News 24 Television
मोदीका ‘दूत’ मिश्री शीर्ष नेताका घर–घरमा ! भारतको इसारा कसलाई के ? 

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणा दिन नेपाल आएका भारतीय विदेशसचिव विक्रम मिश्रीले राजनीतिक भेटघाट तीव्र पारेका छन् । मिश्रीले नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, कांग्रेस सभापतिदेखि शीर्ष राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका छन्, भने उनी सोमबार फर्किनेछन् । के भारतको यस निमन्त्रणाले दुई देशको सम्बन्धलाई नयाँ आयाममा लैजान सहयोग गर्न सक्ला त ? 

प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गर्दैछन् । भारतको औपचारिक भ्रमणको निम्तो नै पाएका ओलीको भ्रमण दुई दिनको हुनेछ । भ्रमण भने यस अघिका प्रधानमन्त्रीले प्राय जाने ठाउँ भारतको राजधानी नयाँ दिल्लीमा नभई भारतको बोधगयामा हुनेछ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा लिएर काठमाडौंमा आएका भारतीय विदेश सचिव बिक्रम मिश्रीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि उच्च राजनीतिक भेटमा देखाएको सक्रियताले समेत दुई देशबीचको सम्बन्धका आयामबारे विभिन्न अड्कल गरिएका छन् । मोदीको निमन्त्रणा लिएर आएका मिश्री सोमबार भारत फर्किनेछन् । आइतबार उनले विभिन्न राजनीतिक दलका नेता र राष्ट्रपति रामचन्द्र पौडेललाई समेत भेटेका छन् । भारतीय सेनाको विशेष विमानमार्फत काठमाडौं ओर्लिएका मिश्रीले नेपालमा क–कसलाई भेटे त ?

१. राष्ट्रपति रामचन्द्र पौडेल

राष्ट्रपति रामचन्द्र पौडेललाई मिश्रीले राष्ट्रपति निवास सितल निवासमै पुगेर भेटेका छन् । राष्ट्रपति पौडेलसँगको भेटमा मिश्रीले भारतकोतर्फबाट केहि सन्देश सुनाएको र दुई देशको सम्बन्धको बारेमा चर्चा गरेको बताइएको छ । 

२. प्रधानमन्त्री केपी ओली

प्रधानमन्त्री केपी ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गरेका मिश्रीले सिंहदरबारमा ओलीलाई भेटेका हुन् । भेटमा अन्य सरकारी अधिकारी समेत सहभागी थिए । 

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आईतबार काठमाडौं आएका मिश्रीले ओलीसँग शिष्टाचार भेट गरेका हुन् । मोदीको सन्देश लिएर आएका मिश्रीले प्रधानमन्त्री ओलीलाई निमन्त्रणा पत्र समेत हस्तान्तरण गरेका छन् । ओली यहि भदौ ३१ गते भारत भ्रमणमा जाने तयारीमा छन् ।

३. शेरबहादुर देउवा

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत भारतीय विदेश सचिव विक्रम मिश्रीले बुढानिलकण्ठमै पुगेर भेटेका छन् । देउवा–ओलीपछिको वेटिङ प्रधानमन्त्री समेत हुन् । देउवासँग मिश्रीको भेटलाई अर्थपूर्ण मानिएको छ । 

४. पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डलाई समेत भारतीय विदेश सचिव बिक्रम मिश्रीले भेटेका छन् । मिश्रीले मुख्य दलका शीर्ष नेतालाई सहजै भेटेका हुन् । उसोतः प्रचण्ड भारत भ्रमणमा गएको बेला गेरुवस्त्र धारणदेखि पुजापाठमा समेत सहभागी भएर मोदीसँगको सम्बन्धबारे प्रष्ट पारिसकेका छन् । मोदीसँग निकट रहेका प्रचण्डसंग विदेश सविचको भेटलाई कुटनीतिक क्षेत्रमा समेत अर्थपूर्ण मानिएको छ । 

मिश्रीले नेपाल भ्रमणको क्रममा शीर्ष नेताहरुलाई भेटेका छन् । सहजै उपलब्ध हुने नेताहरुले के कसरी छलफल गरे भन्ने विस्तृत सार्वजनिक नभएपनि यसको दुरगामी प्रभाव भने पर्ने चर्चा चलिरहेको छ। 

ओलीको यात्रा सेनाको विमानबाट

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण नेपाली सेनाको विशेष विमानमार्फत हुने चर्चा चलिरहेको छ । यसअघि हिमालय एयरलाइन्सलाई नै रोज्ने गरेका प्रधानमन्त्री ओलीले सेनाको विमानमा भारत जाने योजना बनाएका हुन् । नेपाल एयरलाइन्सलाई सकेसम्म नरोज्ने गरेका ओलीले सेनाको विमानमा भारत भ्रमणमा जानु र बुद्धले ज्ञान प्राप्त गरेको स्थानमा ओली–मोदी भेट हुनुलाई यो पटकको भ्रमणलाई थप चासोका साथ हेरिएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update