News 24 Television
प्रचण्ड नरम हुँदा रास्वपाप्रति वर्षमान देखिए उग्र

काठमाडौँ । विगतमा केही महिना सत्ता सहकार्य गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कारागारमा रहेका पूर्व गृहमन्त्री एव रास्वपा सभापति रवि लामिछानेप्रति सहानुभूति दर्शाएका छन् । बुधबार नख्खु कारागार पुगेर प्रचण्डले र रविको अवस्थाबारे जानकारी लिए । जसमा रवि निकै दुब्लाएको भन्दै उनले सहानुभूति दर्शाए । यद्यपि रुपन्देही कारागारको भन्दा नख्खुमा धेरै राम्रो सेवासुविधा रविलाई दिइएको भन्दै कारागार प्रशासनको प्रशंसा समेत गरे । अध्यक्ष दाहालले रविमाथि काँग्रेस र एमालेले गरेको व्यवहारबाट देशभर रास्वपालाई फाइदा भएको रुपमा बुझेको पनि बताए । सो क्रममा प्रचण्डले रास्वपाको कोटाबाट विगतमा आफैले उपसभामुख बनाएका इन्दिरा रानाप्रति पनि सहानुभूति देखाए । इन्दिरालाई हटाएर काँग्रेस–एमालेको सत्ता गठबन्धन संवैधानिक निकाय कब्जा गर्ने डिजाइनमा लागेको प्रचण्डको आरोप छ ।

सरकारले उपसभामुखमाथि झम्टिने काम गरेको भन्दै प्रचण्डले यसको विरोधमा लाग्न विपक्षी दलहरुलाई आग्रह गर्दै आएका छन् । केही दिनअघि उपसमामुख अमेरिका गएको मौकामा उनलाई हटाउन भनी सत्तारुढ एमाले–काँग्रेसले दुई तिहाइ पुर्याउन भन्दै सांसदहरुको हस्ताक्षर संकलन गरे । तर विपक्षी नेता प्रचण्डले रास्वपा लगायत दलको भेला बोलाएर उपसभामुख हटाउने कदमको सशक्त विरोध गर्ने निर्णय गराए । प्रचण्डले पहिलादेखि नै सत्तारुढ दलहरु उपसभामुखलाई हटाउने प्रयासमा रहेको र अहिले त हस्ताक्षर नै संकलन गरेर गलत बाटोमा लागेको आरोप लगाए । आदिवासी, जनजाति महिला सामाजिक सेवा गर्ने, बालबच्चाको हेरचाह गर्ने, अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त महिलालाई उपसभामुखबाट हटाउने कसरत गलत भएको उनको भनाइ थियो । 

प्रचण्डले रास्वपा र रविको बचाउ गरिरहँदा उनकै विश्वासपात्र एवं पार्टी उपमहासचिव वर्षमान पुनले रास्वपाप्रति उग्र टिप्पणी गरेका छन् । रास्वपालाई लक्षित गर्दै बुधबार उनले कुनै विचार र लक्ष्य नभएको पार्टी भन्दै आलोचना गरे । कुनै विचार, राजनीति सिद्धान्त, कुनै लक्ष्य, त्याग, बलिदान र जेलनेल नभएका नेताहरुको पार्टीको उनले रास्वपालाई चित्रण गरे । उनले त्यस्ता राजनीतिक दलहरुले आज १० वर्ष जनयुद्ध लडेको माओवादी र लामो इतिहास बोकेका नेपाली काँगे्रेस तथा नेकपा एमालेमाथि थ्रेट दिइरहेको समेत आरोप लगाए । यो गणतन्त्र र लोकतन्त्रमाथिकै प्रश्न भएको उनको जिकिर छ  ।

पूर्व गृहमन्त्री, निर्वाचित जनप्रतिनिधि तथा २१ सिटको दलको नेता समेत रहेका रविलाई सरकारले खुंखार अपराधीजस्तो व्यवहार गरेको भन्दै सर्वत्र आलोचना भएपछि सरकारले रुपन्देहीबाट नख्खु कारागार स्थानान्तरण ग¥यो । मानव अधिकार आयोगको समेत निर्देशनमा गत शुक्रवार कारागार विभागले लामिछानेलाई कारागार सरुवाको निर्णय गरेको थियो । शनिवार नै उनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लगिएको हो । उपत्यकाभित्रै रहेपछि अहिले रविलाई भेट्न पुग्ने नेता–कार्यकर्ताहरुको उपस्थिति बाक्लिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update