-1756210407.jpg)
काठमाडौँ । कुनै बेला नेपालका प्रभावशाली कम्युनिष्ट नेता मानिएका वामदेव गौतम हाल गुनासो र गथासोका पर्याय बनेका छन् । उनको राजनीतिक जीवन निकै उतारचढावपूर्ण र उत्तिकै विवादास्पद पनि रह्यो । एक सफल संगठनकर्ताका रूपमा चिनिए पनि पछिल्लो समय संगठनविहीन बस्नुप¥यो । गत वर्षमा माउ पार्टी एमालेमा फर्कने चर्चा भए पनि एमालेले भाउ नै दिएन । गत साउन २ गते मात्रै एकीकृत समाजवादीमा प्रवेश गरेका गौतमलाई राजनीतिक अवसरवादीको आरोप समेत लाग्ने गरेको छ । समय–समयमा पार्टी परिवर्तन गर्ने, सरकार निर्माणमा निर्णायक भूमिका खेल्ने तर आफ्नै पार्टीका निर्णयको विरोध गर्ने प्रवृत्तिले उनलाई यो आरोप लागेको हो । सधैँ उच्च राजनीतिक पदहरू, विशेषगरी प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षा राखे पनि उनी शक्तिहीन रहे ।
पछिल्लो समय एकीकृत समाजवादीका वरिष्ठ नेताका रुपमा पार्टी प्रवेश गरे पनि उनले पार्टीभित्र कुनै भूमिका वा जिम्मेवारी नपाएको गुनासो गर्न थालेका छन् । आफू पार्टीमा आबद्ध भएको डेढ–दुई महिना पुग्न लाग्दा समेत पार्टीले जिम्मेवारी नदिएको भन्दै उनले सार्वजनिक गुनासो गरेका छन् । काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठीमा बोल्दै गौतमले पार्टीका सबै शीर्ष नेता राजधानी उपत्यकामा मात्र रहने प्रवृत्तिका कारण संगठनलाई कमजोर बनाएको समेत बताए । उनले पार्टीका सबै सदस्यहरुलाई कुनै न कुनै जिम्मेवारी तोक्नुपर्नेमा जोड दिए । पार्टीमा बसेर पार्टीको नीति र सिद्धान्त पालना नगरेका नेताहरुलाई ‘नक्कली कम्युनिष्ट’को संज्ञा दिँदै उनले पार्टीका शीर्ष नेताहरु जनतामाझ नगएसम्म कार्यकर्तामा उत्साह पैदा नहुने बताए ।
गत साउन पहिलो साता गौतमले पार्टीले काम दिन नसके पार्टीमा आफू लामो समयसम्म बस्न नसक्ने घुर्की लगाए । ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई पार्टीमा कुनै पद नचाहिएको तर कार्यक्षेत्र दिएर काममा लगाउन अग्रह गरेका थिए । काम दिनको निम्ति कुन पद सिर्जना गर्नुपर्छ भन्ने सोचेर कामसहितको पद सिर्जना गरी जिम्मेवारी दिन एकीकृत समाजवादीलाई आग्रह गरेका थिए । काम बिनाको पद आफूलाई नचाहिने भन्दै उनले पार्टीबाट पुनः बाहिरिने चेतावनी समेत दिएका थिए ।
त्यसपछि साउन ३० गते बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले वामदेवलाई पार्टीको तेस्रो वरियतासहित वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको थियो । बैठकका निर्णय सुनाउँदै पार्टी प्रवक्ता प्रकाश ज्वालाले गौतमलाई केन्द्रिय विभागहरुको संयोजन गर्ने जिम्मेवारी समेत दिएको बताएका थिए । उनले पार्टीकी नेतृ रामकुमारी झाँक्रीले पार्टीमा आत्मालोचना प्रस्ताव पेश गरेको र आगामी दिनमा यस्ता कमजोरी नगर्ने प्रतिबद्धता जनाएको समेत बताएका थिए ।
यद्यपि वामदेव भने आफूले अहिलेसम्म कुनै जिम्मेवारी नपाएको गुनासो गरिरहेका छन् । हुन त उनी महत्त्वाकांक्षी नेता मानिन्छन्, ठूलो पद र शक्ति आर्जनको भोक उनीभित्र सधैँ जागृत भइरह्यो । यही कारण विगतमा कहिले उनलाई सांसद नभईकनै उपप्रधानमन्त्री बनाउने प्रयास गरियो त कहिले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनेगरी संविधान संशोधनको हल्ला चलाइयो । गौतमले प्रत्यक्ष निर्वाचन हारेपछि राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेर उनलाई थन्काइएको थियो, तर उनीभित्र प्रधानमन्त्री बन्ने आकांक्षा सल्बलाएपछि केही समय आलोचित भए । एमाले छिन्नभिन्न भएपछिका केही वर्ष संगठनविहीन रहेका नेता वामदेव अहिले एकीकृत समाजवादीको वरिष्ठ नेता मात्र हैन संयोनकारी भूमिकामा छन् । तर पनि काम गरेर देखाउने भन्दा गुनासो र गथासोमै समय खेर फाल्न थालेका छन् ।