News 24 Television
सहकारीमा डुबेको करोडौं रकम उठ्ने, वचतकर्ता खुशी

धनुषा । हुलाक वचत बैंकबाट अपचलन भएको रकम वचतकर्ताले फिर्ता पाउने भएका छन् । त्यहाँका कर्मचारी सुनिल दासले सयौँ वचतकर्ताको रकम अपचलन गरेका थिए । अब भने ७४६ जना वचतकर्ताले वचत रकम फिर्ता पाउने भएका छन् । 

हुलाक वचत बैंकका एक कर्मचारीले करोडौं रुपैयाँ अपचलन गरेर फरार भएपछि वचत डुब्यो भन्ने चिन्तामा रहेका वचतकर्ताहरुलाई अब राहत भएको छ । अब ७ सय ४६ वचतकर्ताले आफुले जम्मा गरेको रकम फिर्ता पाउने भएपछि उनीहरु खुशी भएका छन् । 

हुलाक बचत बैंक राष्ट्रिय वाणिज्य बैंकमा गाभिएको भन्ने सूचना गोप्य राखेर हुलाक कार्यालयका एक कर्मचारीले करोडौँ रुपैयाँ असुली गरि फरार भएपछि बचतकर्ताले बैंक गाभिएको बारे थाहा पाएका थिए । 

हुलाक कार्यालय मातहतमा संचालित हुलाक बचत बैंकका कर्मचारी सुनिल दास वचत रकमसहित अनियमितता गरी फरार भएपछि वचतकर्ताहरु चिन्तामा थिए । 

त्यसपछि हुलाक सेवा विभागको टोलीले पेश गरेको प्रतिवेदनलाई मुख्य आधार बनाइ निर्देशनालयद्वारा ७४६ जना बचतकर्ताको नियमानुसार दायित्व रकम एकिन गरि २०८१ माघ ४ मा माग दाबी तथा छुट नाम समावेशको लागि ३५ दिने सूचना प्रकाशित गरेको थियो  । 

हुलाक बचत बैंकको नाममा रहेका तीन वटा बैंकहरुमा रहेको मौज्दात रकम हिमालयन बैंकमा एकीकृत गरेको हुलाक निर्देशनालय कार्यालयले जनााएको छ । 

राष्ट्रिय वाणिज्य बैंकसंग भएको सम्झौता बमोजिम कुल दायित्व रकम १ करोड ४८ लाख ८४ अजार ४५१ रुपैयाँ ७६ पैसाबाट ऋण लगानीबाट उठ्न बाँकी रकम १८ लाख ८१ हजार २५० रुपैयाँ घटाई १ करोड ३० लाख ३ हजार २०१ रुपैयाँ ७६ पैसा सो बैंकमा पठाइसकेको छ । हुलाक निर्देशनालय धनुषाका प्रमुख जगदीश अर्यालका अनुसार अब बचतकर्ताले अनियमित भएको रकम फिर्ता पाउने छन् ।

विगतमा अनियमितता भएको हुलाक बचत बैंकको रकम फिर्ता पाउने जानकारी भएपछि बचतकर्ता खुशी छन् । । 

बचतकर्ताले जम्मा गरेका रकम फिर्ता हुने र सोको प्रक्रिया आफूहरुले अघि बढाइसकेको कार्यालय प्रमुख अर्यालको  भनाइ छ । यता लामो समयपछि प्रहरीले फरार रहेका सुनिल दासलाई पनि पक्राउ गरिसकेको छ । 

अर्यालले बचत बैंक राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण भइसकेकोले बचतकर्ताको रकम अब कुनै पनि हालतमा नडुब्ने समेत स्पष्ट पारे । विभागबाट टोलीले बचत बैंकको रकम हिनामिना सम्बन्धी प्रतिवेदन तयार गरी हुलाक सेवा विभागमा पेश गरेको समेत बताएका छन् ।  

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update