
काठमाडौं । मदन भण्डारीको ७४ औं जन्मजन्यतीको अवसरमा असार १४ गते पूर्व राष्ट्रपति विद्या भण्डारीले औपचारिक रुपमै आफू एमालेमा सक्रिय राजनीतिको पुनरागमनको घोषणा गरेकी हुन् । तर विद्याको यो घोषणा कामयावी हुन सकेन । अर्थात एमालेले विद्याको पार्टी सदस्यता रोकेर पूर्व राष्ट्रपतिको भूमिका बाहेक अन्य भूमिका देख्नै चाहेको छैन ।
तर पनि उनी थाकेकी छैनन् । ४५ वर्षदेखिको पार्टी सदस्यता कसैले खोस्न नसक्ने दाबी गर्दै आएकी विद्याले राजनीतिक सक्रियताका लागि सम्पर्क कार्यालय नै स्थापना गरेकी छन् ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वर्ष अगाडि नै नेकपा एमालेको पार्टी सदस्यता नवीकरण गरेकी हुन् । तर उनले गत असार १४ गते आफूले पार्टी सदस्यता नवीकरण गरिसकेको र पार्टीमा सक्रिय हुने भनी औपचारिक घोषणा गरिन् ।
योसँगसँगै उनले आफूलाई भावी नेतृत्वको दाबेदार हुन सक्ने अभिब्यक्ति सार्वजनिक गरिन् । जसले उमेरहदको मुद्दालाई समेत छेडखानी गरेर अघि बढेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झस्काइदियो । लगत्तै उनले पार्टीको केन्द्रीय समिति बैठकबाटै विद्यालाई पार्टीमा गतिविधि गर्नका लागि ब्यारियर खडा गरिदिए । तर उनले आफू एमालेमै रहेको र आफ्नो सदस्यता कसैले खोस्न नसक्ने दाबी गर्न छाडिनन् ।
तत्कालिन अवस्थामा माधव नेपालको चेपुवामा परेकाबेला ओलीले प्रयोग गरेको ‘मदन भण्डारी फाउण्डेन’को मञ्च विद्याले प्रयोग गरिरहेकी छन् । ओली भने यो फाउण्डेशनलाई नै निषेध गर्ने गरी ‘मदन–आश्रित स्मृति प्रतिष्ठान’ लाई सक्रिय बनाएका छन् । तर विद्या भण्डारी भने टसको मस भएकी छैनन् । आफू एमाले नै रहेको दाबी गर्दै तत्कालिन अवस्थामा मदन भण्डारीले नै सम्पर्क कार्यालयलाई आफ्नो सम्पर्क कार्यालयका रुपमा विहीबार भब्य रुपमा उद्घाटन गरेकी छन् । र, भनेकी छन्,– च्यासलले आफूलाई पार्टीको संगठित सदस्यमै प्रश्न उठाएको छ । तर म निरन्तर एमालेकै कार्यकर्ता भएर काम गरिरहन्छु ।
अहिले पनि एमाले अध्यक्ष ओलीले पार्टीको मात्र होइन, सरकारको नेतृत्वसमेत सम्हालिरहेका छन् । ओलीले सरकारको नेतृत्व सम्हालेको पनि पटक पटक भइसकेको छ । त्यसैले उनले लगातारजसो सरकारमा सहभागी भएको एमालेको काम कारबाहीबारे समीक्षा गर्नुपर्ने बेला आएको औंल्याएकी छन् ।
भण्डारीले पूर्व राष्ट्रपतिको हैसियतमा पाउने सेवा सुविधा समेत त्यागेर राजनीतिमा सक्रिय भएको घोषणा गरिसक्दा पार्टीमा लागेको तारबार कसरी हट्छ अन्योल छ । केन्द्रीय समिति बैठकमा पनि विद्याको पक्षका आवाज सून्यजस्तै देखिएको थियो । तर विहीबार चापागाउँमा विद्याको सम्पर्क कार्यालय उद्घाटनमा नेताहरुको बाक्लै जमघट देखियो ।
मदन भण्डारी फाउण्डेशसनको यहि मञ्चमा उभिएर एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौतिबारे हेक्का नराखेमा दुर्घटनाग्रस्त हुन पुगिने भन्दै ओलीविरुद्ध अर्थपूर्ण अभिब्यक्ति दिएका छन् । ा
हुनत पोखरेलले विगतमा ओलीले तत्कालिन पार्टी नेतृत्वबाट भएको हेलाहोंचो भएकोबेला यहि मदन भण्डारी फाउण्डेशन उपयोग गरेको पनि स्मरण गराएका छन् ।
विद्याको राजनीतिक सक्रियता यसैगरी बढ्दै गएमा ओलीले जुनसुकै कारबाहीको डण्डा बर्साउने चेतावनी यसअघि नै दिइसकेका छन् । तर सतही रुपमा कमजोर देखिएको विद्याको राजनीतिक सक्रियताले एमाले भित्र सल्काएको डढेलो सजिलै निभ्ने अवस्था भने देखिदैन ।