News 24 Television
जनताभन्दा ठूलो कोही छैन, जनताको सेवा गरौँ : सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनता भन्दा ठूलो कोही नरहेको बताएका छन् । 

बुधवार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले आफू त्यत्तिकै प्रधानमन्त्री नभएको भन्दै जनताले जिताएर पठाएको र सांसदहरुले सहयोग गरेकाले नै प्रधानमन्त्री भएको बताए । उनले आफू अहिलेसम्म प्रत्यक्ष निर्वाचनमात्रै लडेको र सबै निर्वाचन जितेको दाबी गरे ।

देउवाले भने, ‘यहाँ धेरै साथीहरुले कुरा उठाउनुभएको छ । आफ्नै विषयमा उठाएको कुरालाई मैले के भन्ने । कति प्रधानमन्त्री भइरहने भन्नुभयो । म कहाँ भएको छु, जनताले भोट हाल्छन् त के गर्ने मैले ? पार्टीका सांसदहरुले सहयोग गरे, सबै पार्टीहरुले सहयोग गरेर प्रधानमन्त्री भएको हो । त्यसकारण एउटा सौभाग्यशाली व्यक्ति पनि हो । अहिलेसम्म म प्रत्यक्ष निर्वाचन लडेको हो । सौभाग्यले कहिले पनि हारेको छैन । धेरै पार्टीका नेताहरु मेरो खिलाफमा लाग्नुभयो, मेरो विरुद्धमा डडेलधुराबाट तर म त हार्छु भनेको थिएँ, तै पनि जितिछु । जनता सबैभन्दा ठूलो कुरा हो । जनतालाई त्यही कारण सार्वभौम सम्पन्न भनेका छौँ । जनता देशको मालिक हो । जनता भन्दा ठूलो कोही छैन । सबै साथीहरुले जनताको सेवा गरौँ ।’

सभापति देउवाले आफ्नो अब धेरै उमेर नरहेकाले कसैले चिन्ता नगर्न आग्रह समेत गरे । 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update