काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनतामा आफ्नो पार्टीको विश्वास बढिरहेको दाबी गरिरहेका छन् । कांग्रेस–एमाले सरकारले भ्रष्टाचारको संरक्षण र कू–शासनको राज चलाएकै कारण माओवादीप्रति विश्वास बढेको दाबी गरेका प्रचण्डले माओवादीलाई विश्वास नगरे देश नै नबच्ने जिकिर गरिरहेका छन् । प्रचण्डको यस्ता भनाईका श्रङ्गखला आउनु पछाडीका आधारहरु के कस्ता छन् त ?
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि अर्को दाबी गरेका छन्– जनताले माओवादी केन्द्रलाई विश्वास नगरे देश नै बच्दैन् । प्रचण्डले गरेको यो दाबीसँग उनले आफ्नो पार्टीमा जनताले गरिरहेको विश्वासदेखि धेरै विषयलाई जोडे ।
आफू पार्टी नेतृत्वमा नभए देश नै ढल्छ कि भन्ने चिन्ताबाट प्रेरित बनेका प्रचण्ड यस्तै–यस्तै अभिव्यक्तिबाट आलोचना र विवादमा भने परिरहन्छन् । अभिव्यक्तिमा लगाम धेरै नलगाई बोलिहाल्ने प्रचण्डले कुलमान प्रकरणमा समेत बोलेका छन् ।
संसददेखि सडकसम्मै कुलमान घिसिङको वचाउमा उत्रिएको माओवादी केन्द्र पछिल्लो समय उनीसंग असन्तुष्ट देखिन थालेको छ । माओवादी केन्द्रले नै कुलमानलाई प्राधिकरणको नेतृत्वमा ल्याएपछि लोडसेडिङको अन्त्य हुन पुग्यो । यसका आ–आफ्नै दाबीहरु छन् । जे जस्तो विषय भएपनि लोडसेडिङको अन्त्यलाई टेक्निकल रुपमा लिन नहुने जिकिर गरेका प्रचण्डले कर्मचारीले भन्दा पनि नेतृत्वको भिजन, मिसन र सोचले यस्ता काम हुने भनेका छन् ।
तर, अहिले कुलमानले माओवादी केन्द्र नभई नयाँ वैकल्पिक शक्तिको वकालत गर्न थालेका छन् । उनले पुरानाबाट केहि नहुने अभिव्यक्ति दिदै विभिन्न देशमा पुगेर त्यहाँ रहेका नेपालीसंग साक्षातकार गर्ने र राय लिने काम गरिरहेका छन् ।
यस्तोमा प्रचण्ड र माओवादी उनीसंग असन्तुष्ट सुनिन थालेको देखिन्छ, भने प्रचण्डले फेरि आत्मविश्वास जागृत गर्नकै लागि भएपनि देश, जनता र परिस्थितिले पनि विश्वास गर्नैपर्ने भन्न थालेका छन् ।
प्रचण्डका यस्ता अभिव्यक्ति ब्याक टु ब्याक आउनुलाई आलोचना गर्नेहरुले सत्ता नपाउँदाको छटपटाहटका रुपमा व्याख्या गरिरहेका छन् भने, समर्थकहरुले मुलुक व्यवस्थापनको जागरका रुपमा प्रशंका गरिरहेका छन् । तर, वर्षौसम्म सत्ता अभ्यास गरिसकेका प्रचण्डले अहिले दिइरहेका अभिव्यक्ति सहि र पत्याउन लायक छन् ? उनका अभिव्यक्ति र व्यवहारको पाटोलाई नागरिकले प्रश्न र आशंका दृष्टिले हेरेका छन् ।