News 24 Television
नेकपा एस संकट र 'झलनाथ–बामदेव फ्याक्टर'

काठमाडौं । नेकपा एमालेबाट अलग भई बनेको नेकपा एकीकृत समाजवादीमा पुनः आन्तरिक कहल चुलिएको छ । पार्टी अध्यक्ष माधव नेपाल आफै भ्रष्टाचारमा मुछिएपछि नैतिक संकटमा छन् । 

यहिबेला पार्टीभित्रैबाट उनलाई नेतृत्व छाड्न दबाब बढेको छ । रामकुमारी झाँक्रीदेखि झलनाथ खनालसमेतले माधवलाई पार्टी नेतृत्व छाड्न आग्रह गरेका छन् । तर नेपाल भने आफूविरुद्ध आवाज उठाएका नेताहरुलाई नै पार्टी छाड्न आग्रह गरेका छन् । माधवको अभिब्यक्तिले नेकपा एसभित्रको द्वन्द्व झनै पेचिलो बनेको छ । 

नेकपा एकीकृत समाजवादी आँफै संकटमा छ । एमालेसँगको पार्टी विभाजनपछि बनेको नेकपा एसले पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकेको भन्दै धेरैजसो नेता–कार्यकर्ता एमालेमै फर्किसकेका छन् । यस्तै, पार्टी अध्यक्ष माधव कुमार नेपाल भ्रष्टाचार आरोपमा मुछिएपछि पार्टीकै निर्वाचनमा पराजय भोगेकी प्रखर नेतृ रामकुमारी झाँक्रीसमेत नेतृत्वप्रति असन्तुष्ट बन्दा नेकपा एस थप संकटमा परेको हो । तर यस्तैमा कम्युनिष्ट आन्दोलनका पुराना र अनुभवी नेता वामदेव गौतमको नेकपा एस प्रवेशले पार्टी थप मजबुद हुने अपेक्षा गरिएको थियो । यद्यपि वामदेवको प्रवेशपछि पनि नेकपा एसमा नेताहरुको लय मिलेको छैन । 

नेकपा एसलाई आगामी निर्वाचनमा दुईतिहाइँको बहुमतमा पु¥याउने हुँकार नै दिएर साउन २ गते पार्टी प्रवेश गरेका बामदेवकै कारण पार्टीमा संगती मिलिरहेको छैन । 
बरु अहिले बामदेव स्वयम पार्टीको जिम्मेवारी बाँडफाटको किचलोमा फसेका छन् । उनी पार्टीमा उचित जिम्मेवारीको खोजीमा देखिएपनि नेतृत्वले अझैसम्म कुनै भूमिका दिएको छैन । अरु नेताकै जिम्मेवारी खोसेर उनलाई भूमिका दिएको अवस्थामा नेकपा एसमा अझै ठूलो भाँडभैलो मच्चिने खतरा छ । यसै कारण बामदेव अहिले नैरास्यता र छटपटीमा देखिएका छन् । 

यसैको उपजस्वरुप बामदेवले पार्टी एकताको एकसाता नपुग्दै उचित जिम्मेवारी नदिए नेकपा एसमा लामो समय बस्न नसकिने भनेर सार्वजनिक टिप्पणी गरेका थिए ।   

आखिर के चाहन्छन् बामदेव ? 

बामदेव गौतम नेकपा विभाजनको ४ वर्षपछि नेकपा एकीकृत समाजवादी प्रवेश गरेका हुन् । यसअघि उनको एमाले प्रवेश गर्ने प्रयास असफल भएको थियो । एमालेमा पनि पदको विवादले नै एकता सम्भव भएको थिएन । उनले नेकपा एकीकृत समाजवादी प्रवेश गर्नुअघि नै संगठन विभाग प्रमुखको जिम्मेवारीमै लविङ गरेका थिए । र, उनको यो अडान अझै कायमै छ । 

पार्टी प्रवेश गर्दा अध्यक्ष माधव नेपाल र सम्मानीत नेता झलनाथ खनालपछिको वरियता लिने समझदारी गरेपनि बामदेवले संगठन विभाग प्रमुखको जिम्मेवारी प्राप्त गर्ने अपेक्षा राखेका थिए । यद्यपि पार्टी नेतृत्व अझैसम्म उनलाई उक्त जिम्मेवारी दिन मञ्जुर हुने अवस्थामा देखिँदैन । 

बामदेवले संगठन विभाग प्रमुख लिनका लागि अध्यक्ष माधव नेपालदेखि महासचिवसमेत रहेका संगठन विभाग प्रमुख बेदुराम भूसालसँग समेत भेटेरै छलफल गरेको खुलेको छ । तर माधव र बेदुराम दुवै बामदेवलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिन तयार भएका छैनन् । 

झलनाथको बेग्लै पारा !

झलनाथ खनाल नेकपा एसभित्र दोस्रो तहका नेता भएपनि पार्टीमा उनले खासै सक्रिय गतिविधि देखाइरहका छैनन् । बरु उनी नेकपा एमालेप्रति नै अझ मोह दर्शाइरहेका छन् । उनी केही दिनअघि बसेको समाजवादी मोर्चाको बैठकमा पनि सरिक भएनन् । जबकी भर्खरै पार्टी प्रवेश गरेका बामदेव गौतम उक्त कार्यक्रममा सरिक थिए । हुनतः झलनाथ पछिल्ला दिनहरुमा नेकपा एमाले विभाजनप्रति तीव्र पछुतो जनाइरहेका सुनिन्छन् । 

उनले यो विषयलाई पटक–पटक सार्वजनिक रुपमै अभिव्यक्ति दिइरहेका छन् । यसकारण पनि झलनाथ एमालेमै फर्किने चर्चा बढ्दो छ । यस्तैमा अध्यक्ष माधव नेपाले भने पार्टी निर्देशन नमान्ने भए पार्टी छाडेर जान निर्देशन दिएका छन् । माधवले झलनाथलाई निर्देशन अटेर गर्ने सूचीको पहिलोमै रहेको भन्दै नोटिस भइरहेको समेत भनेका छन् । 

झलनाथले आम निर्वाचन अघि पनि पार्टी प्रवेश गरेर एमालेबाटै टिकट लिने प्रयास गरेका थिए । तर झलनाथको त्यो योजना सफल भएन । यद्यपि पछिल्ला दिनहरुमा झलनाथले फेरि एमालेप्रति नै मोह बढाइरहेका छन् भने पार्टी विभाजन गरेर नेकपा एस बनाएकामा पनि बारम्बार पछोतो व्यक्त गरिरहेका छन् । 

उनको यो चरित्रले पनि नयाँ रहस्य उजागर भइरहेका दावी गरिन्छ ।  यसरी नेकपा एस आँफै संकटमा गुज्रिरहँदा सृजित समस्यालाई हल गर्न अब नेताहरुले कस्तो कदम चाल्छन् ? र, नेकपा एसप्रति नै वितृष्णा बोकेर एमालेप्रतिको मोह बढाइरहेका झलनाथले पनि भावी राजनीति कसरी अघि बढाउँलान् ? यो प्रश्न र चिन्तको विषय बनेको छ । 

 

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update