
बाग्लुङ । केही वर्ष अघिसम्म कमैको नजरमा परेको बागलुङको गल्कोटस्थित टेउवा, अहिले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । सन् २०७६ मा स्थापित खुला मूर्ति संग्रहालय र स्वच्छ वातावरणले यो ठाउँ पर्यटकीय गन्तव्यका रूपमा चम्किन थालेको छ । टेउवा पुग्ने पर्यटकले हटिया बजार, हरिचौरको गलकोट दरबार र नजिकै रहेको गाईघाट झरना समेत अवलोकन गर्न पाइने भएकाले पर्यटकको संख्या बढ्दै गएको छ ।
केही वर्ष अगाडिसम्म गुमनाम रहेको बागलुङ स्थित गल्कोट नगरपालिकामा रहेको टेउवा, अहिले पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । पछिल्लो समय यहाँ दैनिक पर्यटकको चहलपहल बढिरहेको छ ।
विसं २०७६ मा टेउवाको डाँडामा स्थापना गरिएका मूर्तिकलाले यस ठाउँको मुहार फेरिएको छ । एक हजार नौँ सय ८० मिटरको उचाइमा रहेको टेउवामा अन्तर्राष्ट्रिय मूर्तिकारहरूले शिलामा कुँदेर बनाएका आकर्षक मूर्ति हेर्न दैनिक आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । मूर्तिसँगै रमाइलो दृष्य अवलोकन गर्न पाइने भएकाले समय–समयमा यहाँ आउने गरेको बिन्दुकुमारी कार्की बताउँछिन् ।
गलकोट नगरपालिका–५ मा पर्ने टेउवा ऐतिहासिक गलकोट दरबारको शिरमा पर्छ । शान्त वातावरण, स्वच्छ हावापानी, यहाँ बनेका अनेक आकृतिका मूर्ति र यहाँबाट देखिने अनेकौँ दृश्यले आगन्तुकलाई लोभ्याउने गरेको छ ।
गलकोटदेखि नजिक हुँदा बागलुङ आउने पर्यटक यहाँ पुग्ने गरेका छन् । टेउवामा विसं २०७६ फागुन ५ देखि २१ सम्म अन्तर्राष्ट्रियस्तरका मूर्तिकार सम्मेलन गरी नेपालसहित भारत, चीन, जापानलगाएतका ११ देशका १५ जना मूर्तिकारले १५ वटा मूर्ति तयार गरेका थिए् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूर्तिकारले बनाएका यी मूर्ति खुल्ला सङ्ग्रहालयमा राखिएका छन् । मूर्तिकारले ढुङ्गामा जल, जङ्गल, जमिन, पहाड, बुद्ध, गणेश, डल्फिनलगायतका आकृति तयार गरेका छन् ।
टेउवा पुग्ने पर्यटकले हटिया बजार, हरिचौरको गलकोट दरबार र नजिकै रहेको गाईघाट झरनासमेत अवलोकन गर्न पाइने भएकाले पर्यटकको संख्या बढ्दै गएको गल्कोट नगरपालिकाले जनाएको छ । हाल मूर्तिको संरक्षणसँगै बाह्य पर्यटकलाई आकर्षण गर्न यहाँ पर्यटन पूर्वाधार निर्माण समेत थालिएको छ । पछिल्लो समय गल्कोट पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको र यसलाई अझ व्यवस्थित बनाउदै लैजाने योजना रहेको गलकोट नगरपालिका वडा नं. ५ का वडाध्यक्ष पवन हमाल बताउँछन् ।
मूर्तिकलाबाट परिचित बनेको टेउवा, अब पूर्वाधार निर्माणसँगै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने सम्भावना तर्फ अगाडी बढेको छ । ढुंगाको मूर्तिमा कुदिएको कला र प्रकृतिको संगम, टेउवा अब गल्कोटको पहिचान मात्र होइन, पर्यटकीय सम्भावनाको नयाँ आयाम बन्न थालेको छ ।