News 24 Television
अर्थमन्त्रीको दाबी : यो भन्दा अर्को स्थिर शक्तिशाली सरकार बन्नै सक्दैन

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८४ सम्म वर्तमान सरकार भन्दा अर्को स्थिर शक्तिशाली सरकार बन्न नसक्ने बताएका छन् ।

काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार एमाले र नेपाली काँग्रेस मिलेर बनेको शक्तिशाली सरकार भएकाले २०८४ सम्म अर्को सरकारको परिकल्पना नै गर्न नसकिने बताएका हुन् । उनका अनुसार वर्तमान सरकारले बजेट विनियोजनदेखि प्राथमितामा देखिएको विकृतिलाई निर्मम रुपमा सुधारेको छ ।

मुलुकमा अहिले स्थिर सरकार भएकै कारण कानूनी सुधार गरिएको र लगानीकर्तामा समेत मनोबल बढेको पौडेलको भनाइ छ । उनले सरकारले योजना बनाउँदा प्राथमिकतालाई आधार मान्ने बताए । उनका अनुसार योजना आयोगले योजना बनाइदिएपछि त्यो योजना ठिकठाक हुन्छ भन्ने ठान्नु हुँदैन ।

योजना निर्माण गर्दा प्राथमिकतामा आधारित छ वा छैन त्यसमा ख्याल गर्नुपर्ने उनको भनाइ छ । उनले अहिले योजना निर्माण र विनियोजनमा गम्भीर समस्या समेत रहेको बताए । त्यो समस्याबाट बाहिर निस्कनका लागि प्रयास भइरहेको उनको भनाई छ । 

मन्त्री पौडेलले भने, 'काँग्रेस–एमाले दुई वटा दलको शक्तिशाली सरकार छ । अहिलेको संसदबाट यो भन्दा शक्तिशाली सरकार बन्नै सक्दैन । २०८४ सम्म यो सरकार भन्दा अर्को स्थिर शक्तिशाली सरकारको परिकल्पना गर्न सकिन्न । स्थिर शक्तिशाली सरकार यही हो । यतिबेला के काम गर्नुपर्ने भन्ने हिसावले काम गरिएको छ ।'  

चालु आ.व.को बजेट ल्याउँदा योजना बैंकबाट बाहिर रहेर बजेट नल्याइएको उनले दाबी गरे । 

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update