
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजधानी बाहिर रुपन्देहीको भैरहवामा पहिलोपटक संघीय संसदीय दलको बैठक राखेको छ । रास्वपा सभापति रवि लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत बुटवल इजलासको आदेश अनुसार भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।
सभापति थुनामा रहेकै जिल्लामा बैठक राख्दै रास्वपाले पार्टीभित्र रविकै पकड रहेको सन्देश दिएको छ भने यो बैठकलाई आशन्न रुपन्देही ३ को उपनिर्वाचनको रणनीतिक तयारीको रुपमा पनि हेरिएको छ ।
रास्वपा नेताहरुले सभापति रवि लामिछनेलाई ढाडस दिनपनि संसदीय दलको बैठक भैरहवामा राखेका छन् । संसदीय दलको बैठकले चालु बजेट अधिवेशनमा भएका गतिविधिको समीक्षा गरेको र पार्टीले जनताको मुद्दा संसदमा स्थापित गर्न सफल भएको निचोड निकालेको बैठकपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले बताए । बैठकले भिजिट भीसाको आवरणमा भएको भ्रष्टाचार र मानव बेचबिखनकाका मुद्दा पार्टीले संसदमा उठाएर राज्यले नीतिगतरुपमा जनतालाई दुख दिएको कुरा स्थापित गरेको परियारले जनाए ।
यस्तै, भ्रष्टाचारका अन्य मुद्दाहरुमा समेत रास्वपाले उठाएका मुद्दाहरु स्थापित हुँदै गएको उनले दाबी गरे । यसबीच पार्टीले गरेको आन्दोलनका कारण जनतामा आफ्ना मुद्दा रास्वपाले छाडेन भन्ने अनुभूति भएको निचोड पनि बैठकले निकालेको परियारले बताए ।
उनले रास्वापाले संख्याका आधारमा दम्भ देखाउने सत्ताधारीसँग सम्झौंता गरेन भन्ने नागरिकबाट संदेश पाएको बताए । त्यसलाई कायम राख्दै संवादको ढोका पनि खुला राख्दैं संसदमा जारी भिजिट भीसाको आवरणमा भएको भ्रष्टाचार र त्यससँग सम्बन्धित अन्य मुद्दालाई लिएर आन्दोलन जारी राख्ने निर्णय बैठकले गरेको जानकारी पनि उनले दिए ।।
संसदमा नागरिकको आवाज उठाउन संख्या केही होइन भन्ने रास्वपाका बुझाइ रहेको परियारले बताए । नेपाली कांग्रेस, एमाले र माओवादी पनि जनताको गम्भीर मुद्दामा एकमत भएर रास्वपाले उठाएका मुद्दामा सहमती कायम गर्नेछन् भन्नेमा आफुहरु निश्चिन्त रहेको दाबी पनि उनले गरेका छन् । मुलुकमा फैलिएको संगठित अपराधविरुद्ध आगामी दिनमा रास्वपाले झन शसक्त प्रदर्शन गर्ने उनको जिकिर छ ।
उनले संसद दर्ता भूमि विधेयकमा एमालेका नियत सही नभएको पार्टीले निष्कर्ष निकालेको जनाए । यस्तै, पोखराको लिचीबारीको जग्गा प्रकरणमा भएको भ्रष्टाचार संलग्न सबैलाई कारबाही हुनुपर्ने माग परियारले गरे ।
यस्तै, पार्टी सभापति लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जारी हस्ताक्षर अभियानलाई निरन्तरता दिने उनले बताए ।
बैठकमा संसदीय गतिविधिबारे प्रमुख सचेतक परियार र हस्ताक्षर अभियानबारे कार्यबाहक सभापति डोलप्रसाद अर्यालले भनाई राखेका थिए । यस्तै, कार्यबाहक सभापति अर्यालसहित केही सांसदले भैरहवा कारागार पुगेर सभापति लामिछानेलाई भेटेका थिए ।