News 24 Television
बाग्मती प्रदेशको हावा केन्द्रसम्मै फेलिने त्रास

मकवानपुर । नेपाली कांग्रेसमा चुलिँदै गएको संकट बाग्मति प्रदेशमा गएर पोखिएको छ । आफ्नै पार्टीका मुख्यमन्त्रीलाई बर्खास्त गर्न कांग्रेस बाग्मती सांसदहरु कस्सिएका छन् । 

फलस्वरुप बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई संसदीय दलको नेताबाट हटाएको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा दलका नेता बहादुर सिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव नै दर्ता गरी मत विभाजनबाट टुंगो लगाइएको छ । बाग्मती प्रदेशको कचिंगलले केन्द्र सरकार नै धरमराएको छ । 

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले प्रदेश सरकारको नेतृत्वमा रहँदा चित्त बुझ्दो कार्यसम्पादन नगरेको भन्दै कांग्रेसकै एउटा समूहलाई लामालाई विस्थापित गर्न लागि परेका छन् । जसको नेतृत्व कांग्रेस सांसद इन्द्रबहादुर बानियाँले गरे । बानियाँको नेतृत्वमा लामालाई संसदीय दलको नेताबाट हटाउन भन्दै अविश्वासको प्रस्ताव दर्ता गरियो । 

कांग्रेस बागमती प्रदेश समितिमा सभापति समेत रहेका बानियाँको नेतृत्वमा गत शुक्रबार २१ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको थियो । यो प्रकरणले कांग्रेस एमाले गठबन्धनको केन्द्र सरकारलाई धक्का दियो । त्यसैले यो विवादलाई छिटो टुंग्याउन एमालेले कांग्रेसलाई दबाब नै दिएको थियो । यहि विवाद टुंग्याउन केन्द्रीय पर्यवेक्षक राजन केसी हेटौंडा पुगे । 

उनको नेतृत्वमा बसेको संसदीय दलको बैठकबाट सहमती निकाल्न सोमबार आधारातसम्म कसरत गरियो । तर बैठकबाट सहमती नबनेपछि मंगलबार अविश्वासको प्रस्तावमाथि मत विभाजन गरियो । जसमा अविश्वासको प्रस्तावको पक्षमा २२ मत आउँदा लामाको पक्ष अर्थात् प्रस्तावको विपक्षमा १५ मत प्राप्त भयो । दलको बैठकबाट अविश्वासको प्रस्ताव पारित भएसँगै लामाले दलको नेताको हैसियत गुमाउन पुगेका छन् । 

संसदीय दलको नेताबाट पदच्यूत भएपछि उनको मुख्यमन्त्री पद गुम्ने खतरा उत्तिकै छ । नैतिक रुपमा पनि उनलाई मुख्यमन्त्री छाड्नुपर्ने दबाब परि नै सकेको छ । तर संसदीय दलको नेताबाट आफू पदमुक्त भएपनि मुख्यमन्त्री पदबाट भने राजीनामा नदिने अडानमा छन् उनी ।  

बहादुरसिंह लामाप्रति संसदीय दलको नेतामा विश्वास गुमेपछि अब नयाँ दलको नेता चुन्ने प्रक्रिया अघि बढ्छ । कांग्रेस बागमती प्रदेश समितिले विधान समिति बनाएर संसदीय दलको चुनाव गराउने बताएको छ । 

नयाँ संसदीय दलको नेता चुनिएपछि लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने बानियाँ समूहको तर्क छ । दलका नेता भएको कारण मुख्यमन्त्री बनेका लामाले राजनीतिमा इमान्दारिता, जिम्मेवारिता र नैतिकता बोध गरेर मार्ग प्रसस्त गर्नुपर्ने सांसद बानियाँ बताउँछन् । 

संसदीय दलको नेता निर्वाचनको लागि निर्वाचन समिति गठन गरिसकिएको छ । कांग्रेस बागमती प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य रहनेगरी निर्वाचन समिति गठन गरिएको छ । अबको १÷२ दिन भित्रै निर्वाचन गरेर संसदीय दलको नेता टुंगो लगाउने तयारी समितिले गरेको छ । कुल ११० सदस्यीय प्रदेश सभामा कांग्रेसको ३७ सिट छ । दलको नेतामा निर्वाचित हुन ५१ प्रतिशत अर्थात् १९ सांसदको मत आवश्यक पर्छ । 

बानियाँ समूहबाट इन्द्रबहादुर बानियाँ आफै दलका नेताको रुपमा अघि बढेका छन् भने लामा समूहबाट कसलाई अघि सार्ने भन्ने बिषयको टुंगो लागेको छैन । यसअघि कोशी प्रदेशमा पनि यसैगरी कांग्रेसमा किचलो आएको थियो । 

त्यही किचलोकाबीच कांग्रेस इतर पक्षका नेता केदार कार्की मुख्यमन्त्री बनेका थिए । अहिले बाग्मती प्रदेशमा चर्किएको यो हुण्डरी अन्य प्रदेश र केन्द्रमा समेत  फैलिएर जान्छ वा बाग्मतीबाटै रोकिन्छ, सवत्र्र चासोको विषय बनेको छ ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update