
कास्की । पोखरा अन्तराष्ट्रिय विमानस्थलबारे संसदिय समितिको प्रतिवेदन प्राविधिक अध्ययन नै नगरी तयार पारिएको नागरिक उड्यन प्राधिकरणले जनाएको छ । मंगलवार पोखरा अन्तराष्ट्रीय विमानस्थलको प्रगती विवरण सार्वजनीक गर्दै प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले संसदिय समितिको प्रतिवेदन तर्क संगत नभएको जिकिर गरे ।
५ दशक लामो पोखरेली जनताको सपना पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण भएको पनि ३ वर्ष पुग्न लाग्यो । आन्तरीक उडानमा फड्को मारेर प्रयाप्त आम्दानि गरे पनि अन्तराष्ट्रिय उडान नहुँदा पोखरेलीले सोचे जस्तो पर्यटनमा कायापलट भने भएको छैन । यता विमानस्थल निर्माणमा अनियमितता भएको भन्ने हल्लाले पोखरेलीलाई अर्को पिडा दिएको छ ।
यस्तैमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्रममा भ्रष्ट्राचार भएको भनिएको संसदिय समितिको प्रतिबेदन प्रती नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले आपत्ति जनाएका छन् । मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै महानिर्देशक अधिकारीले सङ्घीय संसद्को सार्वजनिक लेखा उप–समितिको प्रतिवेदनले भ्रष्ट्राचार भएको देखाएको विषयमा गम्भिर आपत्ति जनाए ।
उप–समितिले स्थलगत अध्ययनको आधारमा विमानस्थल निर्माण प्रक्रियामा भ्रष्टाचार देखिएको भन्दै त्यसको गहिरो अनुसन्धान गर्न सिफारिस गरेको थियो । प्रतिवेदनमा आर्थिक अनियमितताका लागि प्रशासकीय र राजनीतिक तहका व्यक्तिहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाइनुपर्ने, कर छुट, परामर्शदाता खर्च, उपकरण खरिद जस्ता विषयमा अख्तियार र लेखा समिति मार्फत विशेष छानबिनको आवश्यकता रहेको उल्लेख गरेको थियो । तर त्यो प्रतिवेदन प्रयाप्त प्राविधिक अध्ययन बिना नै तयार पारिएको भन्दै महानिर्देक अधिकारीले प्रतिबेदन कुनै तर्क संगत नभएको दाबी गरे ।
संसदिय प्रतिवेदनमा भनिएका हरेक कुरा र आरोपको छानविन गरेर अनियमितताबारे प्रमाण पेश गर्न समेत महानिर्देशक अधिकारीले सम्वन्धित सबैलाई चुनौती दिदै नेपालमा पहिलो पटक सरकारको खाताबाट सिधै अधिग्रहण बापतको रकम जग्गा धनिको खातामा जाँदा कसरी अनियमितता हुन्छ भनेर प्रतिप्रश्न गरे ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट नियमित अन्तराष्ट्रिय उडानका लागि सरकार हदै सम्मको लचिलो भएको र त्यसको नतिजा छिट्टै आउने उनको भनाई थियो ।
अहिले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट छिटपुट अन्तराष्ट्रिय उडान भएपनि आन्तरीक उडानमा भने निक्कै प्रगती गरेको छ । वार्षीक १० लाख यात्रुको क्षमता भएपनि वार्षिक करिव १२ लाख यात्रु आन्तरीक उडानबाटै यात्रा गरेका छन् । पुरानो विमान स्थल भन्दा यो विमान स्थलले तेव्वर आम्दानी गरेको विमानस्थलले जनाएको छ । पहिलेको भन्दा धेरै सुविधा पोखरेली जनताले पाएपनि अन्तराष्ट्रीय उडान नियमीत नहुँदा यसले यहाँका जनतालाई खल्लो बनाइरहेको छ ।