News 24 Television
पोखरामा बसको धुँवा आतंक ! छड्के गर्दा ४० बस फेल !

कास्की । पर्यटकीय नगरी पोखरालाई पोखरा महानगरले हरित शहर बनाउने अभियान सञ्चालन गरेको छ । अभियानसँग मिल्नेगरी यहाँका नगर बस पनि हरिया नै छन् । तर, हरिया रङका नगर बसले धुँवाको मुस्लो फाल्दै कुद्ने गर्छन् । पोखराका नगर बसको यो आतंकले नागरिक हैरान नै बन्ने गरेका छन् । 

एकातिर सडकमा ठेलमठेल गर्दै ओभरटेक गर्ने प्रतिस्पर्धा, अर्कोतिर कालो मुस्लो धुँवा फाल्दै कुद्ने बसले नागरिकमाथि अत्याचारै गरेको छ ।

पोखरालाई सबैभन्दा बढी प्रदूषित गर्ने, ट्राफिक व्यवस्थापन अस्तव्यस्त पार्ने काम यी सवारी साधनले गरिरहेका छन् । जनस्तरबाट चर्को आवाज उठेपछि शुक्रबार यातायात मन्त्रालयको नेतृत्वमै छड्के जाँच गरिएको थियो । 

पोखराको न्युरोडमा छड्के गर्दा ७० बसमध्ये ४० बस प्रदुषण फेल भए । यस पहिले २१ बसमध्ये १० वटा बसको प्रदूषण जाँचमा फेल भएका थिए भने अर्को पटक प्रदूषण मापन गर्दा १० वटा बसमा जाँच गर्दा ६ वटा फेल भएका थिए । पटकपटक प्रदूषण मापन गर्ने गरिए पन पनि सडमा गुड्ने गाडीको अवस्था भने जस्ताको त्यस्तै छ सुध्रको छैन । 

६÷६ महिनामा सवारीको जाँच पास गर्दा यातायात कार्यालयले प्रदुूष्ण मापन गर्नुपर्छ । तर, ठाँउको अभाव देखाउदै प्रदूषण मापन नगरी जाँचपास दिने गरीएको छ  । 

केही वर्ष पहिले भएका मेसिन बिग्रिएको र जनशक्तिसमेत नहुँदा प्रदूषण जाँच हुन सकेको थिएन । पछिल्लो पटक गण्डकी प्रदेश सरकारले २ वटा मेसिन ल्याएको छ । तर, सडकमा गुड्न नगरबसले निरन्तर धुँवाको मुस्लो फाल्दै गुडिरहेकै छन् । 

पर्यटकीय सहरमा स्वाच्छ वातावरण हुनुपर्नेमा पोखराका नगर बसले आतंक नै मच्चाएको नागरिकको गुनासो छ ।  

पोखरामा कालो धुँवा फाल्ने गाडीको प्रदूषण मापन ‘स्मोक डेनसिटी’ ८०÷९० सम्म देखिएको यातायात कार्यालयले भनाई छ । ओपासिटी १०० मा नेपालमा ६५ प्रतिशतसम्म आउँदा वातावरण अनुकूल मान्ने गरिएको छ । 

मापदण्डभन्दा बढी प्रदूषण देखिएका सवारी साधनलाई मर्मतसंहार गरी चलाउन निर्देशन दिइएको छ । तर, यस पहिले पनि यस्तै निर्देशन दिने गरिएकोमा कार्यान्वयन भने फितल दखिएको छ । नयाँ गाडीले समेत धुँवा फालेकाले प्राविधिक समस्या समाधान गर्न नसकिएको व्यवसायी बताउछन् । 

गण्डकी प्रदेशभित्र चल्ने निजी र सार्वजनिक गरेर ३ लाख ५२ हजार गाडी दर्ता भइसकेका छन् । पोखरा र लेखनाथका सिटी बसले अत्याधिक कालो धुँवा फाल्ने र पटक–पटक सर्भिसिङ गरेर ठिक गर्न चेतावनी दिँदा पनि व्यवसायीले अटेरी गर्ने गरेका छन् । गाडीबाट निस्कने क्लोरोफ्लोरो कार्बन वायुमण्डलमा मिसिँदा मानव स्वास्थ्य र पर्यावरणमा गम्भिर असर पुग्छ । 

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  ०८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update