
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेद्वारी परेपछि उनैलाई निर्विरोध निर्वाचित गरिएको छ ।
उनको उम्मेद्वारीको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा र समर्थकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठ रहेका थिए । आज दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म उम्मेद्वार मनोनयन गर्ने कार्यतालिका रहेकामा उहाँले दिउँसो ३ः०० बजे मनोनयन दर्ता गराएकी हुन् ।
समितिको भोलि बस्ने बैठकमा प्रस्तावकले एक मात्र प्रस्ताव परेको जानकारी दिएपछि उनी निर्विरोध भएको औपचारिक घोषणा गरिने छ ।
नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गर्नुभएकी न्यौपाने हाल पार्टीको केन्द्रीय सदस्य हुन् । यसअघि उनी दुवै संविधानसभामा सदस्य थिइन् भने पार्टीका तर्फबाट संसदीय दलको सचेतकको भूमिका निर्वाह गरिसकेकी छन् । पार्टीमा महिला विभाग प्रमुख भएर जिम्मेवारी सम्हालेकाे अनुभव पनि उनीसँग छ ।
संसदीय सुनुवाई समितिको सभापतिको जिम्मेवारीमा रहेकी नेतृ न्यौपानेले आजै मात्रै सभामुख समक्ष उक्त पदबाट राजिनामा दिएकी थिइन् । पार्टीको आजै बसेको पदाधिकारी बैठकले उनलाई राज्य व्यवस्था समिति सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । कांग्रेसकै सांसद रामहरि खतिवडाले उक्त सभापतिबाट राजिनामा दिएपछि उक्त पद रिक्त थियो ।