
काठमाडौं । नेकपा एमालेले मिशन ८४ अनुकुल आधार तयार पार्न अन्तर पार्टी निर्देशन जारी गरेको छ । खासगरी एमाले विभिन्न चार शक्तिहरु लागिपरेको भन्दै उसले सशक्त प्रतिरोध गर्न पनि निर्देशन गरेको छ ।
नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानि)मै आफ्ना ४ शत्रुहरुको व्याख्या गरेपछि राजनीतिक रुपमै गहन बहस सुरु भएको छ । काँग्रेस एमाले गठबन्धनपछि बनेको ओली नेतृत्वको सरकारले नयाँ दलहरुसहित प्रमुख प्रतिपक्षी दल, राजावादी र विदेशी शक्तिलाई पनि आफ्नो शत्रुका रुपमा व्याख्या गरेको छ ।
अपानिमा एमालेले ओली नेतृत्वको सरकारले संकटग्रस्त बनेको अर्थतन्त्रलाई लयमा फर्काउन पहल गरेको, व्यापार–व्यवसायमा अनुकूल अवस्था सिर्जना भएको र सरकारको कामले नै जनतामा आशा बढ्दै गएको दावी गरेको छ ।
यद्यपि पछिल्लो समय भने नेतृत्वमाथि विभिन्न समूहले सुनियोजित हमला गरिरहेको भन्दै यसको प्रतिवाद गरिनुपर्ने एमालेले औल्याएको हो ।
एमालेका ४ शत्रु को–को ?
पहिलो : एमालेले आफ्नो पहिलो शत्रुका रुपमा विदेशी अर्थात बाह्य शक्तिहरुलाई औल्याएको छ ।
एमालेले (अपानी)मै उल्लेख गरेअनुसार आफूहरुको देशभक्तिपूर्ण अडान र भूमिका मन नपराउने भनेर भारत र चीनजस्ता अन्य विदेशी शक्तिहरुलाई पहिलो शत्रुका रुपमा उभ्याएको हो । उसले ती शक्तिहरुलाई स्वार्थका लागि नेपालमा एमाले र एमालेको नेतृत्वलाई कमजोर बनाउन चाहेको आरोप लगाएको हो ।
दोस्रो : एमालेले दोस्रो शत्रुका रुपमा राजावादी संगठन र तिनका गतिविधिलाई औँल्याएको छ । नेपालमा राजसंस्था पुनःस्थापनाको लागि बेलाबखत ठूलै आन्दोलन हुँदै आएका छन् । यस्तैमा एमालेले राजसंस्था पुनःस्थापनाका लागि आन्दोलन गर्ने संगठनहरुलाई प्रतिगामी र प्रतिक्रियावादी शक्तिको रुपमा व्याख्या गर्दै दोस्रो शत्रुका रुपमा उल्लेख गरेको देखिन्छ । उनीहरुको सपना एमालेकै कारण पूरा नहुने हुँदा पार्टीकाविरुद्ध राजावादीहरु सुनियोजित ढंगले लागेको एमालेले औल्याएको हो ।
तेस्रो : नेकपा एमालेले वामपन्थी दल माओवादी केन्द्रलाई नै आफ्नो तेस्रो शत्रुका रुपमा दर्ज गरेको छ । एमालेले आफूहरुकै कारण सत्ता गुमेको तथा ‘म्याजिक नम्बर’ औचित्यहीन बनेको भनेर माओवादीप्रति आक्रोश पोखेको छ । एमालेकै कारण माओवादीको भूमिका खोसिएकाले प्रचण्ड लगायत नेताहरु आफूहरुविरुद्ध अराजनीतिक र अपराधिक तरिकाबाट छद्मरूपमा उत्रिएको भन्दै माओवादीलाई नै एमालेले तेस्रो शत्रुका रुपमा व्याख्या गरेको छ ।
चौथो : एमालेले आफ्नो चौँथो शत्रुका रुपमा रास्वपा तथा बालेनजस्ता नयाँ राजनीतिक दल र पात्रहरुलाई औल्याएको छ । बालेन र रविजस्ता नेताहरु लोकप्रियतावाद र अराजकतावादको सहारामा अघि बढ्न खोजिरहेका भन्दै एमालेले यी पात्रहरुलाई पनि चौँथो शत्रुका रुपमा व्याख्या गरेको हो ।
एमालेको आक्रोश किन ?
नेकपा एमालेले राजावादी, माओवादी, विदेशी शक्ति र नयाँ दलहरुलाई शत्रुका रुपमा व्याख्या गर्नुकापछि धेरै कारणहरु हुन सक्छन् । तर मुख्यतः सतहमै देखिएका कारण भने यस्ता छन् ।
– व्यवस्था नै बदल्नेगरी राजावादीहरुले थालेको आन्दोलन र वर्तमान सत्ता नेतृत्वमाथि पनि गम्भीर आरोप लगाइनु ।
– सत्ता सहकार्य टुटेपछि एमालेसँग माओवादी चिँढिनु र काँग्रेससँगको गठबन्धन टुटाउने बारम्बार प्रयाससहित ओलीको विकल्प खोजिनु ।
– विदेश सम्बन्ध सन्तुलित बनाउने विपक्षी दलको चाहना र प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्ता ढिलागरी आउनु ।
– नयाँ दल तथा तीनका नेताहरुको लोकप्रियता बढ्नु र संसदमा पनि नयाँ दलहरु चुनौतीका रुपमा खडा हुनु ।
एमालेले अहिले मात्रै नयाँ दल, विदेशी शक्ति, राजवादी र माओवादीलाई शत्रुका रुपमा औल्याएको होइन । यसअघि एमाले महासचिव शंकर पोखरेलले नै यी शक्तिहरुलाई शत्रुका रुपमा औल्याएका थिए । यद्यपि अहिले एमालेले (अपानी)मै यो व्याख्या गरेर आधिकारिक रुपमै ४ शत्रु घोषणा गरेको हो ।
एमालेले यी चार शक्तिहरु पार्टीविरुद्ध लागि परेको र उनीहरु गोयबल्स शैलीमै कुप्रचारमा लागेको स्पष्ट गर्दै प्रतिरोधमा लाग्न निर्देशन दिए पनि उनीहरुलाई स्पष्ट रुपमा वर्ग शत्रु वा प्रधानशत्रु भनी किटान भने गरिएको छैन ।
रविमाथि अझ आक्रामक ओली !
रास्वपाले संसद र सडकमा सरकारविरुद्ध कडा कदम चालिरहेको छ । भिजिट भिसा प्रकरणमा रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै लामो समयसम्म नै संसद अवरोध र बहिस्कार ग¥यो । यद्यपि सरकार टसमस भएन ।
उता रास्वपा सभापति रवि लामिछाने पनि लामो समयदेखि सहकारी ठगी प्रकरणमा भैरहवास्थित कारागारमा छन् । उनको कारागार बसाइँलाई रास्वपाले रविमाथि राजनीतिक प्रतिशोध साँधिएको व्याख्या गरिरहेको छ । यद्यपि प्रधानमन्त्री ओली भने रविलाई राजनीतिमा ल्याउनेदेखि उपप्रधान तथा गृहमन्त्री बनाउनमा समेत आफ्नै भूमिका रहेको भन्दै उनीविरुद्ध प्रतिशोध साँध्न आवश्यक नरहेको जिकिर गरिरहेका छन् ।
तर, प्रधानमन्त्रीले यो जिकिर गरिरहँदा एमालेले औपचारिक रुपमै रास्वपालाई प्रमुख शत्रुका रुपमा उभ्याइरहेको हो । जसले एमालेमाथि पनि विभिन्न संशय र आशंका भने पैदा गराइरहेको छ । ओलीले रास्वपामाथि विचारहीन र सिद्धान्तहीन भनेर व्याख्या गर्दै उसैलाई प्रमुख शत्रु मान्नुले भने रविमाथि प्रतिशोध भइरहेको होइन भन्ने दावीलाई कमजोर पारेको छ ।