
कैलाली । कैलालीको घोडाघोडी नगरपालिका स्थानीय तहहरुको संस्थागत क्षमता स्वमूल्याङ्कन लिजामा सुदूरपश्चिम प्रदेशमै पहिलो भएकोे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहहरुको संस्थागत क्षमता स्वमूल्याङ्कन लिजामा घोडाघोडी नगरपालिका ८५.५० अंक सहित सुदूरपश्चिमै पहिलो स्थानमा दर्ज भएको हो ।
कैलालीको घोडाघोडी नगरपालिका स्थानीय तहहरुको संस्थागत क्षमता स्वमूल्याङ्कन लिजामा सुदूरपश्चिम प्रदेशमै पहिलो हुन सफल भएको छ । सुदूरपश्चिममा ८८ वटा स्थानीय तहहरु रहेका छन् ।
लिजामा प्रदेशमै प्रथम बन्न सफल घोडाघोडी नगरपालिकाले शासकीय प्रबन्धमा ९.५ संगठन तथा सेवा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ८, वित्तीय तथा आर्थिक व्यवस्थापनमा ९.७५, सेवा प्रवाहमा १२, न्यायिक कार्य सम्पादनमा ७ अंक रहेको छ । त्यस्तै भौतिक पूर्वाधारमा १०.५०, सामाजिक समावेशीकरणमा ९, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ९ र सहकार्य तथा समन्वयमा ४.७५ अंक पाएको छ । यो पटक सुदूरपश्चिम प्रदेशमा प्रथम स्थान हासिल गरेको घोडाघोडी नगरपालिकाले आउदो वर्ष देशमै पहिलो हुने योजना बनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको कैलालीका १३ वटा स्थानीय तहहरुको संस्थागत क्षमता स्वमूल्याङ्कन लिजाको नतिजाको अन्तिममा लम्कीचुहा नगरपालिका र मोहन्याल गाउँपालिका रहेका छन् । मन्त्रालयले सार्वजनिक गरेको लिजाको नतिजामा कैलालीका १३ वटा स्थानीय तहहरुमा मोहन्याल गाउँपालिका ५५.५० अंकका साथ १३ औँ स्थानमा रहेको छ भने लम्कीचुहा नगरपालिका ६५ अंकका साथ १२ औँ स्थानमा रहेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको लिजाको नतिजामा धनगढी उपमहानगरपालिका ८४ अंकसहित दोस्रो भएको छ भने गोदावरी नगरपालिका र चुरे गाउँपालिका समान ८१ अंकसहित तेस्रो भएका छन् । मन्त्रालयको नतिजामा बर्दगोरिया गाउँपालिका चौथो स्थानमा रहेको छ ।
बर्दगोरियाले ७९.२५ अंक प्राप्त गरेको छ । जानकी गाउँपालिकाले ७७.७५ अंक सहित पाँचौ स्थान लिएको छ । गौरीगंगा नगरपालिका७५.७५ अंकका साथ छैटौ स्थान प्राप्त गरेको छ । त्यस्तै भजनी नगरपालिका र कैलारी गाउँपालिकाले समान७१.७५ अंक पाएका छन । जोशीपुर गाउँपालिका र टिकापुर नगरपालिकाले पनि समान ७०.७५ अंक प्राप्त गरेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शासकीय प्रबन्ध, वित्तीय व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन र भौतिक पूर्वाधार लगायत १० वटा मुख्य सूचकका आधारमा स्थानीय तहहरूको मूल्याङ्कन गर्ने गर्दछ । मुलुकको शासन पद्दतिलाई सुशासनयुक्त एवम् नागरिकमैत्री बनाउने उद्देश्य पुरा गर्नका लागि स्थानीय तहको कार्य प्रक्रियाको लेखाजोखा गर्न, उपलब्धि बुझ्न, सुधारका क्षेत्र पहिचान गर्न र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धा बढाउन संस्थागत क्षमता स्वमूल्याङ्कन गर्ने गरिन्छ ।