
कास्की । सिन्धुलीबाट एकाएक सम्पर्क बिहिन भएका लोपोन्मुख हायु परिवार पोखराबाट सम्पर्कमा आए । सम्पर्कविहीन भनिएका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाको हायू परिवारका सदस्य कास्कीको गगनगौंडामा फेला परेका हुन् । नराम्रो खबर त सुन्न परेन तर देशनै हल्लाउने गरी एउटा परिवार गायव हुँदा त्यसले जन्माएको भय निक्कै त्रासदीपुर्ण थियो ।
सिन्धुलीको लोपोन्मुख हायू परिवारका १६ जना हराएको भन्ने खबरले सोमबार दिनभर जसो चर्चा पायो । राष्ट्रिय मिडियाको हेडलाईन बने । चर्चा मात्र हैन १६ जनाको जम्बो परिवार नै सम्पर्कबिहिन हुदाँ धेरैलाई चिन्तित पनि बनायो ।
देशै भरि प्रहरी परिचालन भयो । खुशीको कुरा सिन्धुलीको हायू परिवार पोखरामा सोमबार राती सकुशल भेटिए । सम्पर्कविहीन भनिएका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाको हायू परिवारका सदस्य कास्कीको गगनगौंडामा फेला परेका हुन् । गत साउन १० गते सिन्धुलीको गोलन्जोरबाट एकाएक सम्पर्कविहीन भएको उर्मिला हायूको परिवार सोमबार राती ९ः२० मा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार उनीहरूलाई गगनगौंडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा आश्रय लिइरहेको अवस्थामा फेला पारिएको हो ।
उनिहरुसंगको कुराकानीमा २० हजार रुपैयाँमा गाडी भाडामा लिएर सपरिवार पोखरा आएका रहेछन् । शनिबार लेकसाइडमा रहेको होटल जननीमा बसेर आइतबार निस्किएका थिए त्यसपछि सीसीटीभीको आधारमा उनीहरूको लोकेसन पत्ता लाग्यो ।
बेलाबेलामा बिरामी भइरहने र धामीले त्यहाँ नबस्न भनेपछि छेत्पाबाट हिँडेको उनीहरूले बताएका छन् । आफ्नो गाउँ छेत्पामा पटक–पटक बिरामी पर्ने समस्याले सताएपछि गाउँ नै छाडेर हिँडेको उर्मिला हायूले बताएकी छन् । उनीहरुले अब आफ्नो पुरानो थातथलोमा नफर्किने बताएका छन् । परिवारका सदस्यले पोखरामा काम गर्नका लागि आएको बताएका छन् । पाँचओटा कोठा भाडामा लिएर उनिहरु पोखरा ३० गगनगौंडामा नै बस्ने उनिहरु बताँउछन् ।
सिन्धुलीको छेत्पामा आफुहरु असुरक्षित रहेको उनिहरुको भनाई छ । श्रीमानको मृत्यु भएको घटनाले दुखीत भएको श्रीमती उर्मिला हायू बताउछिन् । तर श्रीमानको मृत्यु कसरी भयो भन्ने उनि खुलाउन चाहिनन् । घरमा आगो लागेको विषयमा सोध्दा उनिहरु जानकारी नभएको बताउछन् ।
वडा नम्बर ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीसहित अन्य स्थानीयको रोहबरमा आफन्त धनबहादुर तामाङ र अमिस तामाङको जिम्मा लगाएको हो । परिवारका १६ जना भनिए पनि पोखरामा फेला पर्दा उनीहरुको संख्या १९ पुगेको थियो, जसमा हायु परिवारका सदस्य र केही नातेदार समेत रहेको प्रहरीले पुष्टि गरेको छ ।
हायुपरिवारका सदस्यहरु संचारकर्मीलाई भिडियो नखिच्न आग्रह गर्दै बोल्न समेत मानेका थिएनन् । लोपोन्मुख र समस्याग्रस्त परिवार भएकाले हायु परिवारको संरक्षण र उद्दारमा सरकारले थप चासो दिनुपर्ने मानव अधिकारकर्मीहरुको माग छ ।