News 24 Television
राष्ट्रिय प्रजातन्त्र पार्टीमा आन्तरिक विवाद, नेताहरूको हस्ताक्षरसहित गुनासोपत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र फेरि आन्तरिक विवाद चर्किदो क्रममा छ । पार्टी एकता र अनुशासन तोडिएको, विधि–प्रक्रियामा कमजोरी भएको र नेतृत्वले कार्यकर्ताको भावनाको सम्मान नगरेको आरोप लगाउँदै वरिष्ठ नेता र पदाधिकारीहरूले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसमक्ष गुनासोपत्र पेश गरेका छन् ।

पत्रमा पार्टीमा देखिएको गुटबन्दी, स्वेच्छाचारिता र कार्यसमितिको निर्णयविपरीत भएका गतिविधिप्रति पत्रमा आपत्ति जनाइएको छ । यस्तै, हालै साउन २८ गते सम्पन्न राष्ट्रिय युवा संघीय समितिको अधिवेशनमा देखिएको अव्यवस्था र विवाद समाधानमा पार्टी नेतृत्व उदासीन रहेको भन्दै चासो व्यक्त गरिएको छ ।

गुनासोपत्रमा पार्टीलाई संस्थागत बनाउन आन्तरिक लोकतान्त्रिक विधि, पारदर्शिता र साझा निर्णय प्रक्रियामा जोड दिनुपर्ने माग गरिएको छ । साथै, पार्टी एकता र कार्यकर्ताको विश्वास जोगाउन तत्काल आवश्यक कदम चाल्न नेतृत्वलाई आग्रह गरिएको छ ।

संयुक्त पत्रमा धवल शमसेर, विक्रम पाण्डे, कुन्ति शाही, रेखा थापा लगायतका पूर्वसांसद, केन्द्रीय सदस्यसहित विभिन्न तहका नेताहरूको हस्ताक्षर रहेको छ । 

अध्यक्ष लिङ्देनलाई पठाइएको पत्र संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्द, पूर्वअध्यक्ष पशुपति शमसेर र पूर्वअध्यक्ष तथा निर्देशक समिति अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीलाई समेत बोधार्थ पठाइएको छ । 

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update