News 24 Television
जेलमा डरलाग्दो रक्तपात ! कैदीको कब्जामा जेल ! जेलर र सुरक्षाकर्मी आउट !

काठमाडौं । समयमा कैदीहरूको स्थानान्तरण नहुँदा कैलाली कारागार रणभूमि बनेको छ । सरुवा गरिएका कैदीहरुको उचित समयमै ठाउँ सारी नगर्दाको परिणाम अन्तत कारागार नै रणभूमि जस्तो बन्न पुगेको हो । 

कैलालीको जिल्ला कारागार नै रणभूमि जस्तो बन्दै गएको छ । तीन जना कैदीलाई सरुवा गरेकै ठाउँमा स्थानान्तरण गर्न केही ठिलो हुनुको परिणाम एक जनाको मृत्यु देखा परेको छ भने ४७ जना घाइते छन् । कारागार नै कैदीको कब्जामा राख्ने सम्मको अवस्था प्रशासनले व्यहोर्नु परेको छ । 

जेलभित्रै पनि गुण्डागर्दीदेखि मृत्यु प्रकरणसम्म

भूपेन्द्र बडूवाल हत्या प्रकरणका आरोपीहरूको कागजी सुरुवा गरेपनि स्थानान्तरण नभएपछि कारागारभित्र दुई समूहबीच झण्डप भएको हो ।  केही महिना यतादेखि अशान्ति र हिंसाको पर्याय बन्दै आएको जिल्ला कारागार कैलालीमा शुक्रबार राति फेरि रक्तपातमा परिणत भयो । केही महिना यता दुई समूहबीच चलिरहेको झडपको क्रम शुक्रबार राति हिंसात्मक हुँदा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय कैदी भरत चौधरीको ज्यान गएको छ । 

कारागारका नाइकेले हत्या आरोपी मदन शाही, कपिल श्रेष्ठ, निशान्त मल्लको सरुवा गर्न सुझाव दिँदा पनि उनीहरूको स्थानान्तरण हुन सकेको थिएन । गएराति कारागारमा कैदीबन्दीहरूबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। दुई समूहबीच भएको झडपमा घाइते भएका ४७ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। ‘ए’ ब्लक र ‘बी’ब्लकका कैदीहरूको समूहबीच झगडा भएको बताइएको छ ।  

कैदीको कब्जामा जेल ! जेलर र सुरक्षाकर्मी आउट !

कारागारमा तनाव भएपछि घटनाको विवरण बुझ्न गएका सुरक्षा निकायका प्रमुखहरूलाई शुक्रबार दिउँसो कैदीबन्दीले भित्र जानबाटै रोकेका थिए । भित्रबाट ताला लगाएर सुरक्षाकर्मीलाई बाहिर राखेका उनीहरुले अन्य कैदीलाई जोखिममा पार्ने चेतावनी दिएका थिए । त्यसपछि कारागार प्रशासनसम्म पुगेको टोली घटनास्थल निरीक्षक नगरी फर्कियो । यद्दपी, केही घण्टाको अन्तरालपछि बल्ल सुरक्षाकर्मीको नियन्त्रणमा कारागार आएको थियो । 

प्रहरीका अनुसार उनीहरु दिउँसो सिलिण्डर, रड राखेर ढोकामा उभिएका थिए । यस घटनाप्रति मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । कमजोर सुरक्षाव्यवस्थाको अवस्था क्रुटिपूर्ण रहेको आयोगको ठहर छ । यसैगरि, घटना छानविन गर्न ५ सदस्यीय छानविन समिति समेत गठन गरेको छ । 

डेढ सय क्षमता भएको कारागारमा सात सय जनाभन्दा बढी कैदी रहेका छन् । यस घटनाले प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल र जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक एसपी बालनरसिंह राणाको भूमिकामाथि प्रश्न उठाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक  राजकुमार सिंहले कदैबन्दीको व्यक्तीगत कारणले यस्तो अवस्था आएको र  झगडाको कारण भने अनुसन्धानबाट खुल्ने, अहिले केही भन्न नसकिने बताएका छन् । 

कारागारभित्र बारम्बार हिंसात्मक झडप हुँदा पनि प्रभावकारी कदम चाल्न नसक्दा उनीहरूको नेतृत्वमाथि असफलताको आरोप लागेको छ । गत असारमा सिडियो हमालले कारागार निरीक्षणका क्रममा ब्लक ‘ए’ मा मोबाइल फेला पारेपछि सात जना कैदीलाई ब्लक ‘बी’ मा सारिएको थियो । यिनै सरुवाले कैदीहरूबीच गहिरो मनमुटावको हुँदै गएको थियो । 

असार २८ गतेकै दिन विवाद हिंसात्मक बन्दै कारागारका नाइके खगेन्द्र बोगटी गम्भीर घाइते भएका थिए । बोगटीमाथि भूपेन्द्र बडुवाल हत्या प्रकरणमा थुनामा रहेका कैदी कपिल श्रेष्ठ नेतृत्वको समूहले आक्रमण गरेको आरोप लाग्यो। बोगटीले ‘जेलरको मान्छे’ भएको रवाफ देखाएको भन्दै श्रेष्ठ समूह आक्रोशित भएको भनाइ छ। त्यसबेलै कैदीहरूले जेलर बसन्त खत्रीविरुद्ध सिडियो र एसपीकै अगाडि “जेलभित्र मनोमानी बन्द गर” भन्दै नाराबाजी गरेका थिए। तर, प्रशासन र प्रहरीले घटनालाई सामान्य रुपमा लिए । 

विरोध र होहल्ला दिनदिनै भइरहे पनि ठोस कदम नचालिँदा कारागारभित्रको तनाव झन् बढ्दै गयो । यही बीचमा जिल्ला प्रशासन कार्यालयले विभिन्न कैदीबन्दीलाई फेरबदल गर्दै अर्को जिल्लासमेत सरुवा गरेको थियो । 

कुटपिटको एक महिना नपुग्दै फेरि रणमैदान

-    बोगटी कुटिएको एक महिना नपुग्दै बिहीबार साँझ फेरि झडप भयो, जसमा पाँचजना घाइते भए । 

-  बडुवाल हत्या अभियोगमा रहेका समूहले पुनः बिनाकारण हमला गरेको आरोप लाग्यो । 

-    फेरि त्यसको भोलिपल्ट शुक्रबार राति झडप अझ भयावह बन्यो, जसमा कैदी भरत चौधरीको मृत्यु भयो र ४७ जना घाइते भए । 
-   अस्पताल परिसर र कारागार वरिपरि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

-    यसैगरी, गत असार १ गते बैङ्किङ कसुर अभियोगमा पक्राउ परेका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय हरिश पालीको पनि कारागारमा शंकास्पद रुपमा मृत्यु भएको थियो । 

-   उनी असार २ गते राति कारागारको बाथरुम नजिक अचेत अवस्थामा फेला परेका थिए । 

-    तर, उपचारको क्रममा सेती प्रादेशिक अस्पताल उनको मृत्यु भएको प्रहरीले जनाएको थियो । 

-  उनको कुटपिटबाट हत्या गरेको आरोपमा प्रहरीका एकजना कर्मचारी नै पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । 

यो निरन्तरको हिंसाले जिल्ला कारागारको सुरक्षा र व्यवस्थापन प्रणालीमा गहिरो प्रश्नचिन्ह खडा गरेको छ । ‘सुरक्षा संवेदनशील स्थल’ मानिने कारागारमै कैदीहरू बारम्बार ज्यानै जाने लडाइँ भइरहेको छ । त्यसको रोकथाममा जिम्मेवार निकायको असफलता उजागर भएको छ । निरन्तर हुने झडप, गुटबन्दी, हत्या प्रयास र ज्यान जानेसम्मका घटनाले जिल्ला प्रशासन र प्रहरीको कारागार व्यवस्थापनमा असफलता स्पष्ट पारेको छ । 

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update