
रुपन्देही । रुपन्देहीको भैरहवामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण शुरु भएको छ । लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा शुक्रबारदेखि दुई दिवसीय प्रशिक्षण भएको हो । प्रशिक्षण शनिबारसम्म चल्नेछ ।
भैरहवामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सुरु भएको छ । पार्टीको संगठनलाई पालिकास्तरसम्म पुर्याउने लक्ष्यसहित प्रशिक्षण सुरु भएको जनाइएको छ । नयाँ पार्टी भएकाले कतिपय पालिकामा अझै समिति बन्न नसकेकाले प्रशिक्षणमा संगठन निर्माणलाई पनि प्राथमिकता दिने बताइएको छ ।
प्रशिक्षणमा लुम्बिनी प्रदेश समिति, जिल्ला, निर्वाचन क्षेत्र र पालिकाका पदाधिकारी गरी २ सय ५० जनाको सहभागिता छ । प्रशिक्षण सुरुवातका क्रममा रुपन्देही–३, को उपनिर्वाचनका लागि उम्मेदवारको प्रारम्भिक सूचीमा रहेका ९ जनालाई परिचित समेत गराइएको छ । पार्टीका तल्ला कमिटीहरु प्रशिक्षित भएमा नीति, कार्यक्रम जनतासम्म सहजै लैजान सकिने विश्वास रास्वपाको छ । पार्टी स्थापना भएको तीन वर्षको अवधिमा सदस्य वृद्धि हुँदै गएकाले पार्टीका आधिकारिक दस्तावेज, नीति तथा कार्यक्रमका साथै केन्द्रका परिकल्पना पार्टीका तल्ला तहसम्म पुर्याउने उद्देश्य समेत राखिएको छ ।
रास्वपाको प्रदेशस्तरीय यो प्रशिक्षण शनिबारसम्म चल्ने छ । पहिलो दिन शुक्रबार पार्टीले परिकल्पना गरेको सुशासनदेखि सेवा प्रवाह लगाएतका विषयमा प्रशिक्षण दिइएको थियो । साथै रुपन्देही ३ को उपनिर्वाचन लक्षित गरि उम्मेदवारका लागि निर्वाचन पहिलेको पूर्वतयारीबारे प्रशिक्षण दिइएको थियो । शनिबार पार्टीका उच्च पदस्थहरुले पार्टीको राजनीतिक, आर्थिकदेखि समग्रपक्ष समेटेर प्रशिक्षण दिने बताइएको छ ।