पनि महिलाले सामूहिक रुपमा सावन डोलामा पिङ खेलेर रमाउने गरेको जनाइएको छ । रानाथारु तीजको अवसरमा धनगढी उपमहानगरपालिका सहित कैलाली, कञचनपुरका पालिकाले सार्वजनिक बिदा दिएका छन् । 

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update