
कास्की । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा किलोका किलो सुन भित्रने गरेको त सुनेकै हो । जसका कारण राष्ट्रिय राजनीति समेत हल्लिने गर्छ । तर अब त विमानस्थलमा मात्र हैन देशका बिभिन्न शहरमा समेत ठुलो परिणाममा अवैध सुन फेला पर्न थालेको छ । यस्तैमा पोखरामा मजदुरको साथबाट कास्की प्रहरीले ६ किलोग्राम भन्दा बढि सुन बरामद गरेको छ ।
टेवलमा लहरै राखिएका सुन र सुनका गहना देख्दा तपाईंलाई लाग्न सक्छ कुनै सुन पसलको दृष्य हो यो । तर नझुक्कीनुहोस् यि सुन त अवैध सुन हो जसलाई कास्की प्रहरीले छापा मारेर नियन्त्रणमा लिएको हो । ६ किलो ४ सय ग्राम सुन सहित कास्की प्रहरीले अबैध सुनको कारोवार गर्ने ११ जनालाई पनि पक्राउ गरेको छ ।
शुक्रबार बेलुका सुनका गरगहना बनाउने विभिन्न स्थानमा छापा हानेर उनिहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । प्रहरीले उक्त अभियानलाई अपरेसन एल्लो मेटल नाम दिइएको थियो ।
पक्राउ पर्ने सबै भारतीय नागरीक रहेको कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए । उनीहरुको साथबाट प्रहरीले ६ दशमलब ४ केजी सुन बरामद गरेको छ भने शुक्रबारको बजार मुल्य अनुसार उक्त सुनको मुल्य १० करोड ९७ लाख हुने प्रहरीले जनाएको छ । यस्तै चाँदी ४ सय ४४ तोला ७३.९ लाल रहेको छ । चाँदीको बजार मूल्य १० लाख ४४ हजार ४ सय ६९ रुपैयाँ छ । भने उनीहरुको साथबाट ५ लाख १४ हजार ६ सय ६५ रुपैया पनि बरामद भएको कास्की प्रहरी प्रमुख ओलीयाले जानकारी दिए ।
पक्राउ परेकामध्ये भारत महाराष्ट्रका ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगतापको साथबाट ११ तोला २०.६ लाल सुन, २ सय ९६ तोला ३३ लाल चाँदी र नगद १ लाख ६० हजार ५ सय फेला परेको हो ।
कलकत्ताका ४५ वर्षीय मनिकलाल आदकबाट १३ तोला १७ लाल सुन र १० तोला ५५ लाल चाँदी बरामद गरिएको छ । भारतकै हुग्लीका ३५ वर्षीय सन्दीप ढावसँग ३ तोला ८ लाल सुन बरामद भयो ।
पश्चिम बंगालका ४१ वर्षीय सोमनाथ पालसँग १२ तोला १२.७ लाल सुन र ९ तोला ५९.४ लाल चाँदी बरामद भएको छ । भारतकै कलकत्ताका ४७ वर्षीय दीपक सामन्तसँग ३८ तोला ५ लाल सुन र ३० तोला ११ लाल चाँदी फेला परेको एसपी ओलियाले जानकारी दिए । भारतकै मेद्नापुरका ४७ वर्षीय गोविन्दा दिण्डाको साथबाट मात्र २ सय १० तोला ८९ लाल सुन भेटियो । उनीहरु वर्षौंदेखि पोखरामा सुनचाँदी कालिगढ र डिजाइनको काम गर्दै आएका थिए ।
काम कालिगढको भएपनि सुनचाँदीको मालि पनि उनीहरु नै रहेको प्रहरीको भनाई छ । अन्य व्यवसायीले सुनचाँदीको विल भरपाई दावी नगरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले शुक्रबार दिउँसो ४ बजेदेखि एकैसाथ मोहरिया टोल, तर्सापट्टी, भैरवटोल र चिप्लेढुंगाका विभिन्न पसल र गहना बनाउने स्थानमा काम गरिरहेको अवस्थामा भेटाएका हुन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कर्यालयका बरिष्ठ प्रहरी अधिकृत खानतलासीमा खटिएका थिए । गोप्य सूचनाको आधारमा ११ ठाँउमा प्रहरीले एकै पटक छापा हानेको थियो । उनिहरुलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइने कास्की प्रहरीले जनाएको छ । यो अभियानले पोखरामा लामो समयदेखि कालिगढको नाममा लुकीछिपी भइरहेको अवैध सुनचाँदी कारोबारको जालो तोडेको छ ।