News 24 Television
कठिन यात्रापछि देवी शक्तिको केन्द्र बडीमालिका, मेलासँगै मनोरमता

बाजुरा । ‎बाजुराको त्रिवेणी नगरपालिकास्थित बडीमालिका नेपालकै महत्वपूर्ण धार्मिक आस्थाको केन्द्र हो । यहाँ धार्मिक पर्यटकको भीडमात्रै होइन, गहिरो आस्था र विश्वास रहेको पाइन्छ । बडीमालिका मन्दिरमा हरेक वर्ष साउने चतुदर्शीको दिन लाग्ने मेलामा मुलुकभरबाट दर्शनार्थी पुग्ने गरेका छन् ।  के हो बडीमालिका देवीको महिमा ? कठिन यात्रा पुरा गरेरै किन पुग्छन्, भक्तजन बडीमालिकासम्म ? 

यो हो बाजुराको त्रिवेणी नगरपालिकास्थित बडीमालिका मन्दिर । यो मन्दिर शक्तिशाली देवीको मन्दिर मानिन्छ । समुद्र सतहबाट ४२१६ मिटर उचाइमा श्रृङ्खलावद्ध पाटन क्षेत्रको टुप्पोमा रहेको बडीमालिका मन्दिर सुदूरपश्चिमेलीका लागि मात्रै होइन, देशभर साथै भारतका हिन्दु धर्मावलम्वीहरुका लागि समेत आस्था र विश्वासको केन्द्रका रुपमा रहेको छ । 

देवी शक्तिको उच्च अनुभुति र मनोकांक्षा पुराको विश्वास यस मन्दिरसँग सम्बन्धित कथन हो । बडीमालिका देवीको एक पटक मात्रै भएपनि दर्शनका लागि भन्दै कठिन यात्रा पुरा गरेर हप्तौं लगाएर यहाँ पुग्छन्, आस्थावानहरु  । 

बडीमालिका देवी मन्दिर : रमणीय वातावरण, आकर्षक प्राकृतिक रुप 

वडीमालिका मन्दिर क्षेत्रले पर्यटकीय विकासका तमाम सम्भावना बोकेको छ । बडीमालिका क्षेत्रको प्रमुख आकर्षणको रुपमा २२ वटा पाटन रहेका छन् । यिमध्ये निकै महत्वपूर्ण मानिन्छ, सोता पाटन । यो क्षेत्र बाजुरा जिल्ला सदरमुकाम मार्तडीको दक्षिण पूर्वतर्फ करिब ५ घण्टा उकालो पैदल यात्रापछि पुगिन्छ । वरीपरी डाँडाहरु र बिचमा एउटा खोला सोतिएर बग्ने भएकोले यसलाई सोता पाटन भनिएको हो । त्रिवेणी पुग्न आधा दिन र बडीमालिका मन्दिर पुग्न एक दिन लाग्ने यो पाटन प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । 

अग्ला डाँडाहरु,  मगमग बास्ना छर्ने धुपी सल्ला, औषधीय गुणयुक्त जडिबुटी, लौठसल्लालगायतका दर्जनौं बहुमूल्य जडिबुटीहरु र सप्तरंगी फूलहरुले ढकमक्क योे पाटन जो–सुकैको नजरमा अमीट छाप छोड्न सफल हुने गर्दछ । यी पाटनमा मुख्य जडिबटीहरु कटुको, बायाजडी, हत्तजडि, अतिस, पदमचाल, बुजो, मुस्ली, पाटनगर्दानु, भोटे चिरो, पाटनि फरुन आदि पाउने कुरा मार्तडी ४ का स्थानीयहरु बताउँछन् । यही क्षेत्रमा पर्ने नुनधुरा पाटनमा विगतमा नुन खानी रहेको तर अहिले संरक्षण नहुँदा नस्ट भएर गएको बताइन्छ । 

चार पाँच दिनको बाटो हिडेर बडीमालिका मन्दिर पुगेर बडिमालिका माताको दर्शन गर्दा मनले सोचेको पुरा हुने जनविश्वास छ ।  

‎त्यसो त जनप्रतिनिधि पनि कार्यालयबाट समेत सरकारी पूजा लिएर बडीमालिका जाने प्रचलन छ । ‎बडीमालिका मन्दिरमा दर्शन गर्न विशेषगरि सुदूरपश्चिम र कर्णाली जिल्लाका अधिकाश भक्तजनहरू आउने गर्छन् । बाडिमालिका धार्मिक तथा पर्यटकीय आस्थाको धरोहर रहेको  छ । नेपालभरका भक्तजनको आस्था बनिरहेको बडीमालिका पुग्नै कठिनाई यात्रा गर्नु पर्ने र प्रचारको अभावले केही ओझेलमा छ । यद्दपि, अलौकिक शक्तिका हिसाबले यस क्षेत्रलाई देवी शक्तिको प्रचुरता भएको क्षेत्रका रुपमा लिनेहरु धेरै नै छन् । 

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update