News 24 Television
प्रचण्डको बोलीले फेरि गोलमाल ! भावनामा बहकिँदा यस्तो हाल !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनिरहेका छन, आफू नभए मुलुक खत्तम पो भइहाल्छ कि भन्ने डर लाग्छ । तर, प्रचण्डले आफू देशको खम्बा भएको दाबी गर्दै गरिरहेको चिन्ता र चासोमा उनकै पार्टीका उपमहासचिव जनार्दन शर्माले चुनौती दिन थालेका छन् । पार्टीभित्र समेत चर्को घेराबन्दी चलिरहेको बेला जनार्दनले दिएको अभिव्यक्ति र अन्य पार्टीका नेताहरुले भनिरहेको कुराले पनि प्रचण्डले गरिरहेको चिन्ता हो वा बाँचुन्जेल नेतृत्व गर्ने चाहना भन्ने बहसलाई थप मलजल गरेको छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफ्नै अभिव्यक्तिका कारण बेलाबेलामा चर्चा र विवादमा आउने गर्छन् । कतिसम्म भने उनी आफैले बोलेको कुराले सर्वोच्च अदालतमा मुद्दा समेत खेपिसकेका छन् । माओवादी युद्धको क्रममा मरेकामध्ये ४ हजारको जिम्मा लिन्छु भन्दा उनले सर्वोच्चमा मुद्दा नै खेपे । तरपनि उनी बोल्ने कुरामा रोकिएका छैनन् । 

यता कयौं अभिव्यक्ति छन्, जसका कारण चर्चा र विवाद आइरहन्छन्, उनी । समग्रमा भन्दा प्रचण्ड बोलिले विवादमा आइरहने पात्रमा पर्छन् । आफुलाई भावुक रहेको दाबी गर्ने प्रचण्डले भारतीय एक व्यापारीको पुस्तक विमोचनमा बोल्दा खेपेको आलोचना होस वा अन्य विषय नै किन नहोस, उनी कतिबेला के बोल्छन् पत्तो हुन्न् । 

अहिले पनि उनी यस्तै कारण घेराबन्दीमा परेका छन् । केहिदिनदेखि प्रचण्डले भनिरहेका छन्, आफु नभए देश बर्बाद भइहाल्छ कि भन्ने चिन्ताले सताउने गर्छ । प्रचण्डले यो भनाई आफू लामो समयसम्म नेतृत्वमा बस्नका लागि भने वा सकारात्मक चिन्ताका कारण ? त्यो उनले नै जान्ने विषय हो । तर, प्रचण्डले बोलेको यो कुराको अर्थ जे भएपनि उनले भनेका छन्, देशका लागि सक्रिय छु । म नहुँदा देश गल्र्यामगुर्लुम पो हुन्छ कि भन्ने लाग्छ । तर, अरु आइहाल्छन् ।

प्रचण्डले यस्तो दाबी गरेपछि आलोचना र विवाद शुरु भएको छ । प्रचण्डलाई सत्तारुढ दल कांग्रेसका नेता मिनेन्द्र रिजालले जवाफ फर्काएका छन् । रिजालले भनेका छन्, सारा पृथ्वी बोकिरहेको जस्तो, गोलमाल हुने ठाउँमा बस्दा यस्तो अवस्थामा हाम्रो नेताहरु हुनुहुन्छ ।

अर्को दलको नेताले यस्तो जवाफ दिनु स्वभाविक हो । दल, विचार, आदर्श र मान्यता नै फरक भएपछि आलोचना स्वभाविक हुन्छ । तर, आफ्नै पार्टीका उपमहासचिव जनार्दन शर्माले पनि यसको प्रतिकार गरेका छन् । जनार्दनले प्रचण्डलाई जवाफ फर्काउदै शेषनागले काँध फेर्दैमा पृथ्वी नहल्लिने भनेका छन् । 

माओवादी केन्द्रको आन्तरिक राजनीति गर्माएको छ । माओवादीभित्रको अन्तरसंघर्ष बाहिर छरपष्ट हुने स्थिति बढ्ने संकेत प्रचण्ड–जनार्दनको वाकयुद्धले नै संकेत गर्न थालेको छ । तर, प्रचण्ड आफ्नै अभिव्यक्तिका कारण विवाद र आलोचनामा परेपनि यसले उनलाई जनतामा हराउन भने दिएको छैन् । यद्यपि, प्रचण्डले दाबी गरेजस्तो उनी नहुँदा देश पल्टिने स्थिति हो ? राजनीति सचेततासहितका प्रश्न भने उठ्न थालेका छन् । 

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update