
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले राजनीति गर्न छोड्दा गर्ल्यामगुर्लम्मै हुन्छ जस्तो लाग्ने गरेको बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले साहित्यमा लाग्नबाट आफूलाई दिनदिनैको राजनीतिको चटारोले समय नमिलेको समेत जिकिर गरे । देशको राजनीतिको खाँबो आफैँले धानेको जस्तो लाग्ने गरेको पनि उनले बताए । आफूले राजनीतिक खाँबो छोडिदिएपछि सबै भत्किहाल्छ कि जस्तो हुने गरेको उनकाे जिकिर छ ।
अध्यक्ष प्रचण्डले भने, ‘साहित्यमा लाग्न यो दिनदिनैको राजनीतिको चटारोले मलाई समय नै निक्लिदैन । मलाई खेद छ, दुःख छ । मैले यो क्षेत्रमा समय दिन नपाएकोमा । देशको राजनीति अहिले पनि हुनतः म सरकारको नेतृत्वमा पनि छैन । प्रमुख प्रतिपक्ष दलको नेता छु । तर यस्तो लाग्छः देशको राजनीतिको खाँबो मैले छोडिदिएँ भने भत्किहाल्छ की जस्तो लाग्छ । गल्र्यामगुर्लुम्म ढलिहाल्छ की जस्तो लाग्छ । पूरै जिम्मा मेरै काँधमा भएको जस्तो । हुनतः कहिले कहीँ सोच्छु जीवन त यस्तो हुँदैन । मान्छे भएपछि निश्चित अवधिसम्म गर्ने हो त्यसपछि प्रकृतिको नियमअनुसार शाश्वत कुरा त मरिन्छ, गाडी अर्कोले लैजान्छ । जिम्मेवारीवोध भनेको यस्तो हुँदो रहेछ की अन्तिम अवस्था नहुन्जेलसम्म जिम्मेवारीले थिचिरहने ।’
उनले आफू साहित्यप्रति धेरै रुचि राख्ने व्यक्ति भएको पनि बताए ।