News 24 Television
चियाको पातमा ‘लुपर क्याटरपिलर किरा’

झापा । झापाका विभिन्न चियाबगानहरूमा लुपर क्याटरपिलर नामक किराको प्रकोपले धेरै क्षति पु¥याएको छ । बोटका कोमल पातहरू नष्ट भएपछि चिया उत्पादनमा भारी गिरावट आएको छ, भने चिया उद्योगी तथा किसानहरू ठूलो आर्थिक संकटमा परेका छन् । झापाको चियाबगानमा अहिले लुपर क्याटरपिलर किराको आतंक फैलिएको छ । 

लुपर क्याटरपिलर किराले झापामा आतंक मच्चाएको छ । विशेषगरी झापाको हल्दिबारी, भद्रपुर, मेचीनगर लगायत क्षेत्रका सयौं बिघा चियाबगान प्रभावित भएका छन् । वर्षायाम हरियो चियापत्ती उत्पादन हुने मुख्य सिजन हो  । तर, चिया उत्पादन हुने मुख्य सिजनमै लुपर क्याटरपिलर किराले आधा चियाबगान सखाप पारिदिएको छ । किराले दुई साता नपुग्दै पूरै बगान तहसनहस बनाएको छ । 

समस्या जटिल बनिरहेको झापास्थित कालिका टि–स्टेटका म्यानेजर शिलाकान्त चौधरी बताउँछन् । उनले व्यवस्थापन हेर्दै आएको कालिकाको १२५ बिगाहा क्षेत्रफलमा हरियो चिया लगाइएको छ । २०४९ सालमा चिया खेती सञ्चालन गरेयता उत्पादन दिदैँ आएको यस बगानमा यसपटक चियापत्तिको मुख्य सिजनमा लुपर किराले ९० प्रतिशतभन्दा बढी चियापत्ती तहसनहस बनाएपछि अहिले फ्याट्री नै बन्द गर्नुपरेको उनी बताउँछन् । लुपर क्याटरपिलर खासगरी रातको समयमा सक्रिय हुने कीरा हो ।  

पात चपाउने काम राति गर्छ र दिनको समयमा माटोमुनि लुकेर बस्छ । यस किराको प्रकोप केही गर्दा पनि नियन्त्रणमा आउन सकिरहेको छैन ।  बिगत ५÷७ वर्षअघि पनि यस किराले चियाबगानमा सामान्य असर पुर्याउने गथ्र्यो । तर, त्यस समय सामान्य कीटनाशक विषादीले यो किरा मथ्र्यो । अहिले कडा खालको विषादीले समेत असर गर्न छाडेपछि हरियो पत्ति सखाप हुँदै गएको वैभव टि–स्टेटका प्रवन्धक ओमप्रकाश झा बताउँछन् । उनले आफ्नो १३५ बिगाह क्षेत्रफलमा रहेको चियाबगानमा समस्या आउँदा चिया उत्पादनमा ह्रास आएको बताएका छन् । 

झापामा १० हजार ५ सय हेक्टरमा चिया खेती विस्तारित छ । राष्ट्रिय चिया तथा कफि विकास बोर्ड प्रादेशिक कार्यालय झापाका अनुसार अहिले जिल्लामै ठुला तथा साना चियाबगानहरूमा लुपर क्याटरपिलरको प्रकोप रहेको जनाएको छ । 

बगानको आधाजसो चियाको बोट लुपर क्याटरपिलर किराले पूर्णरूपमा नष्ट गरिदिएको छ । यस किरालाई नियन्त्रण गर्न नँयानँया औषधिको खोजी भइरहेको राष्ट्रिय चिया तथा कफि विकास बोर्ड प्रादेशिक कार्यालयका चिया विज्ञ अनन्त ढुङ्गाना बताउँछन् । उनले समस्या ग्रस्त क्षेत्रमा नियमित अनुगमन गरेको बताउदै बगान सफा राख्नाले पनि यसलाई केही हदसम्म रोकथाम हुने उनको भनाइ छ ।   

लुपर क्याटरपिलर किराको नियन्त्रणमा ढिलाइ भए झापाको चिया उद्योग नै धरापमा पर्न सक्छ । यसले स्थानिय अर्थतन्त्रमा गम्भीर असर पार्ने देखिन्छ । त्यसैले सरकार, प्राविधिक निकाय र कृषकबीच तत्काल समन्वय आवश्यक देखिन्छ। यस्तो कीराको प्रकोपले कृषकको जीवनमात्र होइन, देशको कृषि अर्थतन्त्रमा पनि प्रश्नचिन्ह खडा गरेको छ । 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update