News 24 Television
जनता आवासले विपन्नको मुहारमा खुशी, घर पाउँदा सुरक्षित महशुष 

कैलाली । कैलालीका ५ स्थानिय पालिकामा प्रदेश सरकार, संघीय सरकार, दातृ निकाय र पालिकाको साझेदारीमा विपन्न परिवारलाई ६ सय २९ वटा सुरक्षित आवास निर्माण गरिएको छ । जनता आवास कार्यक्रम अन्तर्गत विपन्न, सुकुम्वासी, मुक्तकमैया, सीमान्तकृत समुदायका लागि सुरक्षित आवास निर्माण गरिएको हो । 

कैलालीको लम्कीचुहा नगरपालिका, भजनी नगरपालिका, घोडाघोडी नगरपालिका, गौरिगंगा नगरपालिका र बर्दगोरिया गाउँपालिकामा जनता आवास कार्यक्रमबाट आर्थिक वर्ष २०७९\०८० देखि २०८१\०८२ सम्म ६ सय २९ वटा सुरक्षित आवास निर्माण गरिएको छ । 

असुरक्षित घरमा बसीरहेका सुकुम्बासी र मुक्तकमैयाहरु सुरक्षित घर पाउँदा खुसी भएका छन् । वर्षाको वेला बाढीले डुवान हुने भजनीमा सुरक्षित घर पाउँदा डुबान हुने ठाउँका स्थानीय खुशी छन् ।

जनता आवास कार्यक्रमबाट सबैभन्दा बढी घर भजनीमा निर्माण गरिएको छ । आर्थिक वर्ष २०७९\०८० मा १६ वटा घर निर्माण भएको भजनीमा २०८०\०८१ मा २६ वटा थप घर निर्माण गरिएको थियो भने २०८१\०८२ मा ४५ वटा गरि भजनी नगरपालिकाका विभिन्न ठाउँहरुमा मात्रै ८७ वटा घरहरु निर्माण भएका छन् । 

जस्तापाताले छाएको पक्की दुई कोठाको घर र एउटा शौचालय निर्माणका लागि ह्याबिट्याट फर ह्युमानिटी, राष्ट्रिय दलित नेटवर्कको २ लाख ५० हजार र भजनी नगरपालिकाकोे ३ लाख रुपैयाँ लगानी भएको छ । भजनी नगरपालिकाको जोखिम क्षेत्र, मुक्तकमैया र सुकुम्बासीहरुको लागी चालु आर्थिक वर्षमा समेत धेरै भन्दा धेरै घरहरु निर्माण गर्ने योजना छ । 

लम्कीचुहा नगरपालिका र बर्दगोरिया गाउँपालिकाका विपन्न, सुकुम्वासी र मुक्तकमैयाको लागी सुदूरपश्चिम प्रदेश सरकारको २ लाख ९४ हजार, ह्याबिट्याट फर ह्युमानिटी र राष्ट्रिय दलित नेटवर्कको २ लाख ५० हजार र स्थानिय पालिकाको ५० हजार रुपैयाँको लागतमा सुरक्षित आवास निर्माण गरिएको छ । 

गौरिगंगा नगरपालिकामा भने संघीय सरकार अन्तर्गतको अनुदान सहयोगमा जनता आवास कार्यक्रम अन्तर्गत पालिकामा प्रतिघर ५० हजार रुपैयाँ अनुदान सहयोग दिने गरिएको छ । गौरिगंगा नगरपालिकामा ३ बर्षमा ३ सय ६८ जनाको सुरक्षित आवास निर्माणमा गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update