News 24 Television
अदालतको फैसलाप्रति प्रधानमन्त्रीकै असन्तुष्टि ? 

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अदालतदेखि अन्य दलमाथि निर्मम टिप्पणी गर्ने गरेका छन् । प्रधानमन्त्री ओलीले आफूलाई अदालतले बर्खास्त गरेको विषयमा आक्रोश पोख्ने गरेका छन् भने नेपाली राजनीतिमा यस्ता टिप्पणीहरु अहिलेसम्म सामान्य बनिरहेका छन् । राजनीतिक रुपमा हुने यस्ता टिप्पणीले के मुलुकको राजनीतिमा गम्भीर प्रभाव पार्ला ? 

अघिल्लो पटक प्रधानमन्त्री हुँदा केपी ओलीले दुई–दुई पटक संसद विघटन गरेका थिए । ओलीले गरेको संसद विघटन अदालतले बदर मात्रै गरिदिएन, कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा परमादेश नै जारी ग¥यो । जसका कारण ओली सत्ताबाट किनाराकृत भए र, देउवा प्रधानमन्त्री बनेका थिए ।

ओली–देउवाबीच त्यो बेला घोषपेचमात्रै चलेन, ओलीले प्रचण्डदेखि माधव नेपाल लगायतका नेताहरुमाथि अनेकथरी आरोप लगाए । आक्रोश पोखे । यताबाट माधव–प्रचण्डले पनि अनेक  टिप्पणी गरे । समयक्रमसंगै कांग्रेस–माओवादीसहितको सत्ता गठगन्धनबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनाइएका थिए । 

प्रचण्ड प्रधानमन्त्री बनेपछि कांग्रेस एमालेसँगको सत्ता सहकार्य चल्दै गर्दा ओलीले प्रचण्डको हातबाट सत्ता फुत्काएर आफू पुनः प्रधानमन्त्री बने । प्रधानमन्त्री बनेपछि संसदको रोष्टमदेखि अन्य सार्वजनिक कार्यक्रममा समेत उनले भन्ने गरेका छन्, तपाईहरु सबै मिलेर जहाँबाट मलाई फालेको हो, अहिले त्यहि स्थानमा छु ।

ओलीले यस्तो भन्नुको अर्थ सत्ता साझेदार दल कांग्रेस सभापति देउवालाई पनि हो । तर, अहिले समय फेरिएको छ । ओली–देउवाको सहकार्य पनि ठिकठाक चलिरहेको छ । तर, अदालतप्रतिको आक्रोश पोख्न भने ओलीले अहिले पनि छाडेका छैनन् । आफूलाई प्रधानमन्त्रीबाट बर्खास्त गर्ने अदालतको परमादेशलाई ओलीले अवैध भनिरहेका छन् । प्रधानमन्त्री नियुक्तिदेखि हटाउने काममा संसदले नै काम गर्नुपर्नेमा ओलीको जोड देखिन्छ । 

सत्ता सहकार्यमा हुने यस्ता आदानप्रदानका घटनाले राजनीतिक मोडमा समेत नयाँपना दिन थालेका छन् । एमालेसंगको सत्ता सहकार्यले अप्ठ्यारोमा परिरहेको कांग्रेस पनि संविधान देखाउदै सहकार्यलाई पुष्टी गर्ने आधार तयार गर्न चाहन्छ । 

सत्ता सहकार्यको न्यूनतम अभ्यासको थालनी नभएपनि सत्ता र प्रतिपक्षी दलबीचका अवैध र अराजनीतिक लेनदेन भने चलिरहेका छन् । यस्तोमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्री ओलीप्रति अनेकन टिप्पणी गर्दै आएका छन् ।  

प्रधानमन्त्रीको हावादारी गफका कारण देश बर्बादीमा गएको प्रचण्डले आरोप लगाएका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी अर्कै छ । देउवाले ठूला दलका कारण समस्या भएको भन्दै गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै आक्रोश पोखिरहेका छन् ।

ठूला दलका नेताहरुले सत्ता राजनीतिलाई आफू अनुकुल उपयोग वा दुरुपयोग गर्ने गरेको देखिन्छ । सत्तामा जाने र प्रतिपक्षमा रहने विषयमा समेत उनीहरुले आफू अनुकुलका ब्याख्या गर्ने र यसलाई राजनीतिक एजेण्डा बनाउने गरेका प्रशस्त उदाहरणहरु छन् । उसोतः साना दलहरुको समेत आफ्नो खास अस्तित्व स्थापित हुन नसक्ने र सत्तारुढ ठूला दलहरुले उपयोग गर्न अनेक हत्कण्डा अपनाउने गर्नाले समेत दलीय आचरण, शैली र आदर्शमा प्रश्न उठिरहेका छन् । 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update