
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको नेतृत्व गर्न मन छ, अनि एमाले अध्यक्ष केपी ओलीलाई विद्याको राजनीतिक सक्रियतालाई रोक्न मन छ । यसरी दुई नेताहरुको बाझाबाझ चल्दै गर्दा यसले पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिको बहसलाई ओझेलमा पारिरहेको छ, भने राजनीतिक स्वतन्त्रताको बहसतर्फ विषय केन्द्रित गर्दै लगेको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउने बाटो एमालेले तत्काललाई बन्द गरिदिएको छ । भण्डारीले एमालेका केहि नेताहरुलाई साथ लिएर सक्रिय राजनीतिमा आउने प्रयास गरेपनि एमालेले अस्वीकार गरिरहेको छ । तर, भण्डारीले भनिरहेकी छन्, मेरो सदस्यता च्यासलले रोक्न खोज्यो ।
पूर्वराष्ट्रपतिको रहरलाई मलजल गर्न अग्रपंक्तिमा देखिएका छन्, एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल । मदन भण्डारीको सराहना गर्दै एमाले अध्यक्ष केपी ओलीलाई मदन भण्डारी फाउन्डेसनले ओत दिएको स्मरण गराउँदै घुमाउरो ढंगले पोखरेलले ओलीमाथि कटाक्ष गरिरहेका छन् ।
कर्ण थापाले खुलेरै भण्डारीको समर्थन गर्दै गर्दा राजेन्द्र पाण्डे, युवराज ज्ञवाली पनि यस्तो क्याम्पेनिङमा सहभागी भने हुँदै आएका छन् । यद्यपि, ओलीलाई यो कुरा फिटिक्कै मन परेको छैन् । ओलीले भण्डारीले चुनाव हारेकाहरुले उक्साउदै हिडेको आरोप लगाइरहेका छन् भने उनीबाट यो अपेक्षा नगरिएको समेत दाबी गरिरहेका छन् ।
ओलीले भण्डारीले च्यासलले सदस्यता खाइदिएको भन्ने विषयमा समेत प्रतिजवाफ फर्काएका छन् । ओलीले कर्मचारीले रकम लिएर भयो भन्दैमा सदस्यता नविकरण नहुने स्पष्ट पारेका छन् । राष्ट्रपति बन्दा सदस्यता त्यागेको र त्यागेको सदस्यता नविकरण नहुने भनिरहेका छन् ।
भण्डारीको राजनीतिक चाहमा एमालेले हालिरहेको भाँजो कति परसम्म जाला ? के पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक सक्रियता देखाउनु स्वभाविक हो ? राष्ट्रपति जस्तो पदमा पुगेको व्यक्ति राजनीतिमा फर्किदा गणतन्त्रमाथिको विश्वास जनतामा जागृत हुन्छ ? तमाम प्रश्नको निवारण नभएपनि यसले एमालेमा अन्तरकलह भने सिर्जना गरिदिएको छ ।