
कास्की । प्रकृतिको सफाईमा महत्वपूर्ण भूमिका खेल्ने गिद्धको संरक्षणमा उल्लेखनीय सफलता हात परेको छ । कास्कीको तल्लो घाचोकमा खोलिएको ‘जटायु रेस्टुरेन्ट’ मार्फत गिद्धका लागि सुरक्षित आहार र बासस्थानको व्यवस्था गरिँदा संकटमा परेका गिद्धको संख्या बढ्दै गएको छ । गिद्धको संरक्षणसँगै पर्यावरणीय पर्यटन पनि फस्टाउन थालेको छ ।
प्रकृतिको कुचीकारका रूपमा चिनिने गिद्धको सङ्ख्या वृद्धिलाई गिद्धको संरक्षणमा निकै ठुलो उपलब्धि मानिएको छ । वातावरणलाई स्वच्छ राखेर महामारी फैलनबाट रोक्ने गिद्ध हाम्रो पर्यावरणका लागि उपयोगी पन्छी हो । पछिल्लो समय यसको संरक्षणका लागि भएका प्रयासहरु सार्थक हुँदै गएका छन् ।
यसको उत्कृष्ट उदाहरण बनेको छ, जटायु रेस्टुरेन्ट । कास्कीमा डेढ दशकअघि खोलिएको जटायु रेस्टुरेन्टले गिद्धको संरक्षणका लागि गौरक्षा केन्द्र नै राखेको छ । जहाँ दूध दिन छाडेका र बिरामी गाई–भैँसी ल्याएर राखिन्छ र कालगतिले मरेपछि तिनै पशुलाई गिद्धको आहारा बनाइन्छ । आहाराको व्यवस्था भएपछि यहाँ गिद्ध मात्र थपिएका छैनन्, पर्यापर्यटन पनि बढेको छ ।
कास्कीमा गिद्ध लोप हुने अवस्थामा पुगेपछि कास्कीको माछापुच्छ्रे गाउँपालिका ३ तल्लो घाचोकस्थित सेती नदी किनारमा १५ वर्षअघि सन् २०१० मा गिद्ध संरक्षण गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको थियो । जटायु रेस्टुरेन्ट स्थापना गरेपछि मुस्किलले देखिने गिद्ध बढ्दै गएका छन् । जलवायु परिवर्तन, बासस्थानको समस्या, आहारा अभाव विशेषगरि, घरपालुवा बिरामी जनावर निको पार्न प्रयोग गरिने डाइक्लोफेनिक नामक औषधिका कारण यो पन्छी संकटापन्न अवस्थामा पुगेपछि संघको पहलमा यहाँ जटायु रेस्टुरेन्ट स्थापना गरी संरक्षण थालिएको हो ।
यस क्षेत्रमा गिद्धका लागि रेस्टुरेन्ट खुलेपछि कहिलेकाँही मात्र देखिने गिद्ध पनि नियमित आउन थालेको केन्द्रले जनाएको छ । अहिले रेस्टुरेन्ट भित्रै गौरक्षा केन्द्र छ । नेपालमा पाइने ९ प्रकारका गिद्धमध्ये घाचोकमा अहिले सङ्कटापन्न अवस्थामा पुगेका सानो, खैरो, डंगर, सुन गिद्ध र आगन्तुकमा राज, सेतो, लामो ठुडे गरी सात प्रकारका २ सय १० गिद्ध रहेको केन्द्रका कर्मचारी जीवन गुरुङ बताउँछन् ।
गौरक्षा केन्द्रमा मरेका वा दूध दिन छाडेका पशु ल्याएर राखिन्छ । हेरचाहका लागि नेपाल पन्छी संरक्षण संघले एक कर्मचारीको व्यवस्था गरिदिएको छ । केन्द्रमा भएका पशु कालगतिले मरेपछि गिद्धको आहार बन्ने गर्दछन् । जटायु रेस्टुरेन्टले पर्यापर्यटन पनि बढेको छ । यहाँ देश–विदेशबाट अध्ययन अवलोकनका लागि पर्यटक आउने गर्छन ।