
कास्की । भूपी राजमार्ग अन्तरगत पोखराको जिरो किलो मिटरदेखि हरि चोकसम्मको ४ किलोमिटर सडक गण्डकी प्रदेशकै पहिलो ६ लेनको सडक हो । तर, यही सडकमा पर्ने फिर्के खोलाको पुल भने ६ वर्षमा ३ पटक ठेक्का म्याद थप्दा पनि नबनेपछि सडक डिभिजन कार्यालय पोखराले ठेक्का नै रद्द गरेको छ, भने अब पुल कहिले बन्छ त्यो पनि अनिश्चित भएको छ ।
नेपालको भौतिक विकासमा ठेकेदारहरुले कतिसम्मको लापरवाही र ढिलाइ गर्छन् भन्ने कुराको गतिलो उदाहरण हो, भुपि राजमार्ग अन्तरगत पोखराको फिर्के खोला पुल । यो पुलको दुबै तर्फको सडक ६ लेनको छ जुन गण्डकी प्रदेशको पहिलो नमुना पनि हो । तरपनि, पोखराको वडा नम्वर ४ र ५ जोड्ने पुल भने सडक बनेको ७ वर्ष हुँदा समेत निर्माण भएको छैन ।
फराकिलो सडकको पुल भने २ लेनको मात्र हुँदा सवारी दुर्घटनाको प्रमुख कारक बनेको छ । सडक अनुसारको पुल नहुँदा अहिले सम्म सवारी दुर्घटनामा परी झण्डै १ दर्जन मानिसको ज्यान गैसकेको छ भने दिनहुँ जसो सवारी दुर्घटना भैरहन्छ । फिर्के खोलामा पुल निर्माण गर्ने जिम्मा पायको निर्माण कम्पनि हो शान्ती आरोग्य जेवी काठमाडौं ।
जस्ले १२ करोड ३२ लाख २६ हजार १ सय ७६ रकममा २०७५ असोज ८ गते ठेक्का सम्झौता गर्यो । सम्झौता अनुरुप २०७७ चैत ३० गते काम सक्नु पर्ने थियो । तर पटक पटक गरेर ३ पटक म्याद थप्दा समेत पुल निर्माणको काम सकेन निर्माण कम्पनीले ।
पछिल्लो म्याद अनुसार २०८१ असार २० गतेसम्म काम सक्नु पर्ने थियो तर अन्तिम म्याद सम्म पनि काम नसकी पुर निर्माण कार्य अलपत्र छाडेको छ शान्ती आरोग्य जेवीले । यता समयमा काम नसकेको भन्दै डिभिजन सडक कार्यालय पोखराले गत बैशाख १० गते ठेक्का सम्झौता रद्द गरेको छ ।
यता, पुल नबन्दा सवारी दुर्घटना बढेको र सडकमा यात्रा गर्दा निक्कै जोखिम बढेको स्थानिय वासिन्दा तथा उद्योग वाणिज्य महासंघ गण्डकीका संस्थापक अध्यक्ष सन्जिव बहादुर कोईराला बताँउछन् ।
पटक पटक म्याद थप्दा समेत पुलको काम नगर्ने शान्ती जेवीले करिव ३ करोड भन्दा बढी रकम भने लगिसकेको छ । सडक विभागले ठेक्का रद्द गरे पनि शान्ती आरोग्य जेवी भने काम गर्ने वातावरण मिलाइदिन भन्दै उच्च अदालत पाटनमा मुद्दा हालेको छ । फिर्के खोलामा पुल निर्माण गर्न फेरी सुरुबाटै प्रक्रिया थाल्नु पर्ने हुन्छ ।
मुद्दा मामीला टुङ्ग्याएर शान्ती जेवी संगको असुल उपर गरी र अर्थ मन्त्रालयबाट श्रोतको सुनिष्चितता भएपछी बल्ल ठेक्का प्रक्रिया सुरु हुने हुँदा यो पुल कहिले बन्छ अहिले भन्न सकिने अवस्थामा छैन ।
५० मिटर लामो चार लेनको पुल निर्माणमा ठेकेदार कम्पनीले मनोमानी गर्दा गण्डकी प्रदेशकै पहिलो नमुना सडक कुरुप मात्र बनेको छैन जनताले उस्तै सास्ती खेप्न वाध्य छन् । जसले बुढापाकाहरुले भन्ने गरेको सरकारी काम कहिले जाला घाम भन्ने भनाइलाई चरितार्थ पारेको छ ।